
धादिङ । भ्यालेन्टाइन डेको सुरुवात इ।सं। २६९ मा रोमबाट सुरु भएको हो । नारीसँगको सम्बन्धका कारण सैनिक कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थियो तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरेपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्ड दिएका थिए ।
झुन्ड्याइनु केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिकालाई दिएका थिए । भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा सोही दिनलाई भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको हो ।
भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमिल मनका लागि निकै महत्त्वपूर्ण मानिन्छ । युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । रोमबाट सुरु भएर पश्चिमी देशहरू फैलिएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकै लोकप्रिय बन्दै गएको छ ।
भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङको गुलाफ आदानप्रदान हुन्छ । यसलाई प्रेम–प्रस्तावका रूपमा प्रदान गरिन्छ । फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतीक हो । रङको गुलाफ मित्रता र मुटुको धड्कनको प्रतीक मानिन्छ । भ्यालेन्टाइन डे मा गुलाफी रङको गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्की रहेको छ भन्नु हो । अर्थात् मेरो मुटु तिम्रो लागि हो ।
पहेँलो गुलाफ मित्रताको प्रतीक मानिन्छ । फ्रेण्डसीप डे अर्थात् मित्रता दिवसका दिन पहेँलो गुलाफ प्रदान गरिन्छ तर पनि हिजोआज मित्रताको प्रतीकका रूपमा भ्यालेन्टाइन डे मा पनि यसको प्रयोग हुन थालिसकेको छ । सेतो गुलाफ साँचो प्रेम र स्वच्छ हृदयले दिइन्छ । भावुकताले भरिएको सन्देश दिनमा सेतो गुलाफले महत्वपूर्ण भूमिका खेल्छ । कालो गुलाफ बिदाइको प्रतीक मानिन्छ । यदि कुनै कारणवश प्रेम सम्बन्ध जारी राख्न सम्भव छैन भने कालो गुलाफ दिएमा आफ्नो कार्य पूरा हुन्छ ।