मैदीकोटलाई जिल्ला कै उत्कृष्ट पर्यटन केन्द्र बनाईने

Avatar photo
Dhadingpost
आइतवार, पुस १०, २०७९

धादिङ । धादिङ जिल्लामै प्रख्यात ज्वालामूखी गाउँपालिका-३ स्थित मैदीकोटलाई उत्कृष्ट पर्यटन केन्द्र बनाईने निर्णय भएको छ । शनिबार भएको स्थानीय भेलाले यो निर्णय गरेको हो ।

भेलाले गरेको ७ निर्णयहरु यस्ता छन् ।
१. नियमित पुजालाई व्यवस्थापन गर्ने ।
२. मन्दिरलाई व्यवस्थित तार-बार गर्ने ।
३. स्थायी शौचालय निर्माण गर्ने
४. धादिङ जिल्ला भित्रको उत्कृष्ट पर्यटन केन्द्र बनाउने
५. माघ १३ गते मुख्य मन्दिरम देवता सार्ने
६. साप्ताहिक पुराण लागाउने
७. सबै भन्दा अग्लो पृथ्वीनारायण शाहको सालिक बनाउने

पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा आफ्ना भाइभारदारसँग छलफल गर्न कोट प्रयोग गरेको बूढापाकाहरू बताउँछन् । शाहको व्रतबन्धसमेत सोही कोटमा गरिएको जनविश्वास छ । सात महिनामा जन्मेर राजा भएका पृथ्वीनारायणको व्रतबन्ध गोरखा दरबारबाट लुकाएर ल्याई मैदीकोटमा गरिएको स्थानीय जानकारहरूले बताए । गुठी संस्थानले मन्दिरको १२४ मुरी धान फल्ने खेत गुठी कमाउनेको नाममा दर्ता गरेपछि पूजापाठमा समस्या आएको स्थानीय डोरज शाहले बताए ।

मन्दिरमा न्यून पारिश्रमिकमा स्थानीय मगर जातिका पुजारीले पूजा गर्दै आएका छन् । ‘पुजारीलाई मासिक एक हजार र नगरा बजाउनेलाई पाँच सय पारिश्रमिक व्यवस्था गरिएको छ ।’ ३२ वर्षदेखि नगरा बजाउँदै आएका मेघे दमाईले भने । दसैंको महानवमी कालरात्रि, चतुर्दशी र माघेसंक्रान्तिमा ठूलो मेला लाग्नेमा मन्दिर भत्केकाले ती पनि लोप हुँदै गएको कृष्णबहादुर श्रेष्ठले जानकारी दिए । ‘मन्दिर जीर्ण हुन थालेपछि दर्शन गर्न आउने भक्तजनको संख्या पनि घट्न थालेको छ,’ उनले भने । मैदी, ढोला, नलाङ, खरी, चैनपुर, सलाङ कम्पुर, मुरलीभन्ज्याङ लगायत गाविसका भक्तजनले भाकल गरेर यस मन्दिरमा पूजा गर्ने आउँथे । 

मैधीकोटमा तामाको एउटा ऐतिहासिक सुरो पाइएको छ । यो एउटा तामाको सुरोमात्रै नभएर नेपाली इतिहासको ओजस्वी प्रतापी पुरुषसँग सम्बन्ध जोर्नु पुग्छ । लम्बाई ३२ से.मी., मोटाइ १.८ से.मी. र चार पाटे सुरोको पुरै मोटाइको घेरा ६ से.मी. छ । भनिन्छ, यो सुरो श्री ५ वडा महाराजाधिराज सरकारको व्रतबन्धमा प्रयोग गरिएको थियो । राष्ट्रनिर्माता श्री ५ वडा महाराजाधिराज पृथ्वीनारायण शाहको व्रतबन्धमा प्रयुक्त तामाको सुरो परापूर्वकालदेखि नै मूल पुरोहित (मैधीकोट भैरवीका) कहाँ सुरक्षित हुँदै आएको छ । मैधीकोट भैरवीमा सम्पन्न हुने चैते र बडादशैंमा मात्र प्रयोगमा ल्याइने यो सुरो अरू गाउँलेहरूका यज्ञयज्ञादीमा प्रयोग हुन् सक्दैन । यस ऐतिहासिक सुरोको काम वर्षको दुईपल्ट मात्रै पर्छ । यो चलन कहिलेदेखि चलेको हो यकिन भन्न सकिँदैन । तापनि विशाल नेपाल राष्ट्रको निर्माताको जीवनको महत्त्वपूर्ण कर्मसँग सम्बन्धित हुनाले यसको महत्ता र गरिमाको उचाईं कति छ भनेर नापी रहनु भन्दा नेपालको इतिहासका लागि यसको उपलब्धि औधी हर्षको सिद्ध हुन्छ भन्नु नै वीर पुरुषको गाथा र वीरताको प्रशंसा गरेको ठहरिने छ । आयन्दा लेखिने नेपाली इतिहासको पानाको निम्ति यो ऐतिहासिक सुरो एउटा नवीनतम सामाग्री हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ । -राजु झल्लु प्रसाद
फोटो राई ओझा