त्रिशूली नदी माथि जिपलाइन

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ १५, २०७८

धादिङ भाद्र १५ । आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले दुई करोडको लागतमा त्रिशूली नदी माथि जिपलाइन निर्माण भइरहेको रिभर फन विच रिसोर्टका प्रबन्ध निर्देशक शङ्कर अधिकारीले बताए ।

चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने स्थानमा रिभर फन विच रिसोर्ट बुट्टारले जिपलाइन सञ्चालन गर्ने भएको हो । उनका अनुसार चार सय ८० मिटर लामो उक्त जिपलाइन काम गत फागुन ४ गतेदेखि निर्माण सुरु भए सँगै ४० प्रतिशत सम्पन्न भएको छ । कोरोना महामारीका कारण निषेधाज्ञा जारी भएपछि निर्माणमा ढिलाइ भएको प्रबन्ध निर्देशक अधिकारीले बताए ।

यसैबीच रिसोर्टको कम्पाउन्डमा स्काई रोप साइक्लिङ पनि निर्माण थालिएको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए । ८५ मिटर लामो उक्त स्काई रोप साइक्लिङले पर्यटकलाई थप आकर्षित गर्ने उनको भनाइ छ ।

गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर राना मगरले जिपलाइन निर्माणसँगै आन्तरिक पर्यटनमा वृद्धि हुने विश्वास व्यक्त गरे । उनले यहाँको पर्यटन विकासका लागि ढुक्क भएर लगानी गर्न व्यवसायीलाई आग्रह गरे । गाउँपालिकाले सबै प्रकारको व्यवसाय सञ्चालनका लागि सुरक्षालगायत सबै सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।