बागमतीमा युवराज दुलालको संयोजकत्वमा गठबन्धनको कार्यदल गठन

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक २४, २०७८

धादिङ कात्तिक २४ । बागमतीमा युवराज दुलालको संयोजकत्वमा बागमती प्रदेश सरकार सञ्चालनमा सहयोग गर्ने उद्देश्यका साथ सत्तारुढ गठबन्धनका दलहरूले कार्यदल गठन गरेका छन् । नेकपा माओवादी केन्द्रका सांसद युवराज दुलालको संयोजकत्वमा ६ सदस्यीय प्रदेश सरकार सञ्चालन समन्वय कार्यदल गठन गरिएको हो ।

कार्यदलमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेल, काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहितको परामर्शमा कार्यदल गठन भएको हो । कार्यदल सदस्यमा माओवादीबाट बुद्धिमान माझी, नेपाली काँग्रेसबाट राधा घले, प्रभात तामाङ र नेकपा एकीकृत समाजवादीबाट माधव पौडेल, मीना ज्ञवाली रहेका छन् ।

कार्यदलले गठबन्धनबीच न्यूनतम साझा कार्यक्रम तयार गर्ने, गठबन्धनबीच सहमति, सहकार्य एवं समझदारी कायम गर्ने र सरकारको कार्यक्रम कार्यान्वयनलाई मितव्ययी, प्रभावकारी, भ्रष्टाचार शून्य बनाउने लगायतका काम गर्ने संयोजक दुलालले बताए ।