
काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले फेरि वर्षा तथा हिमपात हुने मौसमविदको अनुमान गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै चिसो बढ्ने र हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्न सक्ने भएकाले शनिबार सम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु वासीका अनुसार सुदूरपश्चिम क्षेत्रमा अहिले यसको सामान्य प्रभाव देखिइसकेको छ । अहिले सो क्षेत्रमा बादल लागेको छ । सुदूरपश्चिममा बुधबारदेखि पानी पर्न सुरु गर्ने छ ।
बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरूमा पनि हल्का हिमपातको सम्भावना छ । काठमाडौं उपत्यकामा मंगलबार र बुधबार कम तथा बिहीबार, शुक्रबार र शनिबार बढी प्रभाव पर्ने मौसमविद मञ्जु वासीले बताइन् ।
