धादिङ टी-२० क्रिकेटको उपाधी गजुरीले जित्यो

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक १८, २०७८

धादिङ कात्तिक १८ । धादिङ जिल्ला क्रिकेट संघले कात्तिक ११ गते देखि आयोजना गरेको टी २० क्रिकेट प्रतियोगिता गजुरी सामुदायीक विकास समाजले जितेको छ । गजुरीले त्रिपुरासुन्दरीलाई २१ रनले हराउदै उपाधी जितेको हो ।

टस जितेर ब्याटिङका लागि आएको गजुरीले २० ओभरमा सम्पुर्ण विकेट गुमाउँदै मात्र ११० रन जोडेको थियो । गजुरीका सविन उप्रेतीले ३४ बलमा ३ चौकाको मद्दतले २८ रन जोडे । सनम सापकोटाले २६ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २६ रन जोडे । गजुरीका ६ ब्याटरले भने रन आउट मार्फत आफ्नो विकेट गुमाएका थिए ।

त्रिपुरासुन्दरीका अनिल अधिकारीले ४ ओभरमा १७ रन खर्चिएर २ महत्वपूर्ण विकेट लिए । अनिलले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी उज्वलको विकेट पनि हात पारे । श्रीकृष्ण र उदय थापाले भने सम्मान १/१ विकेट हात पारे । जवाफी ब्याटिङ गर्न गरेको त्रिपुरासुन्दरीले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ८९ रनमा सिमित बन्यो । १४ ओभरमा ६२ रन जोड्दै मात्र ५ विकेट गुमाएर खेलमा रहेको त्रिपुरासुन्दरीले उदय थापालाई २१ रनमा गुमाउँदा खेल पनि गुमाउन पुग्यो । उदय थापाले २५ बलमा २१ रन जोडे ।

गजुरीका सानु घलेले ३ विकेट लिए । प्रदीप गिरी र सक्षम खरेलले सम्मान २/२ विकेट लिए । खेलको म्यान अफ द म्याच घोषित हुँदै सानु घले नगद ५ हजार सहित ट्रफी हात पारे । प्रतियोगिताको उत्कृष्ट ब्याटर अमृत थापा घोषित हुँदै नगद ५ हजार सहित ट्रफी हात पारे । म्यान अफ द सिरिज र उत्कृष्ट बलर उज्वल थापा दुई विधाको १५ हजार हात पार्दै आकर्षक ट्रफी जिते । प्रतियोगिताको उदयमान खेलाडी गजुरीका सक्षम खरेल ले ५ हजार सहित ट्रफी जिते ।

प्रतियोगिता समापन कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले पुरस्कार वितरण गर्दै आफु खेलकुद विकासमा संधै लागि रहने प्रतिवद्धता जनाएका थिए । विजेता गजुरीले नगद १ लाख सहित ट्रफी प्रमाण पत्र पाएका थिए भने उप विजेता त्रिपुरासुन्दरी क्रिकेट टिमले नगद ५० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

प्रथम पुरस्कार गजुरीलाई हस्तान्तरण गर्दै अन्तराष्ट्रिय धादिङ समाजका उपाध्यक्षद्वय दिनेश तामाङ र काशी दनैले समाज धादिङमा हुने हरेक सामाजिक कार्यमा हातेमालो गर्न तयार रहेको बताएका थिए । प्रतियोगिताको लागि नीलकण्ठ नगरपालिका, बेनीघाट रोराङ गाउँपालिका र टोयोटा कम्पनीले २-२ लाख, प्रथम पुरस्कारको लागि ब्राण्डिङ पाट्नर अन्तराष्ट्रिय समाज धादिङले १ लाख अन्य व्यक्ति एवम् संस्थाहरुले समेत आर्थिक तथा प्राविधिक सहयोग गरेका थिए ।