सेमजोङमा जारी १३ औं वाका कपको समापनमा मन्त्री बहादुरसिंह आउने

Avatar photo
Dhadingpost
बुधबार, चैत्र २९, २०७९

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा चैत्र २२ गते देखि जारी १३ औं वाका कप तथा प्रथम अध्यक्ष कप पुरुष फुटबल प्रतियोगिताको पुरस्कार वितरण एवम समापन कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा तामाङ आउने भएका छन् ।

नेत्रावती डवजोङ गाउँपालिका र छार वाका राहा युवा क्लव सेमजोङको आयोजनामा भएको १३ औं वाका कप तथा प्रथम अध्यक्ष कप पुरुष फुटबल प्रतियोगिताको समापन नयाँ वर्षको दिन अर्थात् बैशाख १ गते हुने र उक्त कार्यक्रममा मन्त्री बहादुर सिं आउने भएका आयोजकले जनाएको छ ।

प्रथम पुरस्कार १ लाख ५० हजार नगद, दोस्रो पुरस्कार ७५ हजार र सेमिफाईनलमा रोकिने दुई टिमलाई १५–१५ हजार, उत्कृष्ट खेलाडीलाई, उत्कृष्ट गोल किपर र उच्च गोलकर्ता समेत ५–५ हजार प्रदान गरिने १३ औं वाका कपको पुस्कार बैशाख १ गते वितरण हुने छ ।

धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ गैरा साबिक सेमजोङ १ गैराको वाका धादिङ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्य मध्ये एक हो । समुन्द्री सतहदेखि करिब २ हजार १५० मिटर उचाइमा अवस्थित यो ठाउँ धादिङ र नुवाकोट जिल्लाको सिमाना समेत भएकोले पछिल्लो समय यो ठाउँमा धादिङ र नुवाकोटका आन्तरिक पर्यटकको आकर्षण बड्दो छ ।

यस ठाउँको प्रचार-प्रसारको लागि छार वाका राहा युवा क्लव सेमजोङले हरेक वर्ष वाका कप फुटबलको आयोजना गर्दै आएकोमा यस वर्ष देखि प्रतियोगिताको नाम वाका कप र अध्यक्ष कप बनाउँदै प्रतियोगितालाई झनै व्यापकता बनाईएको दिपक तामाङले धादिङपोष्टलाई बताए ।

११ औं वाका कप पनि चैत्र ११ गतेबाट भएको थियो भने १२ औं वाका कप चैत्र २२ गते देखि भएकोमा यस वर्षको १३ औं वाका कप तथा प्रथम अध्यक्ष कप नयाँ वर्ष बैशाख १ गते सकिने गरि आज सुरु हुँदैछ । ११ औं वाका कप उपाधी चौतारा युवा समाज (टिम बी) ले डबजोङ क्षेत्र संरक्षण युवा क्लव (टिम ए) लाई हराउँदै उपाधी चुमेको थियो भने १२ औं वाका कप उपाधी नुवाकोटको सानो किम्ताङ युवा क्लव किम्ताङलाई पराजित गर्दै धादिङको नेत्रावती डवजोङ गाउँपालिका २ को डुप्चे युवा क्लव केवराले जितको थियो ।