धार्मिक चाड पर्वप्रतिको माओवादी धारणा

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज १८, २०७९

पर्व मनाउने परम्परा मान्छेले विकास गरेको हो । यस्ता पर्व, उत्सव, मेलाहरूका पछाडि विभिन्न वर्गीय अवधारणा, सामाजिक सँस्कार र भौतिक परिस्थितिहरूको भूमिका रहेको छ । मानवीय मनोरञ्जनको प्रवृत्ति, धार्मिक–आस्था, खुसी, मिलनको अभिव्यक्ति, आर्थिक प्रभाव, भोगी–विलासी मनोवृत्ति, सामाजिक परम्परा जस्ता मानवीय प्रवृत्तिबाट बनेका धारणाले पर्व–उत्सवहरु विकसित भएका हुन् । यसका पछाडि आध्यात्मिक र भौतिक दुबै परिवेशले काम गरेका छन् । एकातिर चाड, पर्व, मेला, उत्सवहरू कहिं न कहिं धार्मिक–आध्यात्मिक आस्थासँग जोडिएका छन् भने अर्कातिर भौतिक परिवेश र आवश्यकतासँग पनि जोडिएका छन् तर आजसम्मको तिनको विकास प्रक्रिया र चलनलाई हेर्ने हो भने धार्मिक आध्यात्मिक पक्ष नै मुख्य कारण रहेको देखिन्छ ।

धर्मको नाममा शोषणको प्रक्रिया चालु राख्ने उद्देश्यसँग जोडिएर, राज्यसत्ताको दीर्घ जीवनसँग जोडिएर, धनी, ठालू–सामन्तहरूले आर्थिक हैसियतको रबाफ वा प्रभुत्व प्रदर्शन गर्ने गतिविधिसँग जोडिएर, पण्डा–पुरोहितहरूले विनाश्रम श्रमिकवर्गसँग परोक्ष्य शोषणको व्यवसाय गर्ने लक्ष्यसँग जोडिएर, श्रमचोर, कामचोर, ठगठालू, शोषक, परजीवी वर्गको जीविका सञ्चालनको चालसँग जोडिएर चाडपर्वहरू, मेलाउत्सवहरू चल्तीमा आएका देखिन्छन् । अर्कोतर्फ श्रमिकवर्गले खेतीपाती लाउने वा स्याहार्नेभन्दा पूर्व वा पछि रमाइलो गर्ने, कुनै लामो श्रमपछि मनोरञ्जन, आनन्द लिने, खानेपिन–हाँसोखुसी गर्ने, आफन्तवीच सामूहिक मिलन–भेटघाट आयोजा गर्ने, आपसमा अनुभूति, सुखदुख साटासाट गर्ने, कुनै खास दिनलाई विशेष ढङ्गले मनाउने, सामूहिकता र सहकार्यलाई पर्वमा फेर्ने मानवीय प्रवृत्तिबाट पनि यस्ता पर्वहरू विकसित भएका देखिन्छन् । यी सबै कुराको पछाडि भने आर्थिक व्यवस्था, उत्पादन गतिविधि, श्रमप्रक्रिया नै आधार रहेको पाइन्छ ।

कुनै पनि मानवीय सँस्कृति मान्छेका आर्थिक क्रियाकलाप र उत्पादन गतिविधिकै उपज हुन्छ । सामाजिक संरचना र सम्बन्धकै उपज हुन्छ । चाडपर्वहरू पनि मान्छेका तिनै गतिविधि र कार्यका परिणाम हुन् । यसर्थ चाडपर्व, मेलाउत्सवहरू मानवीय यथार्थ, आर्थिक कार्य, वैचारिक रुपका प्रतिबिम्ब बाहेक अरु केही होइनन् । मान्छेका भौतिक गतिविधि नै पछि गएर आस्था, चिन्तन, दृष्टिकोण र धर्ममा परिर्वतन हुन्छन् । धर्मका पछाडि मान्छेको शक्ति र सामथ्र्यको सीमा, अज्ञानता र असचेतता, विचार–दृष्टिकोणको सीमाको गहिरो भूमिका छ । प्रकृति, समाज, विश्व–संरचनाबारे मान्छेका ज्ञानको सीमाकै कारण धर्मको आविष्कार भएको हो ।

धर्म यिनै मानवजातिका सीमाको उपज हो–जसमा त्रासद र दुःखान्त अवस्थाले पनि काम गरेको छ । भय, पीडा, खुसी, आनन्द, स्वप्निल आकांक्षाहरू जस्ता असीम चाहनामा मान्छेलाई आफ्नो शक्ति–सामथ्र्यको सीमाबोध भएपछि उसले अज्ञात कुनै परमशक्तिप्रति आफ्नो आस्थालाई जन्म दियो । धार्मिक चाडपर्व स्थापित हुनुमा यही अज्ञात रहस्यमयी आस्थाको गहिरो भूमिका छ–भने फरक पर्दैन । दशैंपर्व प्रचलनमा आउनका पछाडि पनि १) धार्मिक आस्था र आध्यात्मिक सोंच, २) वर्षाभरिको श्रमपछि श्रम भुलाउन गरिने रमाइलो र फुर्सदिलो समयको उपयोग, शरद् ऋतुको रमणीय प्रकृतिको प्रभावले खुसीयाली मनाउने प्रक्रिया, ३) दूरदराज गएका आफन्तजनसँग भेटघाट, आत्मीयता साटासाट र मिलनको अवसर उपयोग गर्ने भौतिक परिस्थिति अन्तर्निहित छ । यी सबै आर्थिक गतिविधि, सामाजिक कार्य र उत्पादन प्रक्रिया नै हुन् । यहाँ दशैं पर्वले मान्छमा पारेको सामाजिक प्रभाव र त्यसबारे वामपन्थीहरूको धारणाबारे छोटो चर्चा गर्ने कोसिस गरिएको छ ।

मूलतः दशैं धार्मिक मूल्य, मान्यता र परम्पराको पर्वका रुपमा विकसित भएको छ भने गौणतः खुसी, आनन्द, मिलन, स्वजनबीचको भेटघाट, खानपीन र रमाइलो गर्ने प्राकृतिक वातावरणको सौन्दर्यको प्रभावका रुपमा पनि विकसित भएको देखिन्छ । खेतीपाती गरेर थाकेको अवस्थामा फुर्सदलाई उपयोग गर्दै रामरमिता गर्ने दिनका रुपमा यसलाई मनाउने चलन चलेको हुन सक्ने कुरालाई नकार्न सकिदैन । तर आज–भोलि दशैं रुढिवादी विकृति, अन्धविश्वास र कुरुप परम्परा, धार्मिकपन्थीहरुको अतिवाद हुँदै सामन्ती आर्थिक हैसियत प्रदर्शनका माध्यमबाट विपन्नहरुमाथि प्रभाव लाद्ने मानसिकताका रुपमा विकसित हुन पुगेको पाइन्छ । जसले गरिब वर्गका जनसमुदायमाथि धार्मिक दबाब र सामाजिक हीनताको भाव सिर्जना मात्र हैन तिनै ठालू–धनीको अनुकरण गर्दै आर्थिक ऋणधन गरेरै भए पनि खुसीयाली किन्नु पर्ने बाध्यता पैदा गरेको छ । धनीहरूसँग आर्थिक प्रतिस्पर्धाको सामना नगरे अनि सो अनुसार दशैंको रमझम र तामझाममा सामेल नभए उनले मानसिक पीडा र हीनताबोधको सामना गर्नै पर्ने हुन्छ र सामाजिक रुपमा हेय र अपमानित हुने स्थितिका कारण, पैसा नभए पनि ऋण खोजेर खुसीयाली किन्नु पर्ने वाध्यता तल्लो वर्गमा लादिएको छ । दशैं यस्तो वर्गका लागि दशा नै बन्छ । एकक्षण रमझम बोकेर आउने दशैंले जब वर्षैभरिका लागि ऋण बोकाएर जान्छ, तब त्यो रक्सीको नशा जस्तो केही क्षण मातेको स्थितिमा बिर्सेका पीडाहरू नशा उत्रेपछि झन् दुईगुणा बढेर जाने जस्तै गरी दुख्न थाल्छ । दशैंका दिनसम्मको खुसी र आनन्द अर्को दिनदेखि पीडा, पीर र चिन्तामा बदलिनु दशैंको नशालु प्रभाव नै हो ।

वस्तुतः धर्म एउटा नशा हो, त्यही नशा दशैं पर्वमा पनि छ । धार्मिक आस्था र विश्वासको रुढिवादी नशा मान्छेमा चढेपछि ऊ अर्धविक्षिप्त जस्तो बन्छ । असहज बुद्धिले जे गर्न पनि बाध्य बन्छ । आजभोलि धर्मसँगसँगै आर्थिक उन्मादको नशा पनि पर्वहरुमा चढेको छ । पुँजीवाद र सामन्तवादको ठालू संस्कृतिको प्रभावले दंंशित भएर निरुपाय वर्गले पनि उनीहरु झैं रमझममा रमाउनै पर्ने स्थिति एउटा नशा नै हो । रमझम गर्नै पर्ने नशा चढेपछि मान्छेले भोलि भोग्नुपर्ने पीडालाई एकछिन बिर्सन्छ र ठालूवर्गको वैभवशाली जालमा फँस्छ । दशैं पर्वको नशाले गरीब वर्गलाई साहु मालिकहरूको ऋणको चकाचौंध दलदलमा डुबाइदिन्छ । धार्मिक रुपबाट मात्र होइन आर्थिक रुपबाट पनि दशैंपर्व पूँजीवादी शोषण प्रक्रियाको एउटा उत्तम कडी बन्न पुगेको छ ।

दशैं पर्वमा धार्मिक पक्षको महत्वपूर्ण प्रभाव भएकोले यहाँ धर्मबारे केही चर्चा गर्नै पर्छ । मान्छेको जीवनलाई रुढ, संकीर्ण, कुण्ठित र दीनहीन बनाउने, असहाय र निरुपाय तुल्याउने, दशाहरूले घेरिएको दैवी नियन्त्रणको जीव बनाउने, भौतिक र वस्तुगत संसारबाट अलग गर्दै त्यसका कारणहरूबाट दूर भगाउने र काल्पनिक वा दिव्य शक्तिको सहारामा अर्थात् कुनै अदृश्य र रहस्यमय परमशक्तिको भ्रम र रहस्यमय अज्ञानताको अँध्यारो भुमरीमा जाक्ने आस्था नै धर्म हो । मान्छेले आफ्ना भौतिक पीडा, दुःख, कष्ट, समस्याबाट मुक्ति पाउन त्यही अदृश्य र रहस्यमय, अलौकिक शक्ति र अज्ञात लोकको भ्रमको शरण पर्छ र त्यसैमा विश्वस्त भएर कुनै तिलस्मी प्रक्रियाबाट सुखको संसार खोज्ने भ्रान्ति नै भ्रान्तिको अफिम धर्मको अवलम्बन गर्छ । आजसम्म गहन अन्वेषक, विश्वका तत्ववेत्ता वा देवगुरुहरुले पनि धर्म र ईश्वरको अस्तित्वलाई वास्तवमा स्वीकार गरेको देखिदैन । चाहे ती कपिल, चार्वाक् वा वृहस्पति जस्ता पूर्वका देवगुरु होऊन् वा पश्चिमका ग्यालिलियो, डार्विन, आइन्स्टाइन जस्ता वैज्ञानिक ।

धर्मको मर्म नबुझेर मात्र धर्ममाथि विश्वास गर्ने अन्धसंस्कार, विभ्रम र अयथार्थ चिन्तनका कारण मान्छे धार्मिक भयग्रस्त हुने गरेको पाइन्छ । राजा–महाराजाहरू, पुरोहित पादरीहरू र सत्तासीन शासकहरु धर्मको खोल ओढेर, धर्मको नक्कलीरुपका माध्यमले अकिञ्चन दुनियाँलाई वशीभूत गर्ने गर्दै आएका छन् । आफ्नो निरङ्कुश सत्ताको शोषण, दोहन र दमनविरुद्ध विद्रोह हुन नदिने भयका रुपमा धार्मिक पाखण्डको प्रचार गरिएको छ । आफ्ना अनगिन्ती कुकृत्य, लुटको स्वर्ग, अत्याचार र अन्यायको राज प्रजाले सहिरहून्, निर्वाध, निष्कण्टक र निर्विरोध त्यो शासन चलिरहोस् भन्ने हेतुले धर्मभीरु जनतालाई अदृश्य शक्तिको दण्डले भयभीत तुल्याएर वा काल्पनिक नर्कले त्रसित पारेर उनीहरु वशमा राख्दै आएका छन् । त्यसैकारण असहाय र निरुपाय परिस्थितिका दास धर्मभीरुहरू असीम दुःख, पीडा, दुर्भाग्यबाट मुक्तिको बाटो धर्म ठान्दै युगयुग तिनैका दास बन्छन् । उनीहरु त्यो लोकको स्वर्गको सुखको आशामा यो लोकको नरक जस्तो जिन्दगी सहन वाध्य गर्छन् ।

श्रमजीवी जनताका पसिना, रगत, आँसु पिउने प्यालाका रुपमा धर्मको उपयोग गरिंदै आएको छ । धर्मको प्रभाव इहलोकसम्म मात्र होइन परलोकसम्म पनि पु¥याइएको छ । विपन्न र शोषित वर्गले भोगेका पीडा, दुःख–कष्ट, अभाव र समस्याहरू कुनै शोषक वर्गको शोषण, उत्पीडन, दमन, अन्याय, अत्याचार आदिका परिणाम होइनन् बरु, भाग्य र कर्मका परिणाम हुन् भन्ने अफिम जनतामा बाँटिएको छ । त्यसको लागि जन्म–पुर्नजन्म, भाग्य–दैवको खेल वा काल्पनिक चित्रको आविष्कार गरिएको छ । भाग्य, जन्म र पुर्नजन्मको परिकल्पना एवम् कर्मको फलद्वारा दुखी–गरिब वर्गले भोग्ने यावत् दुःख–समस्यालाई पापको दण्डका रुपमा परिभाषित गरिएको छ । जसले श्रमिक उत्पीडित वर्गलाई जस्तोसुकै कष्ट, पीडा, दुःख, दारिद्र्य पनि सहज हुने, पचाउन सक्ने बनाइदिन्छ ।

भाग्य र कर्मको खेल भन्दै चित्त बुझाउने स्थितिले उसमा विद्रोह र आक्रोशको चेतना समाप्त हुन्छ । यसले प्रतिरोध क्षमता पनि समाप्त हुन्छ । दमित, दास, भीरु, सङ्र्कीण र कुण्ठित भाव पैदा गर्छ । जसबाट शोषण, लूट, ठगी र बेइमानीको धन्दा चलिरहन्छ । अन्याय र असमानताले भरिएको समाज चलिरहन्छ । यसरी शोषक–उत्पीडक विरुद्ध श्रमजीवी मान्छेको सङ्घर्ष, विद्रोह, प्रतिरोधको भावना र आवेगलाई मत्थर पार्ने र क्रान्तिकारी चेतना शिथिल तुल्याउने आत्मिक सम्मोहनको मदिरा, नशा अथवा मन्दविषका रुपमा धर्मलाई प्रयोग गरिएको छ । यो क्रान्तिकारी परिवर्तनलाई रोक्ने मानसिक त्रासदी र आतङ्कको परिकल्पना होे । तानाशाही शासक र चुसुवा मालिकहरूले यो धर्मको जादूले लठ्ठ पारेर नै आजसम्म सीधासाधा जनतालाई शोषण र शासन गर्दै आएका छन् । त्यसैकारण माक्र्सले धर्मलाई जनताको निम्ति अफिम भन्नु भएको हो । धर्म अवस्तुवादी, अवैज्ञानिक, तथ्यहीन, भ्रामक, रहस्यपूर्ण र अवास्तविक यथार्थ हो ।

धर्मले मान्छेलाई बनाएको (ईश्वरले मान्छेलाई बनाएको) होइन बरु मान्छेले धर्मको आविष्कार ग¥यो । किनकि धर्म मानव विकास प्रक्रियाको एउटा निश्चित चरणमा आएर मात्र विकसित भएको हो । धर्मभन्दा पहिले नै संसार थियो । ईश्वर आविष्कार गर्नुभन्दा पहिले पनि जीवन र जगत् छदै थियो । जीवन र जगत्भन्दा बाहिर ईश्वर र धर्मको कुनै स्थान थिएन र आज पनि छैन । ईश्वर र धर्मको आविष्कार गर्ने मान्छे नै हो । यही सत्य र तथ्यपूर्ण कुरा हो किनकि जतिबेला पृथ्वी भर्खरै सूर्यबाट छुट्टिएको आगोको गोलो थियो त्यतिबेला न ईश्वर, न धर्मग्रन्थ, न मठाधीशहरु, न मन्दिरहरु नै थिए । वास्तवमा धर्मको प्रचलन साढे चार हजार वर्षभन्दा पनि पछि मात्र भएको पुष्ठि भइसकेको छ । मान्छेले प्रकृतिका नियम, दुखको कारण, प्राकृतिक प्रकोपको रहस्य, भौतिक जगत्का परिवर्तनकारी उथलपुथल र मान्छेको नियन्त्रण र ज्ञान बाहिरको यथार्थलाई जान्न नसकेकै कारण धर्म जन्मिएको हो ।

जब मान्छेमा चराचर जगत्को सीमा, उत्पत्ति, विश्व ब्रह्माण्डको विराट् रुप, असीमित विस्तार, यसभित्र अन्तरनिहित अथाह शक्ति, प्राकृत नियम, जीवन तत्व, जीवनको कारण, तथा यसको आदि र अन्त्य जान्न नसक्ने अवस्था थियो, असीमशक्ति र त्यसको सीमाको रहस्य बुझ्न नसक्ने स्थिति थियो, तब त्यो अपरिमित, अथाह, अनन्त शक्तिलाई परमशक्तिको रुपमा कल्पना गर्यो अर्थात् कुनै परमशक्तिका रुपमा ईश्वरलाई । अनि आफू निरुपाय र असहाय हुँदा त्यसैको शरण पर्न थाल्यो । भूकम्प, ज्वालामुखी, चट्याङ, बिजुली, बाढीपहिरो, हिमबर्षा, तुफान, आकाशको गर्जन, रोग, प्रकोप जस्ता नकारात्मक त्रासदीबाट मुक्तिका लागि त्यही परमशक्तिमा भर गर्न थाल्यो । पूजा गर्न थाल्यो । स्तुति र आराधना गर्न थाल्यो र धर्म जन्म्यो । अथवा जीव, आत्मा, मन, वृक्ष, वनस्पति, कीट, पतङ्ग आदिको जन्म, मृत्यु, विकासको कारकतत्व या विश्व–ब्रह्माण्डको उद्भवको स्रोत थाहा नपाउँदा वा रहस्य–सूत्र पत्ता नपाउँदा ईश्वरको कल्पना ग¥यो । रहस्यकै रुपमा धर्म मान्न शुरु ग¥यो । ईश्वरका अंश वा अवतार भनाउँदै मालिक, सामन्त, राजा–महाराजाहरुले सत्तालाई श्रम, पसिना लुटेर खाने वैधानिक संस्था बनाए । ठगी र शोषण गर्ने अधिकारलाई ईश्वरप्रदत्त अधिकार भनियो । यसरी धर्मभीरु जनताका मनमा यो अन्धविश्वासकोे अफिम ईश्वर बन्न पुग्यो । जनताका हृदयमा युगौँयुगदेखि प्रभाव जमाउँदै आएको रहस्य र भ्रमको रुप यो धर्मलाई यसै कारणले माक्र्सले अफिम भने । लेनिनले आत्मिक नशा । माक्र्सले धर्मका बारेमा इसाई धर्मका सामाजिक सिद्धान्तको चर्चा गर्दै यसलाई प्राचीन कालको दासताको औचित्य सावित गर्ने विषय भन्नु भएको छ । धर्मले शासक वर्ग र शाषित वर्ग, उत्पीडक वर्ग र उत्पीडित वर्ग, शोषक वर्ग र शोषित वर्ग कायम राख्नु आफ्नो सारतत्व ठान्छ ।

यसैबाट जातीय, उँचनीच, धनी–गरीबको वर्गीय औचित्यको पनि पुष्टि हुन्छ । ठूलाठालू तथा शासक वर्गको दुष्टता, नीचता, पाप, अपराध, अत्याचारलाई स्वर्गमा देवबाट दिइने सजाय वा दण्डको जिम्मा लगाएर तमाम दुष्टताहरूलाई उचित साबित गरिदिएको छ–धर्मले । शोषितहरू विरुद्ध शोषकहरूको तमाम अपराधहरूको सजाय ईश्वरीय परीक्षामा निर्भर गरिदिएको छ र पूजा, तप, ध्यान, दान, दया आदिबाट परीक्षा उतीर्ण हुने र उद्धार हुने सिद्धान्त बनाइएको छ । त्यही धर्मले गरिबहरूमा कायरता, आत्मग्लानि, हीनता, दीनता, कुण्ठा, विनम्रता, सहिष्णुता, प्रेम, सहानुभूति जस्ता दास भावहरुलाई गुण सिद्ध गरिदिएको छ । जुन सबै धनी र मालिक वर्गको आधिपत्य र हितमा हुन्छ । वास्तवमा मजदूर, किसान, गरिब वर्गमा साहस, आत्मविश्वास, वीरता, स्वाभिमान, गर्व तथा स्वतन्त्रता–बोध जस्तो प्रवोधनलाई धर्मले निरस्त बनाइदिएको छ । यसले धर्म कसको हितमा छ स्पष्ट हुन्छ ।

जेसुकै भए पनि धर्म गरीब सर्वहारावर्गको हितमा देखिन्न । लेनिनले धर्मको पाखण्डी चरित्रको भण्डाफोर निर्ममतापूर्वक गर्नु भएको छ । उहाँ भन्नुहुन्छ–‘धर्म आर्थिक शोषणको एउटा यस्तो रुप हो, जसले अरुका निम्ति निरन्तर श्रम गर्ने, अभाव र एक्लोपनका कारण पहिलेदेखि सन्त्रस्त जनसमूहको जीवनमाथि अझ धेरै गहु्रंगो भारी थपिदिएको छ ।’ यसले धर्म वास्तवमा मानवजातिको आर्थिक शोषण, सामाजिक उत्पीडनको सांस्कृतिक रुप हो । यो कुरुप र कुत्सित संस्कारको, भयभीत दास चेतनाको, दीनहीन मनोभाव र दमितपनको स्रोत, आधार र साधन तीनै थोक हो र खासगरी शोषणको स्रोत र साधन हो भन्ने पुष्टि हुन्छ । त्यसैले लेनिन भन्छन्–‘मान्छेहरू जो जीवनभर मिहिनेत गरेर पनि अभावै अभावको जीवन व्यतित गर्न बाध्य छन्, धर्म तिनलाई यस लोकमा विनम्र भएर धर्मवान् हुने र परलोकमा सुख प्राप्त गर्ने आशा, आश्वासन र सान्त्वनाको उपदेश दिने गर्दछ ।

परन्तु, ती मान्छेहरू जो अरुको श्रममा मोजमस्ती गर्दछन्, तिनलाई धर्मले यस जीवनमा मालिक बनेर दानदक्षिणा दिने उपदेश गर्दै शोषणको रुपमा उनको सम्पूर्ण अस्तित्व र औचित्य सावित गर्ने आधार प्रदान गर्दछ र अनि स्वर्गमा आनन्द र सुख प्राप्त गर्न सस्तो मोलमा टिकट विक्री गर्ने गर्दछ ।’ धर्मको आर्थिक पक्ष कस्तो छ यस भनाइले उद्घाटन गर्छ । जतिसुकै अपराध गरेपनि अर्काको रगत–पसिना चुसेर बाँच्ने वर्गलाई धर्मले सानोतिनो दान–दक्षिणाबाट धर्म किन्ने र थोरै पैसा बगाएर पाप पखाल्ने सहुलियत र सुविधा दिएको छ र सबै किसिमका अपराधबाट मुक्ति पैसाको माध्यमबाट हुन सक्ने वा पैसाले मुक्ति, भक्ति, देवत्व किन्न सकिने आधार प्रदान गरेको छ । यो पूँजीवालहरूको मनचिन्ते झोली जस्तो अथवा कल्पतरु जस्तो धर्म वस्तुतः श्रमजीवीहरूको निम्ति दुस्साध्य, दुरुह र दुःखदायी चीज बन्न पुग्छ । धर्मले शोषणको, विभेदको, उँचनीचको, असमानताको औचित्य सावित गरेर गरीबहरूमाथि उत्पीडनको पनि औचित्य सावित गरेको छ ।

वास्तवमा धर्म धनी र शोषक, शासक र उत्पीडक वर्गको वर्गीय हितका लागि आविष्कार गरिएको औजारभन्दा अरु केही हुनै सक्दैन । अरुको श्रम लुटेर भोगविलास, ऐस आराम, मोजमस्ती गर्ने, अर्कैको रगत पसिना चुसेर वैभवमय जीवन भोग्ने, छलकपट, बेइमानी र ठगी गरेर अर्काको सम्पत्ति हडप्ने, धूर्त परजीवीहरूले आफ्नो दासत्व कायम गर्न आविष्कार गरेको साङ्लो र शोषणको जाल यो धर्मलाई चुँडालेर फाल्न न कस्सिने हो भने वा काल्पनिक स्वर्गमा विश्वास, नक्कली सुखको अन्धो आशा, झूटो मुक्तिको आश्वासनका जड र रुढ चिन्तन र आस्था विरुद्ध सङ्घर्ष नगर्ने हो भने श्रमजीवी वर्ग आफैंले निर्माण गरेको यो धर्मको सुनौलो साङ्लामा बाँधिएर सधै भोकभोकै मर्न बाध्य हुनेछ । त्यो धर्म जसले पादरी–पुरोहित, साहू–मालिक, धनी–जमिन्दार, राजा–महाराजाका पाउमा निःशुल्क श्रम, सेवा, सहयोग, प्रेम, सद्भाव, दान–दक्षिणा सुम्पिन र आफू बाँचुञ्जेल अभाव, दुःख, पीडा, कष्ट समस्यामा थिचिइरहन उपदेश दिन्छ, त्यस्तो धर्मलाई नत्याग्ने हो भने श्रमिक वर्गको मुक्ति अर्थात् उद्धार कसरी सम्भव होला र ? यसैकारण लेनिनले धर्मभीरु, धर्मलम्पट, अन्धविश्वास र रुढिवादमा फँसेका असचेत र अज्ञानी मान्छेहरूका सन्दर्भमा भन्नु भएको छ–‘धर्म जनताका लागि अफिम हो । धर्म एक प्रकारको आत्मिक मदिराको नशा हो जसमा पुँजीका दासहरू आफ्नो बचेखुचेको मानवीय छवि वा धेरथोर बचेको जीवनको मानवोचित अंश पनि धोइपखाली फँयाक्छन् ।’

वास्तवमा यो धर्मको मदिरा गरिब श्रमिकहरूको रगत, पसिना र आँसुबाट निर्मित हुन्छ तर, त्यही मदिरा तिनै गरीब श्रमिक वर्गलाई नै लठ्याउन प्रयोग गरिन्छ । यसरी मानव जातिमाथि लादिएको धर्मरुपी जुवा समाजमा लादिएको आर्थिक शोषणको जुवाकै प्रतिबिम्बन हो । धर्म वर्गीय समाजको वर्गीय चिन्तनकै एक रुप हो । धर्म पनि समाजको एक बिम्ब हो । धर्म आर्थिक शोषणमा आधारित समाजको जीवन मेरुदण्ड हो । यसमा विद्यमान सबै अवस्तुवादी, काल्पनिक र असत्य विचारहरूले वैज्ञानिकताको निषेध गर्छन् । वस्तु र यथार्थको निषेध गर्छन् । धर्म उच्च वर्गको पक्षमा उभिएको छ, शोषकवर्गको पक्षमा उभिएको छ र दमनकारी शक्ति र सत्ताको पक्षमा उभिएको छ । यसले तिनैको बढी हित गर्छ, अझ सबभन्दा बढी सामन्त र सम्भ्रान्त राजाहरूको हित गर्छ । उनलाई देवताको पदमा स्थापित गरेर तिनैको मुख आम जनताको कानून, नियाँ र निसाफ ठहर गर्छ । वास्तवमा सबै धर्म पापबाट नै शुरु हुन्छन् । विना पाप धर्मको आवश्यकता पनि छैन । त्यो विचार, चिन्तन र चेतनाको जग आर्थिक स्वरुप र संयन्त्र नै हो । जुन उत्पादनमा अधिकार, नाफा, सम्पत्तिमाथि स्वामित्वसित गाँसिएको छ । जसको त्यसमा आधिपत्य हुन्छ, त्यसैको धर्म मापदण्ड बन्छ । आजसम्म त्यसमा शोषक लुटेरा वर्गको नै स्वामित्व कायम हुँदै आएकोले धर्म पनि तिनैको हितमा बनेको छ । तिनैको स्वार्थ र हित (पाप) अनुकूल नहुने धर्मलाई समाप्त पनि पारिएको छ पार्न खोजिएको छ जस्तोः जिसस क्राइष्टलाई क्रुसमा टाँग्ने कार्य पुरानो धर्मको विरोधकै परिणाम थियो । सर्वहारा, श्रमजीवी, गरीब वर्गले आफ्नो धर्म स्थापित गर्न विद्यमान धर्मका विरुद्ध सङ्घर्ष गर्नै पर्छ । पुरानो धर्मको आधार बनेर रहेको आर्थिक पद्धति, आर्थिक संयन्त्र र आर्थिक स्वामित्वलाई बदल्नु पर्छ । जनताको निमित्त अफिम बनेको धर्मलाई उल्ट्याउन जरुरी छ ।

धर्मलाई कसरी उल्ट्याउने भन्ने प्रश्न पनि गहिरो प्रश्न हो । धेरै लामो कालदेखि मान्छेका सँस्कारमा जरा गाडेर बसेको धार्मिक आस्था मेटाउनु कठीन काम जरुर हो तर, असम्भव होइन । यसलाई हामीले धार्मिक शोषणविरुद्ध सङ्घर्षको रुप प्रदान गर्नुपर्छ । धर्मका आधारमा मान्छेका मन र मस्तिष्कमा जरा जमाएर बसेको जडताको मनोविज्ञानलाई सबभन्दा पहिले तोड्नुपर्छ । जडता भनेको रुढिवाद र अन्धसंस्कार पनि हो । जो पहिलेदेखि एउटा अवधारणा वा छाप बनेर रहेको छ । धर्म वैज्ञानिकता विरुद्धको अभियान हो । हामीले वस्तुवादी र वैज्ञानिक चेतनालाई स्थापित गर्नु जरुरी छ । रहस्य, भ्रम, कल्पना, भाववाद, अमूर्तता, प्रत्ययवादी सोंचहरू गलत हुन् भन्ने सही सोंचाइ लिएर जनताका दिमागमा पस्न जरुरी छ । धर्म शोषक, सामन्त, धनी, ठग, परजीवी वर्गको रक्षाकवच हो भन्ने बुझाइदिन सक्नुपर्छ किनभने धर्म वैचारिक सङ्घर्षको रुप नै हो । यो चिन्तनगत सङ्घर्षको रुप हो ।

धर्म पुरानोविरुद्ध कहिल्यै उभिदैन बरु सधैं नयाँ विरुद्ध उभिन्छ । केही धार्मिक सुधारवादीहरू अथवा उदार धर्मप्रचारकहरू पुरानो धर्म फेर्नलाई होइन बरु पुरानै धर्म कायम गर्न आए । जसले धार्मिक सुधारवाद वा उदार धर्मको रुपमा पुरानोकै निरन्तरता कायम गरे । यसर्थ पुराना संस्कारसित सङ्घर्ष, परम्परासित सङ्घर्ष, अवैज्ञानिकतासित सङ्घर्ष, अवस्तुवादी चेतनासित सङ्घर्ष, जीवनका लागि अनुपयोगी कर्म र आस्थासित सङ्घर्ष, पुराना बानी र व्यवहारसित सङ्घर्ष, अलौकिक स्वर्ग र कल्पनालोकसँग सङ्घर्ष नगरी जनतालाई धर्मको शोषणबाट मुक्त गर्न सकिन्न भन्ने तथ्य जग जाहेर छ । पृथ्वीभन्दा बाहिर स्वर्गको कल्पनाभन्दा पृथ्वीमै स्वर्गको परिकल्पना साकार पार्ने प्रयास धर्मविरुद्ध सङ्घर्षको अभियान हुनसक्छ किनभने जब मान्छेले श्रमलाई समृद्धि र सौन्दर्यमा बदल्ने अवसर प्राप्त गर्छ, पुराना भ्रमहरू समाप्त हुन्छन् । धर्म गरेर स्वर्गतिर उक्लिने भ्रमलाई धर्तीमा नै स्वर्ग बसाल्ने सपनाले विस्थापित गर्न सकिन्छ । अयथार्थ जगत्लाई यथार्थ जगत्मा ओराल्न, असत्यलाई सत्यमा बदल्न, सुन्दर सपनाको स्वर्ग निर्माण गरेर मात्र पुग्दैन त्यसलाई व्यवहारमा बदल्ने प्रयोग सुरु गर्नैपर्छ । यसो गरेर मात्र धर्मकोे साम्राज्य उल्ट्याउन सकिन्छ ।

धर्मको बारेमा यति चर्चा गर्नुको अर्थ दशैं पर्व पनि धार्मिक परम्पराका रुपमा मानिदै आउनु र यसको सम्बन्ध धर्मसँग पूर्णरुपमा जोडिनु हो । जसरी धर्म जनताको निम्ति आत्मिक नशा हो, त्यसरी नै दशैं पर्व पनि । यसले क्रमशः लिंदै गएको विकृति र रुढिवादी चरित्रले गर्दा त्यसो भन्नु जायज हुन्छ । हुनेखाने वर्ग, सम्पन्न र धनवान्हरूले दशैंलाई पुँजीवादी विकृतितर्फ धकेलिदिएका छन् । खानपीन, लवाइखवाइ, भोगविलास, तासजुवा, मदिरामासु, साजसज्जा, तामझाम, पूजाबली, तडकभडक, गरगहना आदिले दशैंं आर्थिक विकृतितर्फ गएको स्पष्ट छ । धनीहरुको आर्थिक प्रभाव जमाउने पर्व जस्तै बन्न गएको छ । त्यसरी नै यो अत्यन्त रुढिवादी र अवस्तुगत बनेको छ । अनावश्यक रुपमा पशुबध, जथाभावी मदिरा र मासुको प्रयोग, सामाजिक मर्यादाहरूको उल्लघन तडकभडक जस्ता धेरै कुराहरु त्यस्तै केही दृष्टान्त हन् । यस्ता पर्वहरु झै–झगडा र मारकाटको माध्यम पनि बनेका छन् ।

तडकभडक र तामझामले गरीबहरूका भावनामा नकारात्मक चोट पारेको छ र प्रतिस्पर्धात्मक आर्थिक खर्चको चलनले नहुनेहरूमाथि उत्पीडन लादेको छ । ऋण काडेरै भए पनि लाउने–खाने–पिउने प्रवृत्ति र हुनेखानेको देखासिकी वा प्रभावित हुने स्थिति समाजले सिर्जना गरेको बाध्यात्मक अवस्था हो । धार्मिक रुढ संस्कार र जडताको चलनले यो पर्वमा विकृतिहरू थपिएका छन् । अवैज्ञानिक सोंच, अन्धआस्था र विश्वासले गर्दा यो बेथिति, विसंगति र विकृतिको पर्व झैं हुन थालेको छ । एउटै धर्मलाई राज्यले अतिशय मान्यता दिएको छ र अरुमाथि उत्पीडन छ । हिन्दूजातिको पर्व भए पनि अरुजातिले पनि मान्न वाध्य पारिएको स्थिति छ । दशैंलाई राज्यले अनावश्यक प्रचारवाजीमा लगेको छ । लामो समय देशै ठप्प पार्ने छुट्टी, दशैंका लागि राज्यस्तरबाटै खर्च व्यवस्था गर्ने परिपाटी र धार्मिक हर्ष–बढाइ, बलीपूजा गर्न राज्यकै कोष दिने प्रचलनले विभेदलाई उत्कर्षमा लगेको छ । यो धार्मिक विभेद र पक्षपात पनि हो । यस्ता गलत मूल्य र मान्यतालाई हटाउँदै दशैं पर्वको वैज्ञानिक प्रयोग शुरु गर्नु आवश्यक छ । तत्काल योे हटाउन नसके पनि क्रमशः परिवर्तन र व्यवस्थित गर्न नसकिने होइन ।

माओवादीहरुले यस्तो पर्वलाई कसरी हेर्ने ? मलाई लाग्छ माथि उल्लेखित नकारात्मक पक्षलाई मनन गरेर नयाँ ढङ्गले जानु जरुरी छ । धार्मिक रुपमा होइन यसलाई सामाजिक भेटघाट, मिलन, हार्दिकता, आत्मीयता साटासाट गर्ने सामाजिक उत्सवका रुपमा हाललाई फेर्नु पर्छ । यसलाई कुनै एउटै थलोमा सामूहिक भेटघाट गर्ने प्रक्रियाका रुपमा तत्कालका लागि बदल्नु उपयुक्त हुन सक्छ । पुराना सबै परम्परा, चलन, प्रक्रियाहरू तोड्दै परिवारबीचको सुखदुख आदानप्रदान गर्ने सानो समारोहका रुपमा हाललाई फेर्न सकिन्छ । खानपीन, लवाइखवाइको पूँजीवादी सामन्ती प्रभुत्वका ठाउँमा सामान्यमा झार्न सकिन्छ । टीकाटालो र जमराको धार्मिक प्रतीकलाई छोड्न सकिन्छ । सहज र सरल ढङ्गले स्वाभाविक रुपमा सामान्य वर्गका जनतालाई पनि पाच्य र ग्राह्य हुने गरी यसलाई परिमार्जन गर्दै लैजान सकिन्छ । समाजले के भन्छ ? त्यसमा ध्यान दिंदै ‘सामाजिक प्रचलन, संस्कृति र परम्परा’ भन्दै उही रुढीवादी शैलीमा जाने र उस्तै गरी पूजा, टीका, जमरा, बली, तड्कभडक, साजसज्जाको निरन्तरता दिने हो भने त्यो प्रगतिशील हुन सक्दैन । ‘बूढाबूढीको, चेलीबेटीको, नातापाताको मन राख्न’ भन्दै ‘मनमा आस्था नभए पनि मान्न बाध्य भएको’ बाहानाबाजी गरेर धार्मिक रुढिवादी आस्थाको निरन्तरता दिनु शोषण, उत्पीडनको उही पुरानै गलत संस्कृतिलाई निरन्तरता दिनु हो । परम्परा नभत्काई कसरी नयाँ संस्कृति बन्छ ?

माओवादीले दशंै मनाउने कि नमनाउने भन्ने प्रश्न उठिरहेको छ । तत्काल पूर्णतः त्याग्न असम्भव भए त्यसलाई विज्ञानसम्मत तुल्याउन जोड दिनैपर्छ । एक दिन मात्र सामान्य रमाइलोमा आपसी सद्भाव साटासाट, भेटघाट र मिलनको सामूहिक आयोजना बनाउन सकिन्छ । धार्मिक शैलीमा होइन नयाँ शैलीमा सिर्जनशील ढङ्गबाट सामूहिक र सार्वजनिक रुपमा दशैंलाई दिवस फेर्ने नयाँ प्रक्रियाको थालनी गरे त्यो पछि पूरै हराएर जान सक्छ । आफन्तहरूबीच मात्र मनाउने चलन त्यागेर आम कार्यकर्ताबीचमा मान्ने बनाउन सकिन्छ । एक्लै होइन सामूहिक, छिटोछरितो, छोटोमीठो, खर्चविनाको, सामान्य शैलीको बनाउन सकिन्छ । । टीकालाई त्याग्ने कि नत्याग्ने ? भन्ने प्रश्न पनि छन् । टीका आफैमा धर्म त होइन तर त्यो धार्मिक प्रतीक बनेर आएको छ । खासगरी पूजाआजा र धार्मिक विधिको अन्त्य गर्न ध्यान दिनुपर्छ । आशीर्वाद होइन शुभकामना दिन सकिन्छ ।

दशैं मनाउने कि नमनाउने ? किन मनाउने ? कसरी मनाउने ? कहाँ, कोसँग मनाउने ? त्यसले समाजलाई के प्रभाव पार्ने ? विपन्न वर्गका जनतालाई त्यसले कस्तो असर गर्ने ? त्यसको परम्परागत चरित्र के हुने ? आदि प्रश्नहरूसँगै आर्थिक खर्चको रुप कस्तो हुने भन्ने पनि प्रश्न छ । धर्मप्रति लचिलो हुनु वा लहसिनु कम्युनिष्ट चरित्र हुनै सक्दैन । परिवारको मन राख्न, वरिपरिको परिवेश अस्वीकार नगर्न, संस्कृतिको संरक्षण गर्न, रमाइलो र मनोरञ्जन त कम्युनिष्टले पनि गर्न हुन्छ भन्ने जस्ता तर्क र तथ्य पेश गर्दै, धर्म नितान्त निजी मामिला हो भन्ने आशयका साथ धर्मसित सम्झौता गर्नु, समन्वय गर्नु कम्युनिष्ट नैतिकता हुन सक्दैन । यसो गरेमा त्यो विज्ञानविरोधी र अधिभूतवादी शैली नै हुनेछ । पुराना संस्कारसित सङ्घर्ष नगरी नयाँ संस्कार बस्न सक्दैनन् ।

नयाँ संस्कृतिले पुरानो धार्मिक रुढिवादी दशैंलाई विस्थापित गर्नैपर्छ । त्यसका लागि हामीले आफैंबाट शुरु गर्नु आवश्यक छ । किनकि पुरानै शैलीमा दशैंको निरन्तरता धार्मिक आस्थाको निरन्तरता हो । त्यो श्रमशोषण गर्ने वर्गप्रतिको झुकावको निरन्तरता हो । अन्धविश्वास र कुरीतिको निरन्तरता हो । पूँजीवादले धर्मका माध्यमबाट गरीब, श्रमजीवी वर्गमाथि लादेको सामाजिक अन्यायको निरन्तरता हो । दलित, जनजातिमाथि गरिने धार्मिक हस्तक्षेप र आर्थिक प्रभुत्वको निरन्तरता हो । आर्थिक हैसियत र स्तर प्रदर्शनको निरन्तरता हो । खराब मूल्य र मान्यताको एवम् सामाजिक विकृति र विसङ्गतिकै निरन्तरता हो । यस्तो संस्कृतिलाई कसरी वैज्ञानिक बनाउने, वस्तुसङ्गत बनाउने, समाज अनुकूल बनाउने, रुपान्तरण गर्ने भन्ने विषयमा बहस र छलफल चलाउनै पर्छ । धार्मिक शोषणविरुद्ध सङ्घर्ष गर्नै पर्छ । यही माओवादीले दशैं पर्वका बारेमा बनाउने धारणा हुन् भन्ने लाग्छ । (नयाँ कोशीबाट)