माओवादीको निर्वाचन प्रक्रिया आजै सुरु हुने, १५ पदाधिकारीको प्रस्ताव

Avatar photo
Dhadingpost
पुस १७, २०७८

काठमाडौं । माओवादी केन्द्रको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन जारी छ । ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित बाँकी रहेकोले आज मस्यौदा पारित भए सँगै निर्वाचन प्रक्रिया अगाडी बढ्ने बताईएको छ ।

माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ । माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ ।

अध्यक्षमा प्रचण्ड निर्विकल्प देखिएका छन् भने वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ । महासचिवमा पनि विभिन्न नेताहरूले दाबी गरेका छन् । यस्तै, दुई उपमहासचिव, सचिव र कोषाध्यक्षसमेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ ।

विधान पारित भएपछि निर्वाचनको काम अगाडि बढ्ने निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार विधान पारित भएपछि निर्वाचनको प्रक्रिया सुरु हुन्छ । माओवादीको केन्द्रीय प्रचार तथा प्रकाशन समितिका अनुसार त्यसअघि निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ, केन्द्रीय अनुशासन आयोगका प्रमुख टङ्क राई र केन्द्रीय लेखा आयोगका प्रमुख पेशल खतिवडाले आयोगका प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमा प्रस्तुत ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ दिए ।