
काठमाडौं । नेपाली कांग्रेसको उप सभापति पदमा सभापति शेरबहादुर देउवा प्यानलका पूर्णबहादुर खड्का र शेखर कोइराला प्यानलका धनराज गुरुङ विजयी भए सँगै देउवा समुहका विजय गच्छदारले २ मतले उप सभापति हारेका छन् ।
सात प्रतिस्पर्धी मध्य खड्काले सबैभन्दा धेरै २१ सय २१ मत रगुरुङले १९ सय ८ मत पाउँदै विजय भएका हुन् भने गच्छदारले १९ सय ६ मत पाएका थिए ।
सभापतिबाहेकका पदमा प्रतिस्पर्धीबीच धेरै मत ल्याउने उम्मेदवार विजयी हुने व्यवस्था कांग्रेस विधानमा छ । कोइराला प्यानलका चन्द्र भण्डारीले १५ सय ८० मत पाएका छन् । त्यस्तै, प्रकाशमान सिंह प्यानलबाट उम्मेदवारी दिएकी सुजाता कोइरालाले ६४४, स्वतन्त्र उम्मेदवार महेश आचार्यले ५८९ र विमलेन्द्र निधि प्यानलकी दिव्येश्वरी शाहले १३२ मत ल्याएको निर्वाचन समितिका सदस्य सीताराम केसीले जानकारी दिए ।
कूल ४७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये उपसभापतिका लागि ४६ सय ७३ ले मतदान गरेका थिए । त्यसमध्ये ५५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । बुधबार दिउँसो साढे ६ बजेदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको मतगणनाको नतिजा राति २ बजे सार्वजनिक गरिएको थियो ।
