धादिङ मंसिर १ । आज नेपालसहित विश्वभर सिओपिडी रोगबाट जोगिने उपाय तथा यसका बारेमा सचेतना फैलाउन दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै दिवस मनाइने छ । विभिन्न अस्पताल, छाती तथा फोक्सो रोगका चिकित्सक, संघ संस्थाहरुले दिवसका अवसरमा देशका विभिन्न स्थानमा कार्यक्रम राखेका छन् ।
सिओपिडी दिवस ग्लोबल इनिसियटिभ फर क्रोनिक अब्सट्रक्टिभ क्रोनिक डिजिज (गोल्ड) को अगुवाईमा हरेक वर्षको नोभेम्बरको तेस्रो बुधबार मनाइन्छ । नेपालमा पनि सोही अनुसार कार्यक्रम तय गरिएको हो ।
के हो ? सिओपिडी
नेपालमा श्वासप्रस्वास सम्बन्धी फोक्सोको दीर्घकालिन रोग सिओपिडीका बिरामीको संख्या बढ्दै गएको छ । सिओपिडी अर्थात क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज भनेको फोक्सोको श्वासनलीमा अवरोध हुनु हो । चिकित्सकहरुका अनुसार सिओपिडी जन्मजात रोग होइन । सामान्यतया यो ४० वर्षभन्दा माथि उमेरका मानिसमा बढी देखिन्छ ।
सिओपिडी रोग एक दिन वा छोटो समयमा लागिहाल्ने रोग पनि होइन । यो लामोसमयसम्म यसका कारकतत्वसँग सम्पर्कमा रहेपछि लाग्ने रोग हो । धूमपान, बाह्य वायु प्रदूषण धुँवा, धुलो आदि, घरभित्र हुने वायु प्रदूषण चुल्होमा गुइँठो, पराल, दाउरा आदिको प्रयोग, पेसागत जोखिम जस्तै: इट्टाभट्ट, कोइला खानी र सिमेन्ट, कपडा, रसायन र इलेक्ट्रोप्लेटिङ्ग ज्वेलरी जस्ता उद्योगहरूमा काम गर्ने, ट्राफिक प्रहरी आदी ।
लामो समयससम्म सुर्तीजन्य वा अन्य हानिकारक कणहरूले श्वास नलिलाई प्रतिकुल प्रभाव गर्दछ र फोक्सोको लचिलो फाइबरहरूलाई असर गर्दछ । फोक्सोको क्षतिबाट सिओपीडीको लक्षणहरू देखा पर्न वर्षौं लाग्छ, त्यसैले सीओपीडी ४० बर्ष भन्दा बढि उमेरका मानिसहरूमा धेरै देखिन्छ ।
सिओपीडीको स्पष्ट लक्षणहरु रोगको प्रारम्भिक अवस्थामा नदेखिन सक्छ । लक्षण देखापर्नेसमयसम्ममा यसले फोक्सोमा असर गरिसकेको हुनसक्छ । सिओपिडीका लक्षणलाई प्राय बढ्दो उमेरको लक्षण भनेर झुक्किने पनि गरेको पाइन्छ । नियमित खोकी लाग्नु, भर्याङ चढ्दा स्याँ-स्याँ आउनु, सास फेर्न गाह्रो हुनु आदि यसका लक्षण हुन् । खोकीसँगै सेतो वा पहेलो खकार आउने, छाती घ्यार-घ्यार कराउने, औंला वा जिब्रो निलो हुने, दुवै खुट्टा सुन्निने, पटकपटक छातीको संक्रमण हुने पनि यसका लक्षण हो । त्यसकारण यस्त लक्षण देखिएमा चिकित्सकको सम्पर्कमा पुग्नुपर्छ ।
सिओपिडीबाट जोगिने उत्तम उपाय भनेको नै स्वस्थ जीवनशैली नै हो । सतर्कता अपनाउँदा अपनाउँदै पनि यो रोग लागेको छ भने पनि चिकित्सकको सल्लाहमा गुणस्तरीय जीवन बाँच्न सकिन्छ । त्यसकारण चिकित्सकहरु रोग लागेको अवस्थामा पनि चिन्ता नलिई नियमित र सक्रिय जीवनशैली जिउन सुझाब दिन्छन् ।