माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा प्रतिनिधी यसरी चुनिन्छन्

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर २१, २०७८

काठमाडौं मंसिर २१ । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनमा १५ सय प्रतिनिधि मात्रै सहभागी हुने भएका छन् । काठमाडौंको प्रज्ञा भवन कमलादीमा हुने राष्ट्रिय सम्मेलनमा माओवादी केन्द्रले जनप्रर्दशन भने नगर्ने निर्णय लिएको छ । पुस ११–१३ सम्म माओवादीको राष्ट्रिय सम्मेलन हुन लागेको हो । सम्मेलनको लागि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अहिले राजनीतिक दस्तावेज लेखनको तयारीमा जुटेका छन् ।

सम्मेलनमा कति हुन्छन् सहभागी ?
केन्द्रीय पदाधिकारीबाट करिब ५ सय जना राष्ट्रिय सम्मेलनमा सहभागी हुन्छन् । केन्द्रीय सदस्य र केन्द्रीय सल्लाहकारबाट सबै र केन्द्रीय विभागबाट तीन तीन जनाका दरले ५० सय जना प्रतिनिधि हुने छन् ।

त्यस्तै केन्द्रीय कमिटीले मनोनित गर्ने केन्द्रीय प्रतिनिधि ५ प्रतिशत राष्ट्रिय सम्मेलनका प्रतिनिधि हुने छन् । गत स्थायी समितिले यसै भित्रबाट रहने गरी अखिल क्रान्तिकारीका पूर्व विद्यार्थी नेताहरुसहित १३ जनालाई केन्द्रीय प्रतिनिधिका रुपमा चयन गरिसकेको छ । थप प्रतिनिधि अब बस्ने स्थायी कमिटीले टुंग्याउने बताइएको छ ।

यस आलावा राष्ट्रिय सम्मेलनका लागि प्रत्येक प्रदेशबाट ३० जनाका दरले प्रतिनिधि छनोट हुने छन् । त्यसमध्ये प्रत्येक प्रदेशले कम्तीमा १ जना घाइते-अपांगहरूलाई राष्ट्रिय सम्मेलनको प्रतिनिधि अनिवार्य चयन गर्नुपर्ने सर्कुलर अध्यक्ष प्रचण्डले १७ मंसिरमै पार्टीका मातहात कमिटीलाई पठाइसकेका छन् ।

‘भूगोलबाट निर्वाचित भएर ८ सय र केन्द्रीय पदाधिकारीबाट करिब ५ सय (केन्द्रीय सदस्य र केन्द्रीय सल्लाहकारबाट सबै र केन्द्रीय विभागबाट ३-३) जना राष्ट्रिय सम्मेलनका प्रतिनिधि हुनेछन्, त्यसबाहेक केन्द्रीय कार्यालयले ५ प्रतिशत मनोनित गरी बढीमा १ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन्,’ स्थायी कमिटीका एक सदस्यले भने ।

खान बस्न आफ्नै खर्चमा, प्रवेश शुल्क २ हजार
माओवादीले राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधिहरुलाई खान र बस्नको व्यवस्थापन आफैले गर्नु पर्ने बताएको छ । पार्टीले कुनै पनि प्रतिनिधिलाई खान बस्नको व्यवस्था नगर्ने माओवादीले सर्कुलरमार्फत जनाइसकेको छ ।

प्रतिनिधिहरुलाई राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि प्रति प्रतिनिधि शुल्क २ हजार रुपैयाँ तोकिएको छ । २ हजार रुपैयाँ बुझाएपछि मात्रै प्रतिनिधिले बन्दशत्र हलभित्र प्रवेश पाउने छन् ।

यसबाहेक केन्द्रीय कार्यालयमा बुझाउनु पर्ने लेबी, सदस्यता नवीकरण शुल्क र राष्ट्रिय सम्मेलनका लागि निर्वाचित प्रतिनिधिको नामावली मंसिर २९ सम्म केन्द्रीय कार्यालयमा पठाउन प्रचण्डले मातहात कमिटीलाई सर्कुलर गरिसकेका छन् । माओवादीले मंसिर २५ मा सबै प्रदेशको प्रदेश सम्मेलन एकैपटक गर्दै छ ।

विभिन्न तयारी समिति गठन
राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने विधानको आवश्यक परिमार्जन गर्न देव गुरुङको संयोजकत्वमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृका यादव रहेको समिति गठन गरेको छ । समसामयिक प्रस्ताव तयार पार्न गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत र गणेश साह रहेको समिति गठन गरेको छ ।

व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा डिलाराम आचार्य, नारायण दाहाल, सत्या पहाडी, लेखनाथ न्यौपाने, श्रीराम ढकाल, रामप्रसाद सापकोटा, जगत सिंखडा रहेको व्यवस्थापन समिति गठन भएको छ । त्यस्तै, कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन गरेको छ ।