शिक्षा मन्त्रालयको बैठक बस्दै विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने निर्णय हुने

Avatar photo
Dhadingpost
सोमवार, पुस २६, २०७८

काठमाडौं । कोभिड १९ व्यवस्थापन समिति (सीसीएमसीसी) को बैठकले कोरोना नियन्त्रणका लागि देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरे सँगै विद्यालय बन्द गर्ने कि नगर्ने विषयमा शिक्षा मन्त्रालयले आज निर्णय गर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिडबारे बिफ्रिङको तेस्रो दिन बसेको सिसिएमसिसीको बैठकको १३ बुँदे निर्णयअनुसार थप निर्णय गर्न आज सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठक बस्न लागेको हो ।

सिसिएमसिसीकै निर्णयका आधारमा विद्यालय बन्द गर्ने वा थप केही सूचना जारी गर्नेबारे आज विस्तृत छलफल गरेर निर्णय गरिने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

जनस्वास्वास्थ्यविदहरूको राय अनुसार आइतबार मात्र कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।