शुभारम्भ युवा समाज गल्छीका खेलाडी ‘सी’ डिभिजन छनौट खेल्न काठमाडौं प्रस्थान (खेल भोली ३ः३० बजे)

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ १५, २०७८

धादिङ भाद्र १५ । धादिङबाट ३ वटा क्लवहरुले सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिता खेल्ने भएका छन् । यहि प्रतियोगिताको लागि गल्छी गाउँपालिकाले आईतबार बिहान जितका लागि शुभकामना दिँदै खेलाडीलाई विधाई गरे सँगै शुभारम्भ युवा समाज गल्छीका खेलाडी ‘सी’ खेल्न काठमाडौं प्रस्थान गरेका छन् ।

भदौ १० गतेबाट सातदोवाटो एन्फा खेलमैदानमा जारी यस प्रतियोगितामा ७८ वटा क्लबले प्रतिस्पर्धा गर्ने छन् । जसमा धादिङबाट लगन्सिल युवा क्लव ज्वालामुखी, शुभारम्भ युवा समाज गल्छी, र चक्रदेवी सामुदायीक समाज नलाङले पनि यो छनौट प्रतियोगितामा भाग लिएका छन् । समूह ‘एफ’ मा रहेका तीन टिम मध्य भोली भाद्र १६ गते धादिङका दुई क्लवहरु लगन्सिल युवा क्लव ज्वालामुखी र शुभारम्भ युवा समाज गल्छी बीच हुन लागेको हो । धादिङकै अर्को चक्रदेवी सामुदायीक समाज नलाङ भने समूह ‘क्यु’ मा परेको छ ।

खेल तालिकामा प्रत्येक समूहमा ३ क्लब रहेका छन् । तालिका अनुसार एक क्लबले समूह चरणमा दुई खेल खेल्नेछन् । हरेक समूहको विजेताले दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो चरण तथा नक आउट चरणलाई ३ समूहमा विभाजन गरिएको छ । ‘सी’ छनौटबाट तीन टिम ‘सी’ डिभिजनमा बढुवा हुनेछन् । तस्वीरः सुमन महर्जन