लोक दाहालको सक्रियतामा ग्रिसमा अलपत्र दुई शव नेपाल पठाइँदै

Avatar photo
गोविन्द बुढाथोकी
मङ्लबार, माघ ११, २०७८

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सह कोषाध्यक्ष लोक प्रसाद दाहालले दुई जना नेपालीको शव ग्रिसमा अलपत्र परेको र उक्त शव नेपाल पठाउ आर्थिक सहयोग गर्न आव्हान गर्दै आफ्नो तर्फबाट ५०० यूरो सहयोग घोषण गरे सँगै त्यो शव बुधबार सम्म नेपाल आईपुग्ने भएको छ ।

दाहालको यो सक्रियता सँगै ७ हजार २०० युरो संकलन भयो र उक्त रकम ग्रिस पठाइएको छ । ‘हामीले आवश्यक रकम एजेन्सीलाई बुझाइसकेका छौं’ सहकोषाध्यक्ष दाहालले भने, ‘ ग्रिसमा अहिले अत्याधिक हिउँ परिरहेको छ । यदि उडान प्रभावित नभएमा शनिबार ग्रिसबाट उक्त शव नेपाल पठाईने छ।’

टर्कीबाट अवैध रुपमा ग्रिस जाँदा मंसिर पहिलो साता गाडी दुर्घटनामा परेर चार नेपालीको मृत्यु भएको थियो । दुर्घटनामा मृत्यु भएका आमाछोदिङमो गाउँपालिका-३ रसुवाकी २१ वर्षीया शर्मिला भनिने रमिला घले र घिरिङ गाउँपालिका-५ तनहुँका ओम भनिने उमबहादुर थापामगरका शव पठाउन आर्थिक समस्या भएपछि सहयोग अभियान सुरुगरिएको दाहालले धादिङपोष्टलाई बताए ।

टर्कीसम्म श्रम स्वीकृत लिएर आएको भन्दै अन्य दुई जनाको खर्च भने श्रमिक कल्याणकारी कोषको रकमबाट नेपाल सरकारले ब्यहोरेको थियो । भीमेश्वर नगरपालिका-६ दोलखाका ३० वर्षीय राजु लामा र गौरीगंगा नगरपालिका-४ कैलालीका ३७ वर्षीय लक्ष्मण सापकोटाको शव बुधबारसम्म नेपाल पुग्ने नेपाली राजदूतावास भियानाले जनाएको छ ।

बाँकी दुईजनाको शव नेपाल पठाउन एनआरएनएले रकम संकलन कार्यको संयोजन गर्न सहकोषाध्यक्ष दाहाललाई जिम्मेवारी दिएको थियो । बेल्जियम निवासी व्यवसायी समेत रहेका दाहालले ५०० युरो सहयोग घोषणा गर्दै रकम संकलन अभियान सुरु गरेका थिए । दाहालका अनुसार गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदबाट २ हजार डलर, एनआरएन वैदेशिक रोजगार कल्याणकारी कोषबाट २ हजार डलर, संघका सचिव गौरी जोशीमार्फत ५ सय डलर, आरके शर्मा ५ सय डलर,राज रेग्मी ५ सय डलर लगायतबाट सहयोगको प्रतिवद्वता आईसकेको छ। हालसम्म ६ हजार ९ सय २३ युरोको सहयोग प्रतिवद्वता आएको छ।

ग्रिस नेपाल सोसाइटीका संस्थापक अध्यक्ष कृष्ण पोखरेलले शव नेपाल पठाउने प्रक्रियामा समन्वय गरेका छन् । विगत २५ वर्षदेखि ग्रिसमा बस्दै आएका पोखरेललाई शव नेपाल पठाउने प्रक्रियाका सहयोग गर्न भन्दै नेपाली राजदूतावास भियनाले अख्तियारी प्रदान गरेको थियो ।