धादिङबेसीमा ब्याडमिण्टन संघको कभर्ड हल उद्घाटन

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन २, २०७८

धादिङ । धादिङ जिल्ला ब्याडमिण्टन संघले धादिङबेसीमा १ करोड भन्दा बढीको लगानीमा निमार्ण गरेको कभर्डहल आज एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

०७७ साल भाद्र २९ गते एक औपचारिक कार्यक्रमका बीच नीलकण्ठ नगरपालिकाका मेयर भिम ढुङ्गानाले यस कभर्डहलकलो शिलान्यास गरेका थिए भने आज एक विशेष समारोका बीच मेयर ढुङ्गानाले नै उक्त कभर्डहलको उद्घाटन गरेका हुन् ।

कभर्डहल उद्घाटन कार्यक्रममा बोल्दै मेयर ढुङ्गानाले खेलकुद विकासका लागि योजना बनाएर आउने सबै खेल विधाका खेलहरुलाई नगरपालिकाले सहयोग गर्ने गरेको बताउँदै ब्याडमिण्टन संघको भवन निमार्णका लागि नगरपालिकाले सक्दो सहयोग गरेको बताएका थिए ।

भौतिक संरचना होस् या प्रतियोगिता कार्ययोजना सहित नगरपालिकामा आउने कुनै पनि विधाका खेलाडी निराश भएर नफर्काएको दावी गर्दै मेयर ढुङ्गानाले खेलकुद विकासका लागि सहयोग उल्यख्य गरेको दावी गरे ।

कार्यक्रमका सभापति एवम् धादिङ जिल्ला ब्याडमिण्टन संघ धादिङका अध्यक्ष विष्णुलाल श्रेष्ठले पहिलो चरणमा गुरुयोजना निमार्ण सहित २१ लाख, दोस्रो चरणमा ट्रष्ट निमाणको लागि २९ लाख, बाहिरी संरचना (बार र जस्ता) निमार्णको लागि २५ लाख, म्याट खरिद १२ लाख नगरपालिकाबाट सहयोग प्राप्त भएको बताए ।

यस्तै भवन निमार्णमा खेलाडीहरुबाट ९ लाख ४० हजार, संघको खातामा रहेको ४ लाख खर्च भएको, विभिन्न व्यक्तिहरुबाट ६ लाख १० हजार बराबरको जिन्सि भवन निमार्णको क्रममा सहयोग प्राप्त समेत गरि खेल खेल्न मिल्ने तयारी अवस्थाको भवन निर्माण सम्म आईपुग्दा १ करोड ७ लाख खर्च भएको अध्यक्ष श्रेष्ठले बताए ।

अझै ५०० जनाले खेल हेर्न सक्ने प्याराफित निमार्ण, क्यान्टेन निमार्ण, महिला र पुरुषको लागि ड्रेसिङ रुम निमार्णको काम बाँकी नै रहेको र यी निर्माणको काममा पनि नगरपालिकाले सहयोग गर्नेमा आफु ढुक्क हेको उनलले बताए ।