नेपाली महिला रग्बी टिम आज जाकार्ता जाँदै

Avatar photo
पुजा थापा
बिहिबार, साउन १९, २०७९

काठमाडौं । नेपाली महिला रग्बी टिम एसिया रग्बी सेभेन्स ट्रफीमा भाग लिन आज इन्डोनेसियाको जाकार्ता जाने भएको छ । एसिया रग्बीमा नेपालले चौथोपल्ट सहभागिता जनाउन लागेको हो ।

जेजीबीके रग्बी पिच जाकार्तामा साउन २१ र २२ मा हुने प्रतियोगितामा नेपालसहित भारत, इन्डोनेसिया, सिंगापुर, यूएई, मंगोलिया र ग्वाम गरी ७ राष्ट्रको सहभागिता रहने छ । राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछ ।

१२ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली बिहीबार त्यसतर्फ जानेछ । खेलाडीमा एलिसा थापा (कप्तान), सिर्जना राई (उप कप्तान), पञ्चमाया श्रेष्ठ, सावित्री पुर्जा, सविना महर्जन, नानी तामाङ, सुजिना गुरुङ, मनीषा थापामगर, अप्सरा कार्की, विशाखा राई, शर्मिला राई र अपना पौडेल छन् ।

यसअघि नेपाली महिला टोलीले भारत, लाओस र ब्रुनाईमा भाग लिएको थियो । भारतको चेन्नईमा भएको प्रतियोगितामा नेपालले बंगलादेशलाई पराजित गरेको थियो । ब्रुनाईमा नेपालले काजकिस्तानमाथि जित पाएको थियो ।

टिम व्यवस्थापकमा बिनु खड्का, अफिसियलमा कपिलदेव न्यौपाने, ताइसुके मियाओ र कामना गिरी, प्रशिक्षकमा विनोद तामाङ तथा फिजियोमा लक्ष्मण अधिकारी छन् ।