धादिङ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङद्वारा संचालित रक्तसंचार सेवा केन्द्र धादिङमा रगत नहुँदा विरामीहरुलाई समस्या पर्न थालेपछि स्वयम्सेवी रक्तदाताहरुलाई बोलाएर आकस्मिक रक्तदानबाट समस्या हल गर्न थालिएको छ ।
महिनामा ७ भन्दा बढी रक्तदान कार्यक्रम हुँदै आएको थियो जिल्लामा बढी भएको रगत काठमाडौं लगायतका जिल्लाहरुमा समेत पठाउने गर्दथ्यौं, तर पछिल्ला २ महिना देखि जिल्लामा आशा गरिए अनुरुप रक्तदान कार्यक्रमहरु नहुँदा रगतको चरम अभाव भएको रेडक्रस धादिङका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ बताउँछन् ।
आज धादिङ अस्पतालमा गर्भवती महिलाका लागि रगत अलि धेरै नै चाहिने भएपछि ग्रुप मिल्ने स्वयमसेवी रक्तदातालाई बोलाई समस्या हल गरिएको भन्दै श्रेष्ठले आज आकस्मिक रक्तदान गर्ने स्वयमसेवी रक्तदाता रामचन्द्र गिरी, नवराज श्रेष्ठ ,लाल बहादुर गुरुङ र शुरेस गुरुङलाई कोषाध्यक्ष श्रेष्ठले धन्यवाद दिएका छन् ।
यो रक्तदान जीवन दान भएकोले रक्तदान कार्यक्रमलाई सबैले महत्वका साथ लिन आग्रह गर्दै उनले यहि बैशाख ६ गते गजुरी बजारमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएकोले उक्त कार्यक्रममा धेरै भन्दा धेरै सहभागी हुन आग्रह गरे ।