हामी मध्ये सबैसँग सबैथोक नहुन सक्छ , तर भएका चीजहरुको पहिचान गर्न नसक्दा समग्रतामा हामी पछि पर्दै आएको चाहिँ सत्य हो । भँगेराको टाउको जत्रो छाती लिएर देश त बन्दैन बन्दैन हामी आ-आफनै वरपर रहेका सम्पदा, सम्भावनाहरुलाई समेत पहिचान गर्न असमर्थ रहन्छौं ।
हामी सबैले अलिअलि रिस, राग, द्वेष, इर्श्या, घमण्ड जस्ता तुच्छ कुराहरुलाई कम गर्ने हो भने बल्ल हाम्रा वरिपरिका सम्भावनाहरु हाम्रो मानसपटलमा आउन अनि अटाउन सक्छ । संसारमा जे आजको दिनमा सम्भव भएको छ त्यो हरेक असल प्रतिभाको सोचको उपज नै हो, त्यसैले हामी अलिकति सामान्य दैनिकी बाट माथि उठेर खुल्ला भावले छलफल अनि सहकार्यमा जान सक्यौँ र आग्रह -पूर्वाग्रह लाई त्यागेर काम गर्न सक्यौँ भने हाम्रो आफ्नै सुदुर भविष्यको सुखद अवस्था अनि सन्तान दर-सन्तान सम्मलाई केहि छाडेर जान सक्ने हुनसक्छौं ।
अन्यथा विविध स्वार्थहरुमा रुमलिँदै औसत जिन्दगी व्यतित गर्ने, अरुको कुरा काटेरै समय बर्बाद पार्ने कार्यमा सिमित हुनसक्छ । हामी यस अघिका पुस्ताले भोग्नु परेको दु:ख अनि भोकमरी जस्ता कालजयी समस्या हरुबाट धेरै हद सम्म मुक्त भएका छौं जुन असाध्यै महत्वपूर्ण अवसर हो हामीहरुकालागी, हामी मध्ये धेरै दाजुभाई दिदीबहिनीहरु देश एवं विदेशका विभिन्न भू-भागहरुमा भ्रमण गरि त्यहाँको सभ्यता, जीवनशैली, र रहनसहन का बारेमा परिचित हुने अवसर पाएका छौँ ।
अब रह्यो आ-आफ्नो टोल समाज, गाउँघर, पाखा पखेरा, हिमाल पहाड लाई स्वच्छ, सफा, हराभरा अथवा भनौं सुगन्धित फूलबारी बनाउनको सट्टा दिनानुदिन हाम्रै गाउँघरको पर्यावरणको खस्कँदो स्थिति देखेर लज्जित हुनुपर्ने अवस्था सिर्जना हुँदै छ । हामी शिक्षित तर असभ्य बन्दै गइराखेका छौँ । बजारिया फोहोर र प्लास्टिक यत्रतत्र छरप्रस्ट फ्याँकिनुले हाम्रो कुरुपता अनि दरिद्रताले हामीलाई नै गिज्याइरहेको छ ।
हामीले भू-स्वर्ग मध्येको एक पवित्र गंगाजमुना गणेश पर्वतको काखमा शदियौंदेखि जन्मने, फल्ने, फुल्ने र बस्ने सौभाग्य प्राप्त गर्यौं तर धेरै कम मानिसमा मात्र यहाँको मर्म र सम्भावनाको बारेमा चासो हुनु चिन्ताको विषय हो । हालैको दिनहरुमा देखिएको उत्साहपूर्ण जनसहभागीता सहितको गंगाजमुना मेलाले थप चर्चा बटुलेको छ । आन्तरिक रुपमा भएको यस खालको उपस्थितीहरुले भोलिका दिनमा गर्व गर्न लायक अन्य कार्यहरु गर्ने गराउने निर्णय लिन मद्धत अवस्य गर्नेछ ।
राजधानी सँगै जोडिएको जिल्लामा अवस्थित भएर पनि भौगोलिक विकटता र आवश्यक पूर्वाधार अभावका कारण हाम्रो यस पवित्र तिर्थस्थल ठुलो संख्यामा आउन सक्ने धार्मिक पर्यटकहरुबाट वन्चित नै भईरह्यो । रहस्यमही जुम्ल्याहा झरना, पर्वतको मध्येभागमा रहेको प्राकृतिक एवं दैवी शक्ति ले पुर्ण भएको पथ्थर कुण्ड, कुकुर धारा लगाएतका यस्ता ठाउँको परिपक्व ढङ्गले प्रचार प्रसार हुन नसक्नु अनि अत्यन्तै भद्धा जस्तो लाग्ने गरिकन मूल संरचनालाई नै छाँयामा पार्ने गरि आधुनिक संरचना र मुर्तिहरु जथाभावी राखिनु दु:ख लाग्दो कुरा हो ।
हाम्रो भूगोल नै एक तान्त्रिक शरीरको रुपमा रहेको कुरा विभिन्न अध्यात्मिक गुरुहरुले भन्दै अनि स्वीकार्दै आउनुभएको छ । शिव र शक्तिको यस पुण्य भुमिमा लाखौँ करोडौं मानिसहरुका लागि एक पटक यस जीवन कालमा पुग्नै पर्ने केहि महत्वपूर्ण ठाउंहरु मध्ये हाम्रा भूगोलमा रहेका पवित्र ठाउंहरु हुनु गर्व अनि असिम सम्भावनाको विषय हुँदाहुँदै उही कर्मकाण्डी तरिकामै भुलिरहने, अलमलिरहने हाम्रो आदतका कारण यस्ता भू-स्वर्गहरु पछि नै परिरहने छन् । पशुपतिनाथ, गोसाईकुण्ड, गंगाजमुना, गणेश पर्वत, मुक्तिनाथ हुँदै कैलाश सम्मको भूगोल एउटै अध्यात्मिक शरीर हो । यस्तो कुरा अरु देशमा भएको भए यसको चौतर्फी विकास सँगै धप्पक्क बलिसकेको हुने थियो तर हाम्रोमा नजिकको तिर्थ हेलाँ भने जस्तो भैरहेको छ र हामी नाभीमा विणा बोकेर यत्रतत्र भौंतारिरहेका छौँ ।
धादिङ्ग जिल्ला एवं समग्र पर्यटन क्षेत्रका अग्रज मध्येका एक आदरणीय दाजु ज्योति अधिकारिले एउटा अनौपचारिक भेटघाटको शिलसिलामा विशेष गरि गंगाजमुना र गणेश पर्वतको विविध पक्षका कुराहरु, त्यस क्षेत्रका सम्भावनाहरु एवं आफ्ना अनुभवहरु सुनाउनु भयो । गणेश-पर्वत+हिऊं: हिमालनै चाहि दुरिको हिसावले १६ सय खोला-अर्थात वर्तमान चुम भ्याली (गोर्खा) र केरुङ (भोट/तिव्वत) को पर र वर रहेको सिमारेखाकै आसपास पर्छ, तर पर्वतमाला भने सल्यानटारबाट उठेर यहि गंगा जमुनाको झर्ना र चट्टानको फेरो (मान्वु-गंगाजमुना र रुवि भ्याली हुदै माथि आकाशिन पुग्दछ ।
गंगा जमुनाको झर्ना संगै रहेको चट्टान भित्र टलक्क टल्कने रुविको मुखमा दुध र जल हालीदिने परमपरा धेरै पुरानो नै होला । जस्लाई गणेशको मुख (सुड) को रुपमा अर्थयाउने हाम्रा पृर्य हजुरबुबा का पुस्ताहरु सायदै ४० वर्ष यता कोहि जिवित रहेनन्नै । दुर्घटनावस काटेको मान्छेमा पशुको टाऊंको जोडेर वनेको गणेशलाई रगत र वलि नदिने परमपरा छ । त्यसैले यसमा फुलका डोलि र पालियका परेबाहरुलाई स्वतन्त्र रुपमा आकाश गंगामा छोडिने गरिन्छ ।
निरन्तर धामि झाक्रिहरुको आगमन भईरहने यस पर्वतमा जडिबुटिको अथाहा परिकार रहेको विस्वास मात्र गरिदैन यहांको जडिवुटिको रसहरुबाट बग्ने पानीले जनवरहरु टोकाईमा लाग्न सक्ने रेविज जस्ता घातक रोगको पनि उपचार हुने विस्वासमा अझै निरन्तरता छ ।
हनुमानले औषधि खोज्न आऊदा नाना थरिका जडिवुटि विच चाहिने जडिवुटि छुट्याउन नसकेर यहिको पाहाडनै उठायर लगेको र त्यसको परिपुर्ति भई रहोस (सिंचन) भनेर दुई विशाल नदिहरु गंगा र जमुनाको पानी वाफको रुपमा पठायको त्यो वाफनै यहि चट्टानमा ठोकियर झर्नाको रुप लिएको कथनहरु पाईन्छ ।
प्रत्यक्ष एवं परोक्ष रुपमा नेपालको पर्यटन क्षेत्रमा उँहाको ठुलो योगदान रह्यो पछिल्ला दशकहरुमा र निरन्तर रहिरहेको छ, उहाँको अनुभव र मार्गदर्शन हामीहरुका लागि गर्वको कुरा हो, चाहे “रुबी भ्याली “ लाई चिनाउने कुरामा होस् चाहे त्यो “स्काई ट्रेल” का अवधारणा हुन अथवा हालैका दिनहरुमा पवित्र गङ्गाजमुना गणेश पर्वतको समग्र पर्या-पर्यटनका विषयमा जुर्मुराईरहेको सपना किन नहोस, जुन कुराहरु अत्यन्त सराहनीय छन् । यी विचार र योजनाहरुमा हामीले सहकार्य गर्न सक्यौँ र निर्णय लिने तह सम्म पुर्याउन सक्यौँ भने यसले हाम्रो क्षेत्र र समग्र देशकै दिगो पर्यटनको विकासमा ठुलो मद्धत पुग्ने निश्चित छ ।