
काठमाडौं साउन १३ । नेकपा एमालेको माधव नेपाल पक्ष सरकारमा नजाने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा नेपाल समुहले यस्तो जानकारी गराएको हो ।
काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने सत्तापक्षका शीर्ष नेताहरुको निर्णय भएपनि माधव नेपाल पक्ष भने सरकारमा नजाने भएको छ ।
बैठकमा प्रधानमन्त्री देउवाले मन्त्री बन्नेहरूको नाम छिट्टै दिन आग्रह गरे पनि नेपाल पक्षले पार्टी एकताकै लागि प्रयासका लागि पनि आफूहरू तत्काल सरकारमा सहभागी नहुने उनले बैठकमा जानकारी गराएका थिए ।
स्तै बैठकमा गठबन्धनको तर्फबाट सरकारको साझा नीति तथा कार्यक्रम ल्याउनेबारे पनि छलफल भएको छ भने त्यसबारे गृहकार्य गरेर मूर्तरूप दिइने खड्काले जानकारी दिए ।
यस्तै प्रदेश प्रमुख र विभिन्न निकायमा गरिने राजनीतिक नियुक्तिका लागि मापदण्ड बनाएर अघि बढ्ने भन्ने विषयमा पनि शीर्ष नेताहरुबीच सामान्य छलफल भएको छ ।
यसलाई अन्तिम रुप दिन आजै शीर्ष नेताहरुको बैठक बस्ने खड्काको भनाइ छ ।
बैठकमा काँग्रेसबाट प्रधानमन्त्री तथा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला सहभागी थिए ।
यस्तै माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, एमालेको माधव नेपाल समूहबाट विजय पौडेल, जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी थिए ।
