एमाले महादिवेशन: ओली र रावलबीच हुने भयो निर्वाचन

Avatar photo
Dhadingpost
सोमवार, मंसिर १३, २०७८

भरतपुर मंसिर १३ । भिम रावलले आफ्नो अडान नछाडे पछि एमाले महादिवेशन छुनावी प्रक्रियामै जाने भएको छ । यो सँगै निर्वाचनमा नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली सँग भीम रावलले प्रतिपर्धा गर्ने भएका छन् ।

मध्यरातमा सुरू भएको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका ओलीले अध्यक्ष मण्डलमा १९ जना पदाधिकारीबारे छलफल गरेका थिए । उनले अध्यक्ष मण्डलमै रहेका रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव समेत गरेका थिए । तर रावलले उनको प्रस्तावलाई अस्वीकार गरे । रावलले लामो बहस गर्न चाहेनन् र अध्यक्षको उम्मेदवार हुने बताए । ‘रात गएर विहान भयो कमरेडहरु सुत्न पाउनु भएको छैन,’ उनले भने, ‘लामो बोल्दिनँ । मलाई फर्किन गाह्रो हुन्छ, अध्यक्षमा उम्मेदवारी दिन्छु ।’

रावलले अडान नछडेपछि हलमा होहल्ला भयो । रावलविरुद्ध नारा हुटिङ भयो । तर ओलीले शान्त रहन आग्रह गर्दै भने, भीम रावल उम्मेदवार हुन्छु नै भन्ने हो भने उठ्न दिनुपर्छ ।’ एमालेको निर्वाचन अयोगका प्रमुख डा। विजय सुब्बाका अनुसार सोमबार विहान ९ देखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । ओलीले १९ पदाधिकारीको प्रस्ताव अनुसार नै उम्मेदवारी दर्ता गर्न नेताहरूलाई आग्रह गरेका छन् ।

ओलीद्वारा प्रतावित १९ सदस्यीय पदाधिकारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्बाङ छन् । यस्तै महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल छन् । सात सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको छन् ।