धादिङ मंसिर ५ । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा भीम रावलले केपी शर्मा ओली विरुद्ध पार्टी अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गरी उपाध्यक्ष रावलले पार्टीको नीतिअनुसार संचालन हुन आफूले अध्यक्षमा केपी ओली विरुद्ध उम्मेदवारी दिने बताएका हुन् । पार्टी नेतृत्व १० बुँदे सहमति कार्यन्वयनमा इमानदार नभएको र नेकपा एकता जोगाउन असफल भएको भन्दै रावलले आगामी महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा रावलले भने ‘मैले राजनीतिक जीवनको आरम्भदेखिनै नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको छु ‘ रावलले भने, ‘यही दृढ संकल्पका साथ पार्टीको विधान महाधिवेशनबाट पारित दस्तावेजमा उल्लेखित र अनुल्लेखति वा स्पष्ट गर्नुपर्ने निम्नलिखित उद्देश्य, लक्ष्य र मान्यताको आधारमा २०७८ साल मंसिर १० देखि १२ गतेसम्म चितवन जिल्लामा हुने नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’
यसअघि नवौं महाधिवेशनमा रावल सर्वाधिक मत ल्याएर उपाध्यक्षमा विजयी भएका थिए । एमालेको नवौं महाधिवेशनमा २ हजार १५२ जनाले मतदान गर्दा उपाध्यक्ष पदका रावलले ११४३ मत ल्याएर विजयी भएका थिए ।