मन्त्री चयनमा पेलेरै अघि बढे देउवा

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २१, २०८०

काठमाडौं । मन्त्रिपरिषद् विस्तारका विषयमा पार्टीभित्र भागबन्डा मिलाउन नसक्दा लामो समयसम्म मन्त्रीको नाम नदिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तत: पार्टीभित्रका प्रतिस्पर्धीलाई पेलेरै अघि बढेका छन् । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसबाट तीन पटक गरी ८ जना मन्त्री बनेका छन् । तर तीमध्ये ६ जना सभापति देउवाकै विश्वासपात्रहरु छन् । शेखर-गगन समूहबाट दुई जनामात्रै मन्त्री बनेका छन् । पार्टीको महाधिवेशनमा ४० प्रतिशत मत पाएको कोइराला समूहलाई सभापति देउवाले मन्त्री चयनमा २० प्रतिशतमा सीमित गरिदिएका छन् ।

देउवा पक्षबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशसरण महत अर्थ, रमेश रिजाल उद्योग बाणिज्य तथा आपूर्ति, एनपी साउद परराष्ट्र, सीता गुरुङ शहरी विकास र मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भएका छन् । नेता कोइरालाले आफ्नो पक्षबाट दुई मन्त्री छान्दा उपसभापति धनराज गुरुङ र कांग्रेसका मोरङ सभापतिमात्रै रहेका डिगबहादुर लिम्बुलाई रोजेका छन् । पार्टीको संसदीय दलको निर्वाचनमा सभापति देउवासँग प्रतिस्पर्धा गरेका महामन्त्री गगन थापाले एक जनालाई पनि मन्त्री बनाउन सकेनन् । थापाले सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे वा प्रदीप पौडेल मध्येबाट एक जनालाई मन्त्री बनाउनुपर्ने अडान लिएका थिए । त्यहीकारण १७ चैतमा आठ वटै मन्त्रीहरुको सपथ हुन लागेकोमा चार मन्त्रीले मात्रै सपथ लिएका थिए ।

त्यसबेला महामन्त्री थापाकै दबाबमा आठ मन्त्रीमध्ये तीन मन्त्री नपाए मन्त्रीको नाम नपठाउने भन्दै अडान लिएका नेता कोइरालाले एक महिना ढिला गरेर पनि आफ्नो समूहबाट दुई जनालाई मात्रै मन्त्री बनाउन सकेका छन् । कोइरालाले आफ्नो सबैभन्दा नजिकका विश्वासपात्र लिम्बूलाई समेट्दा महामन्त्री थापाले चाहेका एक जना पनि मन्त्री बनेनन् ।

त्यसो त मन्त्री बनाउने विषयमा कोइराला समूहभित्रै पनि शीतयुद्व चलेको थियो । नेता कोइरालाले मन्त्रीको नाम पठाउने विषयमा महामन्त्री थापासहित नेताहरुसँग परामर्श नगरेपछि थापाले नाम पठाउन रोकेका थिए । पछि कोइरालाले समूहको बैठक बोलाए, ३० चैतमा । र बैठकमा कोइराला-थापा दुवैले मन्त्रीको भागबण्डामा आफूहरुले तीन मन्त्री पाउने सहमति भएको ब्रिफिङ गरेका थिए । ‘सभापतिजीले पहिले ३ जना मन्त्री दिने भन्ने वचन दिनुभएको थियो । त्यहि कुरा हामीलाई जानकारी गराइएको थियो । तर अहिले हाम्रो समूहबाट दुई जनामात्रै मन्त्री बन्ने अवस्था कसरी आयो ? हामीले पनि बुझेका छैनौँ,’ कोइराला समूहका एक नेताले भने ।

ती नेताका अनुसार सभापति देउवाले मन्त्री चयन गर्नेबारे मंगलबार नेता कोइरालासँग छलफल गरेका थिए । नेता कोइराला मंगलबारै उपचारका लागि सिंगापुर गएका छन् भने देउवाले बुधबार थपेका मन्त्रीका विषयमा कोइरालाको सहमति वा विमतिबारे कोइराला समूहका नेताहरुले अनविज्ञता देखाएका छन् । ‘पहिले प्रतिबद्धता तीन मन्त्रालयमा हो । तर अहिले दुई मात्रै दिइएको छ,’ केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भने,’अझै दुई मन्त्रालय रिक्त छन् । तीमध्ये कुनै मन्त्रालय दिन खोजिएको हो भने अलग कुरा हो, नभए सभापतिबाट आफूलाई मत नहाल्नेलाई फरक व्यवहार भएको ठहर्छ ।’

कांग्रेसबाट रिक्त तीन मन्त्री नियुक्त भएपछि अब खानेपानी र वन तथा वातावरण मन्त्रालय रिक्त छन् । वर्तमान मन्त्री परिषद्मा कांग्रेसबाट ८, माओवादीबाट प्रधानमन्त्रीसहित ५, नेकपा एकीकृत समाजवादीबाट २, जनता समाजवादी, नेपाल समाजवादी, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादीबाट १-१ जना गरी जम्मा २० जना मन्त्री छन् । माओवादी र नेकपा एसबाट १-१ गरी दुई जना राज्यमन्त्री नियुक्त भएका छन् । संविधानबमोजिम मन्त्रिपरिषद् जम्मा २५ सदस्यीय हुन्छ । जसअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले अब दुई मन्त्री र एक राज्यमन्त्री बनाउन पाउँछन् ।

रिक्त रहेका दुई मध्ये एकमा जनता समाजवादी पार्टीले एक मन्त्रालय पाउने पहिल्यै सहमति भइसकेको छ भने प्रधानमन्त्री दाहालले सरकारबाहिर रहेका दलहरुलाई समेत सरकारमा सहभागी गराउने प्रयास छोडेका छैनन् । यस्तोमा कांग्रेसकै केही नेताहरु भने अब थप अर्को मन्त्रालय पाउने सम्भावना नरहेको बताउँछन् । कान्तिपुरबाट