
काठमाडौं साउन १८ । नेपाल कम्युनिष्ट पार्टी एमाले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । आइतबार बसेको स्थायी कमिटीको बैठकले भदौमा विधान महाधिवेशन गर्ने निर्णय गरेको हो ।
महासचिव ईश्वर पोखरेलका अनुसार स्थायी कमिटिको उक्त निर्णय साउन २४ गते बस्ने केन्द्रिय समितिले पास गरेपछि कार्यान्वयनमा जाने छ । ‘देशव्यापी रूपमा असोज ३ गते वडा तहको असोज ९ गते पालिकास्तरको अधिवेशन सकिएपछि २७ र २८ गते विधान महाधिवेशन गरिने छ ।
महासचिव ईश्वर पोखरेलले पार्टीको गतिविधि र एकता प्रक्रिया सँगै अघि बढ्ने बताए । नेपाल पक्षबाट नयाँ–नयाँ सर्त आउन थालेपछि संस्थापन पक्षले २०७५ जेठ २ लाई बटमलाइन बनाएको छ। सुरुमा नेपाल पक्षले एमाले र माओवादी केन्द्र एकीकरण हुनुभन्दा पहिलाको अवस्थामा पार्टीलाई फर्काउन माग गर्दै आएको थियो। महासचिव पोखरेलले जेठ २ को बटमलाइनअनुसार नै एमालेलाई एकताबद्ध बनाएर लैजान सकिने बताए ।
‘हामी एमालेलाई एकताबद्ध बनाउन चाहन्छौं। उन्नत तहको एकताका लागि जे गर्न सकिन्छ त्यो गर्ने हो’, उनले भने । उनले पार्टी विधि विधान र संस्थागत निर्णयको आधारमा मात्रै एकता हुने बताए। ‘उन्नत रूपमा एकता कायम हुनुपर्छ, त्यो विधि सम्मत पनि हुनुपर्छ, उनले भने ।
विधान अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव, ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र विष्णुप्रसाद पौडेलले विधान संशोधन मस्यौदा तयार पार्नेछन् । बैठकले विधान महाधिवेशनको व्यवस्थापनको जिम्मेवारी भने रामबहादुर थापा बादललाई दिएको छ ।