विप्लव नेकपाले ३० गते नेपाल बन्द गर्ने, इन्धनको मुल्य फिर्ताको माग

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक २५, २०७८

धादिङ कात्तिक २५ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मुल्य बृद्दि फिर्ताको माग गर्दै कार्तिक ३० गते नेपाल बन्द सहित संघर्षका कार्यक्रम घोषणा गरेको छ । नेकपाले ‘सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल’ गरेको छ ।

पार्टीका महासचिव विप्लवले बिहीबार प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेका छन् । महासचिव विप्लवले कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचाररप्रसार र साँझ मशाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन स् दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिठ्ठी जुलुस, साँझ मशाल जुलुस र कात्तिक, ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरू घोषणा गरेका हुन् ।

हासचिव विप्लवले वक्तव्यमा भनेका छन्, ‘जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यबस्तु जस्ता अत्यावश्यक बस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गर्दै आएको छ र यसप्रकारको सरकारी दोहनलाई जनताले निरीहतापूर्बक पालना गर्नुपर्ने बाध्यता जस्तै बनेको तथ्य हाम्रो सामु छ । भर्खरै मात्र पनि पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाँका हिसाबले मूल्य बृद्धि गरियो । जसअनुसार रु. ४७ मा आयात गरिने पेट्रोलियम रु १३६ मा बिक्रि गरिँने छ । बिज्ञहरूले मापन गरे अनुसार सबै कर कट्टा गर्दा पनि मुनाफा सहित पेट्रोल रु. ७० मा बिक्रि गर्न सकिन्छ । दैनिक रुपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ ?’

विप्लवले वक्तव्यको अन्त्यमा भनेका छन्, ‘पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धिले निश्चित रुपमा यातायात लगायत आयात गरिने सबै सामानहरूको मूल्यमा पनि बृद्धि हुनेछ । भर्खरै भएको मूल्य बृद्धिसँगै जनताले एकातिर करिब २०० प्रतिशत बढी मूल्य भुक्तानी गर्न बिवश हुनेछन् भने अर्कोतिर त्यसको प्रभावले सार्बजनिक यातायातसहित ढुवानी गरिने सम्पूर्ण सरसामानहरूमा मूल्यबृद्धि हुनेछ । यसबाट नेपाली उपभोक्ता कैयौँ गुणा बढी मारमा पर्नेछन् । हाम्रो पार्टी जनसरोकारको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन सक्दैन । तसर्थ सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछ ।