राष्ट्रियसभामा ४३ जनाको उम्मेदवारी, प्रदेश १ बाहेक अन्त गठबन्धन बलियो

Avatar photo
Dhadingpost
बुधबार, पुस २१, २०७८

काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका सत्ता गठबन्धनका पाँचसहित नौ वटा दलले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा लगायतका दल छन् ।

यसैगरी प्रमुख प्रतिपक्षी दल एमाले सहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी छन् । प्रवक्ता पौडेलका अनुसार नौ दलबाट ४३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रदेश १, २ र वागमतीमा त्रिपक्षीय प्रतिस्पर्धा छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा द्वीपक्षीय । राष्ट्रिय सभाको चुनावमा प्रदेश सांसद, तहका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । प्रदेशसभा सदस्यको मतको ४८ मतभार हुन्छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखको १८ हुन्छ ।

चार बर्षे कार्यकाल सकिएर अहिले चुनाव हुन लागेका १९ मध्ये ८ वटा एमाले तर्फको सिट हो । सरकारमा सहभागी सबै दलबीच भागवण्डा गरेर उम्मेदवारी दिएको गठबन्धन सबै १९ सिटमा क्वीनस्वीप गर्न चाहन्छ । मतभार हेर्दा प्रदेश १ मा बाहेक अन्यत्र गठबन्धनको जित सुनिश्चितजस्तै छ । तर प्रदेश १ मा भने एमाले र राप्रपाबीच गठबन्धन भए सत्तारुढ गठबन्धनका उम्मेदवार अप्ठ्यारोमा पर्न सक्छन् ।

प्रदेश १ मा एमाले– राप्रपा समीकरणको प्रयास : ३ सदस्यका लागि निर्वाचनमा महिलातर्फ गठबन्धनबाट एकीकृत समाजवादीकी जयन्ती देवी राई, एमालेकी सुमित्रा सुवेदी भण्डारी र राप्रपाकी रञ्जु प्याकुरेल उम्मेदवार छिन् ।

अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ गठबन्धनबाट जसपाका हेमराज राई र एमालेका सोनाम गेल्जेङ शेर्पा तथा अन्यतर्फ गठबन्धनबाट कांग्रेसका गोपालकुमार बस्नेत, एमालेका गुरु बराल र राप्रपाका अमरबहादुर विष्ट उम्मेदवार छन् ।

प्रदेशमा जम्मा मतभार ९ हजार ३४८ छ । ५० प्रदेश सांसद र १२६ पालिका प्रमुख/उपप्रमुख गठबन्धनमा आवद्ध भएका दलहरुसँग भएकाले उनीहरुसँग ४ हजार ६६८ मतभार छ । ४१ प्रदेश सांसद र १४२ प्रमुख/उपप्रमुख रहेको एमालेसँग ४ हजार ५२४ मतभार छ । राप्रपासँग १२० मतभार छ ।

सत्तारुढ गठबन्धनसँग मतभारको अन्तर निकै कम भएकाले एमालेले यो प्रदेशमा जितको आश राखेको छ । तर त्यसका लागि एमालेले राप्रपासँग गठबन्धन गर्नुका साथै सत्ता गठबन्धनका केही मतदातालाई प्रभावमा पार्नुपर्ने हुन्छ ।

तीन प्रदेशमा त्रिपक्षीय भिडन्त, बाँकीमा दुई पक्षीय : प्रदेश २ मा महिला र अन्यतर्फ सत्ता गठबन्धन, एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को उम्मेदवारी परेको छ ।

महिलातर्फ गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याल, एमालेकी विना देवी र लोसपाकी रुपाकुमारी यादवले उम्मेदवारी दर्ता गरेकी छन् । अन्यतर्फ गठबन्धनबाट जसपाका मोहमद खालिद र एमालेका उसमान अन्सारी उम्मेदवार छन् । लोसपाले अन्यतर्फ श्यामसुन्दर सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेपनि उनी उम्मेदवारी दिन गएनन् ।

प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधि हेर्दा जम्मा मतभार ९ हजार ८८८ रहेको प्रदेश २ मा सत्ता गठबन्धनका उम्मेदवारको जित सुनिश्चित देखिन्छ । सत्ता गठबन्धनको मतभार ७२५४ छ भने लोसपाको १५६० र एमालेको मतभार ९४२ छ ।

बागमती प्रदेशमा पनि त्रिपक्षीय प्रतिस्पर्धा छ, तर सत्तारुढ गठबन्धनको जित सुनिश्चित देखिन्छ । महिलातर्फ सत्तारुढ गठबन्धनबाट एकीकृ समाजवादीकी गोमादेवी तिमिल्सिना, एमालेकी निरकुमारी कुँवर र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की गीता काफ्ले उम्मेदवार छन् । अन्यतर्फ गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद पौडेल, एमालेका गोपाल शाक्य र नेमकिपाका कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

९ हजार ५१६ मतभार रहेको वागमतीमा गठबन्धनको ४ हजार ९५६ मतभार छ । प्रदेशमा एमालेको ४ हजार १५२ र नेमकिपाको १३२ मतभार छ । यस्तै गण्डकी प्रदेशमा सत्ता गठबन्धन र एमालेका उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।

महिला, दलित अन्यतर्फ तीन सदस्यका लागि निर्वाचन हुँदैछ । महिलातर्फ गठबन्धनबाट कांग्रेसकी कमला पन्त र एमालेकी लिाल पोखरेल थनेत उम्मेदवार छिन् । दलिततर्फ गठबन्धनबाट माओवादी केन्द्रका भुवन सुनार र एमालेबाट अर्जुनकुमार सुनाम तथा अन्यतर्फ गठबन्धनबाट माओवादीका सुरेश आले मगर र एमालेबाट पूण्यप्रसाद पौड्यालले उम्मेदवारी दर्ता गराएका छन् ।

जम्मा मतभार ५ हजार ८९२ मतभार रहेको गण्डकी प्रदेशमा सत्ता गठबन्धनको ३ हजार २३४ मतभार छ । एमालेको २ हजार ५३८ मतभार छ । यस्तै, लुम्बिनी प्रदेशमा पनि महिला, दलित र अन्यतर्फ हुने निर्वाचनमा द्धिपक्षीय प्रतिस्पर्धा छ ।

महिलामा गठबन्धनबाट एकीकृत समाजवादीका राजेन्द्रलक्ष्मी गैरे र एमालेबाट भारती उपाध्याय खनाल, दलिततर्फ गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा र एमालेबाट कृष्ण सुनार तथा अन्यतर्फ गठबन्धनबाट कांग्रेसका युवराज शर्मा र एमालेबाट रामदयाल गुप्ताले उम्मेदवारी दिएका छन् ।

३८८८ मतभार रहेको यो प्रदेशमा पनि सत्तागठबन्धन सहज अवस्थामा छ । गठबन्धनसँग ४ हजार ३१४ मतभार छ भने एमालेको ३ हजार २३४ मतभार छ ।

कर्णाली प्रदेशमा महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्यतर्फ हुने निर्वाचनमा द्धिपक्षीय प्रतिस्पर्धा छ । महिलातर्फ गठबन्धनबाट कांग्रेसकी दुर्गा गुरुङ र एमालेकी गंगा थापा महत, अपाङ्गता वा अल्पसंख्यकतर्फ गठबन्धनबाट माओवादीका नरबहादुर विष्ट र एमालेबाट पदमबहादुर माझी उम्मेदवार बन्दा अन्यतर्फ गठबन्धनले एकीकृत समाजवादीका उदयबहादुर बोहोरा र एमालेले चुडामणि शर्मालाई उम्मेदवार बनाएको छ ।

यो प्रदेशमा जम्मा मतभार ४ हजार ५२४ हो । २ हजार ८९८ मतभार भएको गठबन्धनको जित सुनिश्चित जस्तै छ । एमालेको १ हजार १३४ मतभार छ ।

सुदुरपश्चिम प्रदेशमा महिला, दलित र अन्यतर्फ चुनाव हुनेछ र सत्तारुढ गठबन्धन र एमाले प्रतिस्पर्धामा छन् । महिलातर्फ एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा) र एमालेकी सन्तोषकुमारी शर्मा (थापा), दलिततर्फ माओवादी केन्द्का जगतबहादुर पार्की र एमालेका नरेशकुमार विश्वकर्मा तथा अन्यतर्फ कांग्रेसका नारायण दत्त मिश्र र एमालेका डिल्लीराज भट्ट उम्मेदवार छन् ।

जम्मा मतभार ५ हजार ६६४ रहेको यो प्रदेशमा पनि गठबन्धन सहज जित हात पार्ने अवस्थामा छ । उसको ३ हजार ७८० मतभार छ भने एमालेको १ हजार ७८८ मतभार मात्र ।