मेस्सीसहित अर्जेन्टिना टोली कतारमा

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २९, २०७९

एजेन्सी । मङ्सिर ४ गतेदेखि कतारमा सुरु हुने फिफा विश्वकप २०२२ मा सहभागिता जनाउन अर्जेन्टिना कतार पुगेको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना टोली सोमबार कतारको दोहा पुगेको हो ।

विश्वकपको उपाधि दाबेदार टोलीको रूपमा लिइएको अर्जेन्टिना समूह ‘सी’ मा रहेको छ । यस समूहमा अर्जेन्टिनासँगै मेक्सिको, पोल्यान्ड, साउदी अरब रहेका छन् । अर्जेन्टिनाले मङ्सिर ६ गते साउदी अरबसँग खेल्दै विश्वकपको औपचारिक सुरुवात गर्नेछ ।

दुई पटक विश्वकप उपाधि जितिसकेको अर्जेन्टिनालाई आफ्नो कप्तानीमा एउटा उपाधि थपेर जाने कप्तान मेस्सीको योजना छ । उमेरले ३५ वर्ष हुनुभएका मेस्सीका लागि यो अन्तिम विश्वकप हुने बताइएको छ । अर्जेन्टिनाले यसअघि सन् १९७८ र सन् १९८६ को विश्वकप जितेको थियो ।

कतार विश्वकपका लागि अर्जेन्टिनाले शुक्रबार मात्र मेस्सीको कप्तानीमा २६ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको थियो । अर्जेन्टिना टोलीको गोलरक्षकमा एमिलियानो मार्टिनेज, जेरोनिमो रुल्ली र फ्रान्सको अर्मानी हुनुहुन्छ । रक्षकमा नाहेल मोलिना, गोन्जालो मोन्टिएल, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, निकोलस ओटामेन्डी, लिसान्द्रो मार्टिनेज, मार्कस अकुना, निकोलस टाग्लीयाफिको र जान फोयथ हुनुहुन्छ ।

यस्तै मिडफिल्डरमा रोड्रीगो डे पल, लिआन्द्रो पारेडेस, एलेक्सिस म्याकलिस्टर, गिडो रोड्रीग्वेज, आलेहान्द्रो गोमेज, एन्जो फर्नान्डेज र एजेक्वेल पालासिओस हुनुहुन्छ । स्ट्राइकरहरुमा मेस्सीसँगै एन्जल डी मारिया, लौटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलस गोन्जालेज, जोआक्विन कोरिया र पाउलो डिबाला हुनुहुन्छ ।