विवेकशील साझा पार्टीले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने

Avatar photo
Dhadingpost
कार्तिक २२, २०७८

धादिङ कात्तिक २२ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई विवेकशील साझा पार्टीले विश्वासको मत नदिने जनाएको छ । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालको अध्यक्षतामा आइतबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

प्रदेश सरकारले साविक मन्त्रालयहरू फुटाइ जम्बो मन्त्रिमण्डल गठन गर्ने तयारी गरिरहेकोले हाम्रो संसदीय दलको बैठकले मन्त्रालय फुटाउने कार्यको औचित्य पुष्टि हुन नसक्ने ठहर गर्दै पाण्डेलाई विस्वासको मन नदिने निर्णय गरेको पौड्यालले बताए । भागबन्डाका निमित्त मन्त्रालय फुटाउँदा प्रदेशको प्रशासनिक संरचना नै अस्तव्यस्त हुने र प्रदेश कोषमा अनावश्यक रूपमा व्ययभार थपिने भएकाले मुख्यमन्त्री ज्यूलाई हामी विश्वासको मत दिँदैनौ, उनले भने ।

कूल १०९ जना प्रदेशसभा सदस्य रहेको बागमतीमा सरकार टिकाउन ५५ मत आवश्यक रहँछ । संयुक्त चार दलीय गठबन्धनको ५९ सांसदको साथ पाएका पाण्डेले विश्वासको मत पाउने देखिएको छ । नेकपा एमालेबाट मुख्यमन्त्री भएकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेसंगै राजीनामा दिएकी थिइन् । एमालेमा कूल ५६ सांसद रहेकोमा १३ जनाले नेकपा एकीकृत समाजवादी रोजेपछि एमाले ४३ सांसदमा खुम्चिन पुगेको थियो ।