नुवाकोट र सुन्दरादेवीको स्मरण

Avatar photo
Dhadingpost
सोमवार, पुस १२, २०७८

राम बहादुर सिंखडा, चितवन
तत्कालिनसुन्दरादेवी गाविस (तामे, हाल तादी गाउँपालिका अन्तर्गत) मा २०५३ साल जेठ १३ गते गाविस सचिवको रूपमा स्थायी जागिर प्रारम्भ गरेको २०७८ जेठ १३ गतेबाट २५ वसन्त पार गरिसकेछ ।
विदुरदेखि बट्टार, ढिकुरे हुँदै आंपरहसम्म बस सेवा चालु भई सात विसे हुँदै समुद्रटार, शिखरबेशीसम्मको बाँकी कामको रेखांकन कोरिएर धमाधम सडक निर्माणको काम हुँदै थियो ।
आँपरहबाट सातविसेसम्म तेर्सो तेर्सो एक डेढ घण्टाको पैदल हिँडेपछि गन्तव्य (सुन्दरादेवी, तामे) जानेतिर थोरै उकालो चढ्नु पर्थ्यो ।

उकालो चढिसकेपछि चौतारीमा बसेर चिसो हावाका साथ थकाई मार्दा कम आनन्द आउँदैन्थ्यो । आजकल सातविसे हुँदै तामे भएर वाघमारा र समुद्रटार भएर सिखरबेशीसम्मै यातायातको सुविधा पुगेको रहेछ ।
आजकल वाघमारामा आन्तरिक पर्यटकको बाक्लै उपस्थिति देखिने गरेको छ । यही ठाउँ भएर गोसाइँकुण्ड पनि जान सकिने रहेछ । चामलको लागि नेपालकै प्रसिद्ध ठाउँ शिकरबेसीमा खाना खाएको कहिलेकाहीँ सम्झना आउँदा अहिले पनि जिब्रो रसाई रहन्छ ।

गाविसको कार्यसञ्चालन उपाध्यक्षको घरमा बसेर तमाम गर्नुपर्ने अवस्था थियो। टेबल कुर्चीहरू थिएनन् ।
ओछ्याएको सुकुलमाथि पलेंटी कसेर काम गर्नु पर्दा घुँडा र ढाडलाई उस्तै तक्लिफ हुन्थ्यो ।
सबै कागजात भगवान भरोसाको भरमा थन्क्याउनुपर्ने अवस्था थियो । भर्खरै भर्खरै गाविस कोषमा ५ लाख निकासा हुने क्रम चलिरहेको हुँदा लाभग्राहीको बाक्लै उपस्थिति र कागजातको आयतन बढ्दै जाँदा कार्यालय सञ्चालनको हिसाबले चिन्ताको विषय पनि उसैगरी थपिँदै थियो ।

ग्रामीण तहमा खाने बस्नेको समस्या उस्तै थियो। भाग्यवश एक जना आचार्य थरका पण्डितकहाँ सुव्यवस्थित रूपमा खानपानको व्यवस्था मिल्यो । मेरो लगभग २२ महिनाको त्यहाँको बसाइ खानपान र बस्ने व्यवस्थाको लागि थप तनाव बोक्नु पर्ने अवस्था रहेन।

सदरमुकाम विदुर हुँदै बट्टारबाट आँपरहसम्म बस चले पनि बसको यात्राभन्दा पैदल यात्रा सुविधा लाग्थ्यो । कोचाकोच यात्रु, बाटोको दुरावस्थाबाट गुज्रिँदै गन्तव्यमा पुगेर ओर्लंदा गर्मी मौसममा त झन् कालको मुखबाट फुत्किएजस्तो लाग्थ्यो । त्यसैले रूख बुट्यानहरूको छेल पर्दै चिसो हावासँगै बहेली खेल्दै खोल्सीबाट झरेका कञ्चन पानी अञ्जुली थापेर पिउँदै लगभग ४ घण्टामा वट्टार, ढिकुरे, आँपरहदेखि सात विसेसम्मको यात्रा धेरैजसो हिँडेरै तय गरिन्थ्यो ।

ढिकुरे र आँपरह बजार थकाई मार्ने र भोक मेट्ने स्टेशन जस्तै थियो । सदरमुकाम विदुर गएर सातविसे फर्कंदा धेरैपटक आपरहमा बास बसाइको क्रममा मीठो अनुभूति संगालेको छु ।
मेरा लागि अहिले पनि पैदल यात्राको त्यो दिन अविस्मरणीय रूपमा रहिरहेको छ । कामको सिलसिलामा सदरमुकाम विदुर आएको बेला म लगायत अरू कर्मचारी साथीहरू मौका छोपी घरतिर जाने चाँजोपाजो मिलाउँथ्यौं।

बिहानै ५ बजे नै नुवाकोटको विदुरबाट देवीघाट हुँदै त्रिशूलीको किनारै किनार पृथ्वी राजमार्गको गल्छी पक्डन्थ्यौं । त्यतिखेर गल्छी–देवीघाटको ग्रामीण सडक बन्ने क्रम चलिरहेको थियो ।

झण्डै २० किमि धुलेबाटोमा बीच–बीचमा आराम गर्दै सडक छेउछाउका पसलमा मकै, भटमास र मोहीले भोक र प्यास हटाउँदै झण्डै चार घण्टाको निरन्तर यात्रामा गल्छी पुगेर थकाइ मार्थ्यौं । गल्छीमा त्यतिखेर पुरानै शैलीका घरहरू राजमार्ग आसपासमा कतै–कतै देखिन्थे ।

त्रिशूलीको माछा सहितको स्वादिष्ट भोजन लिएर एक घण्टाको विश्रामपछि गल्छीबाट आ–आफ्नो गन्तव्यतिर लागिन्थ्यो ।
यातायातको असुविधाले गन्तव्यसम्म पुग्न असहज बनाए पनि गाउँको वातावरण भने रमाइलो थियो ।
हरिया वनपाखा, स्वच्छ हावा, कलकलाउँदो पानी, देउरालीको चिसो बतासमा सुसाउँथे सालका पातहरू उसैगरी लहलह परेका मौसम अनुसारका बाली । उत्पादन राम्रै लाग्थ्यो ।

तत्कालीन सुन्दरादेवी गाविसको ९ वडामध्ये वडा नं. ७,८,९ मा तामाङहरूको बाहुल्यता थियो । ती वडामा भएका बासिन्दासँग आत्मीयता घनिष्ठ थियो ।
कर्मचारीको रूपमा भन्दा पनि सहयोगी र सेवकको रूपमा प्रस्तुत हुँदै गएँ ।
पार्टीका जनप्रतिनिधिबीच रहेर काम गर्दा रमाइलो अनुभूति पाएँ । गाविसको नियमित कामले नै व्यस्त थिएँ।
लेखापाल पदमा लिखित परीक्षाको जाँच दिएको लगभग नतिजा निस्कने समय भैसकेको थियो । बुधबारको गोरखापत्रमा ध्यान पुर्याए पनि नियमितता थिएन ।
गाउँमा बसेर पत्रिकाको नियमितता पनि कसरी सम्भव हुन्थ्यो र । त्यसैले आफ्नो नतिजाप्रति मनमनै पिरली राखेको थिएँ।

एकदिन अपरान्हतिर अचानक सोही गाविसको चिरपरिचित व्यक्तिको हातमार्फत् काठमाडौं घर भएका मेरा मित्रले खामबन्दी गरेर पठाएको चिठी हात पर्यो । एकान्तमा खोलेर हेरें ।

त्यो चिठीमा छोटकरीमा यति मात्र लेखिएको थियो, लिखित परीक्षा उत्तीर्ण गरेकोमा बधाई, अन्तर्वार्ता यति गते…अर्थात् त्यो चिठी पाएको पर्सिपल्ट अन्तर्वार्ता तोकिएको रहेछ । हर्षको सीमा रहेन । साथीको त्यो पवित्र कार्यलाई मुरी–मुरी धन्यवाद दिएँ ।
सबै देवी देवता सम्झिएँ । दुःखमा मात्र ईश्वर सम्झिन्छन् भन्थे मान्छे सुखको यो क्षणमा आज म ईश्वरप्रति धेरै भरोसा गरें जस्तो लाग्यो ।

बालाई विशेष कामले काठमाडौं जान लागेको बताएँ ।
अन्तर्वार्तामा प्रस्तुत गरिने प्रमाणपत्र लगायत आवश्यक कागजात र सहयोगी एक दुई ओटा हल्का किताब झोलामा राखें।
बिहान हतारमा बिर्सन सकिने भएकोले आवश्यक सामान सम्झी सम्झी जतन साथ राखें ।
बिहान ५ बजे नै झोला बोकेर लागे गन्तव्यतिर ।

बस चल्ने ठाउँ आपरहसम्म पुग्न घरदेखि झण्डै १ घण्टा लाग्थ्यो । पँधेर्नीहरू धारामा पानी थाप्न हिँडेकोबाहेक बाटोमा पूरै सन्नाटा थियो ।

संक्रमणकालीन अवस्थाले खेतबारीमा राखिएका बुख्याँचाले पनि बेला–बेलामा आँखालाई धोका दिएको हुन्थ्यो।
आकाश खुला भएकोले मेरो शिरमा शित तपतप खसिरहेको थियो । मेरो संघर्षका कथा पढेर होला, मेरो यो जोखिमपूर्ण यात्रामा यसरी आँसु झारिरहेकी ।
आँपरह नपुगुन्जेलसम्म मेरा तर्कनाहरू पद मार्गमा विद्युतीय तरंगझैं दौडिरहे ।
७ बजे बसमा चढेपछि भने हरियाली फाँटतिर पोखिएको सूर्यको पहेंलपुर किरणले थोरै आशा जगायो । यसले आफूलाई अलि हल्का बनाएको महसुस गरें ।
अन्तर्वार्तामा समय तालिका बमोजिम नै उपस्थित भै शिष्टताका साथ आफ्नो परिचय दिएँ ।
पहिलो पटक चितवन महोत्सव हुँदा चितवन सम्बन्धी लेखिएको किताब सोहीबेला महत्वपूर्ण लागेर खरिद गरी सुरक्षित राखेको थिएँ ।
सो किताब चितवनसँग सम्बन्धित इतिहास, संस्कृति, परम्परा र प्राकृतिक सम्पदासँग सम्बन्धित भएकोले र यस जिल्लाको बासिन्दा भएको नाताले पनि खुब चाख मानी मानी पढिन्थ्यो । चितवनको विषयवस्तुमा प्रश्नकर्ता केन्द्रित हुँदा ‘कानोलाई आँखा पाए’ जस्तो भयो।

विषयवस्तु प्रति पूर्ण विश्वस्त भएर प्रस्तुत हुन पाउँदा नतिजा सुखद हुने कुरामा आत्मविश्वास जागेर आयो ।
साविकझैं काममा फर्किएँ । नतिजाको प्रतीक्षामा रहें । जतिसुकै राम्रो गरे पनि परिणाम नआउँदासम्मको अवस्था भने धुकचुकमै बिताउनु पर्दोरहेछ । अन्तर्वार्ताको नतिजा निस्कन धेरै समय नलाग्ने हुँदा २ हप्ताको समयलाई निकै चियो चर्चो गर्न थालें ।

सदाझैं दिनभरिको कामले थकित भएर बास स्थानतिर फर्कंदै थिएँ । घाम अस्ताउँदै थियो ।
नतिजाको सुखद खबर पाएपछि भने जिन्दगीको अर्को घाम पूर्वतिरबाट तत्कालै उदाएजस्तो भयो । नतिजाको सुखद परिणाम हात लाग्दा भुइँमै खुट्टै रहेन ।

मेरा हर्षका आँसु तप्प भुइँमा खसे । परिवार, साथी भाइबीच पृथक भएर बस्नु पर्दा खड्किएको
अभावबीच पनि कत्रो आनन्द । वसन्त ऋतुको समय थियो ।
मैले आफूभित्रै ढकमक्क गुराँस फुलेको अनुभूति गरें । अन्तर्वार्तामा कथमकदाचित अनुपस्थित हुन गएको भए फेरि त्यो खुसीयाली यसै गरी छाउन निकै संघर्षमा मेरा भावी दिनहरू निरासाका घडीमा फनफनी घुमिरहेकै हुन्थे होलान् ।
लिखित परीक्षाको नतिजाको जानकारी दिने मेरा मित्रप्रति आज पनि उतिकै आभारी छु ।
कार्यालय जाँदा आउँदा बीच बाटोमा पर्ने सुन्दरादेवीसँग सुखद नतिजाको कामना गर्दै गन्तव्यतिर लागिन्थ्यो । मेरो कामना पूरा हुन गएकोमा धन्य–धन्य छ, सुन्दरादेवी तिमीलाई पनि।
जहाँ पढ्नको लागि अनुकूल वातावरण नै थिएन । जिन्दगी भनेकै असम्भव कुरालाई सम्भव बनाउँदै आफ्नो बाटो आफैंले पहिल्याउँदै जानुपर्दो रहेछ ।

गाविसमा ५ लाख रुपैयाँको हिसाब किताब राख्न म एक जनालाई भ्याइनभ्याइ थियो । नियमित कामको अघि पछि समयलाई सदुपयोग गर्दै विचलित नभई बडो कठिनका साथ अध्ययनलाई निरन्तरता दिइरहेको थिएँ । मसँगै नियुक्ति भएका साथीहरू सरूवा भएर लगभग सबै गइसकेको अवस्था थियो । मेरो पदस्थापना काठमाडौंस्थित रक्षा लेखा नियन्त्रक कार्यालय सुन्धारामा हुने भयो । सरूवाभन्दा पदोन्नति भएर स्थानान्तरण हुँदाको क्षणको छुट्टै रमाइलो अनुभूति हुने रहेछ।
मेरो सफलताले मलाई नै यो गाउँबाट बिदा दिँदै थियो ।
बसन्तले बिदाइ गरेपछि गुराँसका थुंगाहरू पाखा लागेजस्तै लाग्ने भएँ म पनि ।
लगभग २ वर्षदेखि पाइला टेकेको यो गाउँ, समाजमा हुर्किएको सम्बन्ध रूपी चमेलीको वृक्षबाट आत्मीयता रूपि सुगन्धको त्यो वास्नामा सर्पले नागमणी च्यापेजस्तै गरी अझै च्यापेर बसिरहुँजस्तो लाग्यो । सम्बन्ध जतिसुकै प्रगाढ बने पनि नदीले मुहान छोडेजस्तै गरिछाड्नु पर्ने हाम्रो दिनचर्या पनि यस्तै(यस्तै रहेछ ।
आँखामा अटाउन नसकेको त्यो चित्र जनम जनम नबिर्सने गरी मनमा संगालेर राकाबखें । मेरो नुवाकोट, मेरो सुन्दरादेवी ।
नेपालको भूगोलमा सधैं सुन्दर भएर फूल फुलिरहेको सुन्न, देख्न पाइरहूँ ।