रासायनिक मल अभाव, असारमा थप चर्किने

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ १२, २०७९

काठमाडौं । धादिङ सहित देशभर यतिवेला कृषि वालिमा नभई नहुने रासायनिक मलकाे अभाव छ । दिनमा पाउँदै नपाईने मल रातिकाे समयमा कतै कतै भेटिन्छ ६ महिना अगाडि ९ सयमा पाउने युरिया मल अहिले २१०० मा लछाचुडी गर्न किसानहरु वाध्य छन् ।

सरकारको लापरबाहीका कारण यो वर्ष पनि मुख्य सिजनमै रासायनिक मल अभाव हुँदा किसानहरु मर्कामा परेका छन् । बारीको मकै, चैते धान र छिट्टै रोपाइँ हुने असारे धान र बिउमा राख्नका लागि मलको चरम अभाव भएको किसानहरुको गुनासो छ ।

अहिले साल्ट ट्रेडिङ कम्पनी सँग मलको मौज्दात शून्य छ भने कृषि सामग्रीसँग निकै कम मल रहेकाे बताईएकाे छ । नेपालमा आधिकारिक रुपमा रासायनिक मल आयात गर्ने जिम्मा पाएका यी दुई वटा कम्पनी हुन् । सरकारले यो वर्ष मल आयातका लागि २७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका थियो । पहिले बजेटबाटै १५ अर्ब मल खरिदमा छुट्ट्याइएकोमा पछि थप १२ अर्ब रुपैयाँ सरकारले मलका लागि दिएको थियो ।

सरकारले गत १६ फागुनमा भारतसँग पाँच वर्षका लागि जीटूजी मार्फत रासायनिक मल ल्याउने सम्झौता गरेको थियो । सरकारी तहमा भएको सम्झौता दुई देशका मल खरिद गर्ने कम्पनी बीचको सम्झौतामा गएर अहिले अड्किएको मन्त्रालय स्रोतले बतायो ।

‘नेपाल सरकारले तोकेको कृषि सामग्री कम्पनी र भारत सरकारले तोकेको यस्तै प्रकृतिको निकाय बीचको सम्झौता हुन सकेको छैन’ मन्त्रालय स्रोतले भन्यो ‘जसका कारण मल आउने सम्भावना कम छ ।’

कम्पनीस्तरमा सम्झौता हुनै बाँकी भएकाले भारतबाट कहिले मल आउँछ भन्ने यकिन हुन सकेको छैन ।यसले धान रोप्ने सिजनमै मल अभाव थप चर्किने देखिएको छ ।