
‘का. कृष्ण पौडेलको अन्यौल र दिशाहीन कार्यदिशा’ शिर्षकमा क. वासुदेव पोख्रेलले युगदर्शन अनलाइनमा क. कृष्ण पौडेलले गत साता प्रकट गरेको विचारलाई “पुराना र वासी आक्षेप” भएको वताएका छन । वास्तवमा “पुराना र वासी आक्षेप” क. वासुदेव पोख्रेल केन्द्रीय सदस्य रहेको नेकपा(मसाल) को नेतृत्वले लगाएको हो वा क. कृष्ण पौडेलले ? त्यो स्पष्ट हुनुपर्दछ र हुनेछ ।
उक्त क. पोख्रेलको लेखमा क. कृष्ण पौडेलले नेकपा(मसाल) को आठौं महाधिवेशनले लियको कार्यदिशालाई दक्षिणपन्थी वताउनु ‘पुरानो र वासी आक्षेप’ को संज्ञा दिएका छन । स्वभाविक त यो छ कि क. वासुदेव पोख्रेलले आठौं महाधिवेशनको कार्यदिशाको ढाकछोप गर्नुपर्दछ । आठौं महाधिवेशनमा क. मोहन विक्रम सिंहको दक्षिणपन्थी संशोधनवादी लाइनलाई पारित गर्न क. पोख्रेलले पनि प्रयोग गरिएका पात्र थिए । त्यस प्रकारका पात्रहरुले क्रान्तिकारी कार्यदिशालाई अन्योल र दिशाहिन देख्नु कुनै नौलो विषय होइन । प्रतिक्रियावादीहरुदङ्ग चोचोमोचो मिलाएर क्रान्तिकारीहरुको कत्लेआम गर्ने नीति अख्तियार गरेको मसाल नेतृत्व र दक्षिणपन्थी गुटले यसप्रकारका आधारहिन भ्रमहरुको जाल फ्याक्नु पनि कुनै आश्चर्य होइन ।
यो स्पष्ट छ : नेकपा(मसाल) को आठौं महाधिवेशनपुर्व नै व्यबहारिक हिसाबले पार्टी दक्षिणपन्थी संशोधनवादमा गैसकेको थियो, आठौं महाधिवेशनले त्यसलाई अनुमोदन गर्यो । आठौं महाधिवेशनको दौरानमा ग्राउनड लेभलमा क्रान्तिकारि राजनीतिक लाइन(अल्पमतको लाइन) को पक्षमा कार्यकर्ताहरु उभिएपछी मसाल नेतृत्वले सङ्गठनात्मक प्रणालीलाई ध्वस्त गरेर संस्थागत गुटबन्दी मच्चाएर नै महाधिवेशनमा आफ्नो लाइनको पक्षमा वहुमत पुर्याएका थियो । त्यो प्रकारको अवस्था तयार गर्न अलपमत पक्षधर कमरेडहरुमाथी कारवाही अभियान चलाइएको थियो, त्यो रुसमा वोल्सेविकको विसौ पार्टी महाधिवेशनपछि खुश्चोभले चलाएको अभियानको नक्कल नै थियो ।
त्यसरी महाधिवेशन कब्जा गरेको मोहन विक्रम कमरेडले महाधिवेशन पछि पनि त्यो अभियानलाई निरंतरता दिए । त्यो अवस्थामा पार्टीमा भावनमात्मक एकता टुटेर गयो । त्यस स्थितीमा पार्टीमा एकता कायम गर्न र पार्टीलाई क्रान्तिकारी धारमा फर्काउन क. कृष्ण पौडेलले विशेष महाधिवेशनको माग सहित आफ्नो प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत गरिरहनु भयो ।
तर पार्टी केन्द्रले त्यसलाई बारम्बार अस्विकार गर्यो । त्यो अवस्थामा पार्टीको क्रान्तिकारिकरण र एकताको लागि पार्टी सदस्यहरुलाई अपिल गर्नु विचारधाराको हिसाबले त्यो अनुशाशन भन्दा बाहिरको विषय बन्न सक्दैन । मोहन विक्रमले नेकपा(मसाल) एउटा क्रान्तीविरोधी पार्टीमा रुपान्तरण गरेपछि त्यो भित्र रगत पसिना बगाएका कमरेडहरुले क्रान्तिको लागि काम गर्नु कुनै नाजायज छैन र हैन ।
उक्त लेखमा पोख्रेल जिले वैध समुहले सघियता समर्थन गरेको र त्यो सङ्गको धुर्बीकरण कसरी हुन्छ भन्ने प्रश्न समेत तेर्साउनु भएको रहेछ । राजनितीक हिसाबले विचलित र असन्तुलित भएपछि त्यही खालका तर्कहरु आउनु खास गलत होइन । क. कृष्ण पौडेलले कम्युनिष्ट आन्दोलन कै क्रान्तिकारी धुर्बिकरणको कुरा उठाएको विषयलाई वैध समुहसङ्ग जोड्नु राजनितीक दिवालियापन बाहेक अर्को होइन । यसमा अझ यो स्पष्ट छ: नेपालको कम्युनिष्ट आन्दोलन कै पुन: गठन अनिवार्य छ ।
नेपालको कम्युनिष्ट आन्दोलनको पुन:गठन गर्ने त्यति सहज नभए पनि त्यो अनिवार्य बनेको छ । त्यसरी पुन: गठन हुने कम्युनिष्ट आन्दोलन केवल संगठनात्मक रुपमा मात्र पुन: गठन हुने होइन । सैद्धान्तिक,वैचारिक राजनीतिक र सङ्गठनात्मक सबै प्रकारले नै पुन: गठन हुने हो । नेपालको कम्युनिष्ट आन्दोलन आजको अवस्थामा क्षतविक्षत हुनका कारणहरु के-के हुन? आजको नेपालको अवस्था, अन्तरास्ट्रीय परिस्थिति, भु-राजनीतिक अवस्था तथा कम्युनिष्ट आन्दोलनमा हुन नसकेको सास्कृतिक रुपान्तरण माथी व्यापक खुल्ला बहस अनिवार्य छ । वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा पुग्न नयाँ जनवादी क्रान्तिको आधारभुत तयारी सहित क्रान्तिकारी पार्टी निर्माण केही गुट उपगुटको टुटफुट र एकताले मात्र सम्भव छैन ।
त्यसको लागि महान बहस सहित नेपाली कम्युनिष्ट आन्दोलनको पुन: गठन हुनुपर्दछ । त्यसरी नेपाली कम्युनिष्ट आन्दोलनको पुन: गठनमा नेतृत्वदायी भुमिका कसले खेल्दछ, त्यसको नयाँ आधार पनि छिट्टै तयार भएको हुनुपर्छ र त्यसकोलागि क्रान्तिकारी धुर्बिकरण हुनु स्वभाविक छ । धुर्बिकरणको अर्थ पार्टी एकता वा विलय भन्ने त होइन । स्वयम् मोहन विक्रमले नै दुई वर्षसम्म मोहन वैध नेतृत्व माओवादीसङ्ग पार्टी एकताको छलफल चलाएका थिए, त्यो बेला पनि त्यो समुहले सघियता स्विकारेकै थियो र छ । त्यो एउटा कार्यनीतिक प्रश्न मात्र हो ।
क्रान्तिकारी पार्टी निर्माण गर्ने क. पौडेलको भनाइलाई लफ्फाजी वताउने पोख्रेल जिले यो बुझ्न आवश्यक छ कि गैरमार्क्सवादी लेनिनवादीहरुले क्रान्तिकारी पार्टी निर्माण अभियानलाई लफ्फाजी नै देख्दछन । शब्दजालभित्र रोमलिएको नेकपा(मसाल) नेतृत्व र त्यसको केन्द्रीय समितीले प्रतिक्रियावादीहरुको खेतला बनिरहेको अवस्थामा एउटा मार्क्सवादी लेनिनवादी पार्टी निर्माण गर्ने सोचाइलाई गलत देख्नु दक्षिणपन्थी विचलनको सार्वजनिक अभिव्यक्ती नै हो ।
पार्टीबाट निकालिएका र निस्किएकाहरुलाई केशरजंग रायमाझी देखि प्रचण्ड, बाबुराम, दिनानाथ, रामसिङ, डिलारामसङ्ग तुलना गर्ने मसालभित्र चलिआएको चलनलाई क. पोख्रेलले आफ्नो लेखमा प्रकट गर्नुभएको छ । इमानदार साथीहरु पौडेल जिको भ्रममा नपरुन भन्ने कामना पनि छ । यो स्यालहुइया मात्रै हो । अर्को कुरा यो बुझ्नु आवश्यक छ: तपाईं जस्ता दक्षिणपन्थी संशोधनवादी नेतृत्वको रक्षाकवचहरु जरुर तपाइको सोचेजस्तो “भ्रम” मा पर्नेछैनन । अब यो सत्य हो कि क्रान्तिकारी साथीहरु मोहन विक्रम सिंहले दक्षिणपन्थी संशोधनवादी लाइनको भ्रममा भने पर्ने छैनन । जहाँसम्म भविष्यको प्रश्न छ: त्यो सिधा र स्पष्ट छ: क्रान्तिकारी राजनीतिक लाइनमा नै नेपाल कै कम्युनिष्ट आन्दोलनको पुन: गठन हुनेछ जसले क्रान्तिकारी धुर्बुकरणसङ्गै नेपालको नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवाद हुँदै साम्यवादको दिशामा अगाडि बढ्नेछ ।
कुनै एउटा पार्टीको मात्र होइन, नेपाली कम्युनिष्ट आन्दोलन कै पुन:गठन हुन अनिवार्य छ । वर्तमान प्रतिक्रियावादी राज्यसत्तामा आमूल परिवर्तन गरेर नयाँ जनवाद हुँदै समाजवादमा पुग्न नेपालको कम्युनिष्ट आन्दोलनमा महान बहस जरुर छ जुन बहस आग्रह-पुर्वाग्रह बिना नेपालको क्रान्तिकारी आन्दोलनलाई नयाँ आधारमा अगाडि बढाउने आधार तयार गर्नेछ र नयाँ पुस्ता क्रान्तिकारी आन्दोलनमा आस्था,विचार, भावना, सिद्धान्त वमोजिम समर्पित हुनेछ । जडसुत्रवाद, दक्षिणपन्थी संशोधनवाद, उग्रवामपन्थी अवसरवादका सबै आयामहरुलाई निस्तेज नगरिकन क्रान्तिकारी आन्दोलनलाई सच्चाई र सौन्दर्य प्रदान गर्न सकिन्न । यसरी कम्युनिष्ट आन्दोलनलाई उचाई प्रदान गर्न कम्युनिष्ट आन्दोलनको सच्चाई र सौन्दर्यलाई आत्मबोध गर्दै क्रान्तिकारि राजनितिक लाइनलाई अगाडि बढाउने योजना, संकल्प र अभियानलाई ‘पुरानो र वासी’ देख्नेहरुलाई भविष्यको क्रान्तिकारी आन्दोलनले एउटा कठघरामा भने जरुर उभ्याउनेछ ।
नेकपा(मसाल) भित्रका क्रान्तिकारीहरुले अब दक्षिणीपन्थी संशोधनवादीहरुसङ्ग खुलमखुला मुकाविला गर्ने अवस्था आएको छ । प्रतिक्रियावादीहरुको पुच्छर बनेर क्रान्तिकारीहरुको गला रेट्ने मसाल हेडक्वाटर ध्वस्त पार्दै क्रान्तिकारी पार्टी निर्माण अनिवार्य बनेको छ ।
अन्तमा यो पनि बुझौं, चिनिया जनताको राजनैतिक सल्लाहकार सम्मेलनको प्रथम रास्ट्रीय समितिको दोश्रो वैठक (जुन २३,१९५०)मा विसर्जन-भाषण, गर्दै क्रान्तिकारी को हो भन्ने सवालमा माओलेले भनेका थिए “क्रान्तिकारी जनतापट्टी जो लाग्छ, उहीँ नै क्रान्तिकारी हो । जो साम्राज्यवाद, सामन्तवाद, नोकरशाही पुजिवादको पक्ष लिन्छ, त्यो चाहिँ प्रतिक्रान्तिकारी हो । जो मुखले मात्र क्रान्तिकारी जनतापट्टी लाग्छ तर काम भने अर्कै किसिमले गर्छ त्यो बोलिमा मात्र क्रान्तिकारी हो । जो वचनका साथसाथै काममा पनि क्रान्तिकारी जनताको पक्ष लिन्छ, उ नै साचो अर्थमा क्रान्तिकारी हो ।” यो सत्य हो कि क. मोहन विक्रम सिंहले जनतापट्टी लाग्नुभएन र प्रतिक्रियावादीहरुको पक्ष लिनु भयो । आठौं महाधिवेशनले दक्षिणपन्थी नीति अनुमोदन गरेपछि जनताको पक्षमा लाग्नु उहाँहरुलाई सम्भव पनि थिएन ।