काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिए सँगै यूएईलाई हराउँदै नेपाल विश्वकपमा पुगेको छ । जमानको इडन ग्रार्डेन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुदै १ सय ९१ रन बनायो ।
नेपालका कप्तान देव खनालले ८४ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान खनालले ३ चौका र १ छक्का प्रहार गरेका थिए । देवले ७५ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । विशाल विक्रम केसीले ५० बलमा ३८ रन बनाए । केसीले ५ चौका प्रहार गरेका थिए ।
उत्तम थापा ३६ रन बनाएर आउट भए । ६ ओभर १ बलमा ३ विकेट गुमाईसकेको नेपालका लागि थापा र कप्तान खनालले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । दिपेश कँडेलले १५ तथा हेमन्त धामीले १३ रन बनाए ।
नेपालका ओपनर दीपक बोहोरा ईनिङको पहिलो बलमा नै आउट भएका थिए । अर्का ओपनर अर्जुन कुमाल ३ तथा आकाश त्रिपाटी ९ रनमा आउट भएका छन् । यूएईका लागि धुव्र पराशरले ३ तथा हरिस शेठ्ठी र आयान खानले समान २-२ विकेट लिए । हर्शित शेठ र अम्मर बदामीले समान १-१ विकेट लिएका छन् ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन, दोस्रो खेलमा कुवेतलाई २ सय ४३, तेस्रो खेलमा हङकङलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई १० विकेटले हराएको थियो ।