मौसम पूर्वानुमान: अबको एक सातासम्म वर्षा

Avatar photo
Dhadingpost
बैशाख १७, २०८०

काठमाडौँ, वैशाख १७ गते । मौसम पूर्वानुमान महाशाखाले अबको केही दिनसम्म देशव्यापी वर्षा हुने पूर्वानुमान गरिएको जनाएको छ। सुदूरपश्चिम हुँदै शुक्रबार भित्रिएको वर्षा गराउने प्रणाली नेपालमा सक्रिय भएपछि शनिबार बिहानैदेखि वर्षा सुरु भएको छ ।

भारतको उत्तराखण्ड र पश्चिम भेग हुँदै नेपाल प्रवेश गरेको जलवाष्पयुक्त प्रणालीले देशका सातै प्रदेशका पहाडी भेगमा शनिबार वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् गोविन्द झाले पूर्वतर्फ सर्दै गरेको प्रणाली आइतबारसम्म तराई भेगका सबै स्थानमा वर्षा गराउने गरी अघि बढेको बताएका छन् ।

उनले आइतबार अझ बढी मात्रामा वर्षा हुने सम्भावना रहेको बताए । सोमबार वर्षा कम भए पनि फेरि अर्को प्रणाली भित्रनेक्रममा रहेकाले वर्षा दोहोरिने बताईएको छ । माटो भिज्ने गरी वर्षा हुने भएकाले पूर्वमनसुन सक्रिय हुनु किसानका लागि राहत हुनेछ ।