धादिङमा नवौं एन्फा लिग सुरु, धुनीबेसी र धादिङ समाजको विजय सुरुवात

Avatar photo
Dhadingpost
बुधबार, मंसिर १, २०७८

धादिङ मंसिर १ । धादिङ गजुरी गाउँपालिका स्थित गलौंदी खेल मैदानमा आजबाट नवौं एन्फा लिग सुरुभएको छ । आज भएको दुई खेलमा धुनीबेसी युवा क्लव र धादिङ समाज धादिङले विजय सुरुवात गरेका छन् ।

आज भएको धुनीबेसी युवा क्लव धार्के, धुनीबेसी र अरुणदय युवा क्लव, आदमटार सिद्धलेक बीच भएको पहिलो खेलमा अरुणदयको १ गोलका विरुद्ध धुनीबेसीले ३ गोल गर्दै विजय सुरुवात गरेको हो । धुनीबेसीका लागि सुजल लामा (स्याउरी), राजेश थापा र प्रदिप ढंगोलले गोल गरेका थिए । यस्तै आज भएको इन्द्रेणी युवा क्लव, आदमघाट, गजुरी र धादिङ समाज धादिङ, नीलकण्ठ, धादिङबेसी बीच भएको दोस्रो खेलमा इन्द्रेणीको १ गोलका विरुद्ध ३ गोल गर्दै धादिङ सामाजले विजय सुरुवात गरेको हो ।

आज भएको उद्घाटन कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य पूर्णमान चित्रकारले आगामी वर्ष बागमती प्रदेश स्तरीय फुटबल लिग गर्न तयारीमा लाग्न जिल्ला फुटबल संघलाई आग्रह गरेका थिए । प्रतियोगिता उद्घाटन समारोहका सभापति तथा जिल्ला फुटबल संघ धादिङका अध्यक्ष दिपक खतिवडाले पूर्वाधार निमार्णमा धादिङ धेरै अगाडी बढी सकेको र आगामी वर्ष एन्फाले तोकेको मापदण्ड कै खेल मैदानमा प्रदेश लिग गराउन तयार रहेको बताएका थिए ।

यस अघिको जिल्ला लिग हुँदै धादिङ समाज धादिङले प्रदेश हुँदै अन्तर प्रदेश स्तरीय प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गरेको स्मरण गर्दै अध्यक्ष खतिवडाले उचाईलाई अझै अगाडी बढाउने अवसर जिल्ला लिग विजेतालाई हुने बताएका थिए । संघका महासचिव रामहरि थापाकोे संचालनमा भएको उक्त जिल्ला स्तरीय नवौं एन्फा लिग उद्घाटन कार्यक्रममा गजुरी गाउँपालिका उप प्रमुख सिता ढुङ्गानाको विशेष आतिथ्यता रहेको थियो ।

९ दिन सम्म चल्ने यस लिग प्रतियोगिताको दोस्रो दिन चार खेल हुने एन्फा धादिङका महासचिव रामहरि थापाले बताए । बिहान ८ बजे गलौंदी युवा समाज गजुरी र न्यू स्टार युवा समाज थाक्रे, बिहान १० बजे धादिङ समाज धादिङ नीलकण्ठ र अरुणदय युवा क्लव, आदमटार सिद्धलेक, मध्यान्ह १२ बजे पञ्चमन्या युवा क्लव एक्लेफाँट, थाक्रे र व्वाईज यूनाईटेड, धादिङबेसी नीलकण्ठ, दिउँसो २ बजे बिद्यार्थी उपकार समाज, धुवाँकोट, नीलकण्ठ र गजुरी सामुदायीक समाज गजुरी बीच हुने महासचिव थापाले बताए ।