सलाङका विशाललाई सेनाले आजैका दिन हत्या गरेको थियो (जिवनी समेत)

Avatar photo
शुसिला रिजाल
आइतवार, माघ २३, २०७८

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका स्थित सलाङका कृष्ण प्रसाद सिलवाल (विशाल) लाई माओवादी भएकै आधारमा आजैका दिन हत्या गरेको थियो

पार्टी कामको सिलसिलामा नुवाँकोट रहँदा घढी मर्मतको लागि सामारी भन्ज्याङ पुगेका विशाललाई आजैकादिन अर्थात २०६० माघ २३ गते सेनाले चरम यातना सहित गोली हानेर हत्या गरेको थियो ।

विशालको जिवनी
धादिङ जिल्ला सविकको सलाङ गाविस कुटीडाँडा ८ मा बुबा चुडामणी सिलवाल र आमा सिता सिलवालबाट वि.स. २०४० भदौ २२ गतेका आठौ सन्तान मध्ये पाँचौ सन्तानको रुपमा जन्मनु भएका कृष्ण प्रसाद सिलवाल (विशाल) को दाजु राजु, भाईहरु वासु, प्रल्हाद दिदीहरु शान्ता, कल्पना, विष्णुमाया र बहिनी भगवती छन् । विशालले कालिका देबी मावि सलाङ आरुवासमा ९ कक्षा सम्म अध्ययन गरेको पाईयो ।

विशाल असाध्यै मिहेनती र सुझबुझका साथ बोल्ने कसैले अन्याय गर्‍यो भने तत्काल प्रतिवाद गर्ने विशाल विद्रोही स्वभावका थिए ।
सानै देखि राजनितीमा चाख राख्ने विशाल विद्यार्थी जिवनमा एमालेको अनेरास्वावियुमा सकृय विशाल एमाले निकट विद्यार्थीको जिल्ला सल्लाहकार समेत बन्नुभयो । यसरी संघर्ष गर्दै अघि बढ्ने क्रममा विद्यालयमा बिरोधिले माओवादी देख्न थालेपछि असुरक्षित महसुुस गरेर विशाल कक्षा ९ मा पढ्दा पढ्दै वि.स. २०५९ साल फाल्गुन १ गतेबाट माओवादीको कार्यकर्ता बन्दै भुमिगत भएका थिए ।

पुर्णकालिन पश्चात माओवादीको विद्यार्थी संगठनमा आबद्ध भएका विशाल जिल्लाको मध्य क्षेत्रको अधिकाशं विद्यालयमा पुगी सबै विद्यार्थीलाई क्रान्तिकारी संगठनमा आबद्ध गराएको पाईन्छ । यो सँगै अखिल क्रान्तिकारीको जिल्ला सदस्यको जिम्मेवारी पाएका विशाल वि.स.२०६० सालमा नै जनमुक्तिसेनाको सेक्सन कमाण्डर बने ।

पार्टीमा एरीया कमिटी मेम्बर रहेका विशालले जनमुक्ति सेनामा रहि धादिङ नुवाकोटको तत्कालिन फौजी र गैर फौजी कार्बाहीमा प्रत्यक्ष सहभागी बनेका थिए । आन्तरिक दुर्घटनाबाट पनि बल्ल बाचेका विशाल तैपनि विचलित भएन । नुवाकोट जिल्लाको जनमुक्ति सेनामा सरुवा भएपछि महत्वपुर्ण जिम्मेवारी सहित पार्टी कै कामले सामरी पुगे त्यहाँ आउँदा सामारी भन्ज्याङ्गमा घडी बनाउन पसलमा गए । त्यहि समयमा एक्कासी सेनाले घेरा हाल्यो । विशालले ग्रिनेट चार्ज गरे तर पनि दुश्मनले छोडेन गिरफ्तार गर्‍यो । अन्तत: निर्मम यातना पश्चात वि.स. २०६० माघ २३ गते गोली हानी सेनाले हत्या गर्‍यो ।