धादिङमा कतै विजयी उत्सव, कतै विरोध प्रदर्शन

Avatar photo
Dhadingpost
मङ्लबार, असार २९, २०७८

धादिङ असार २९ । सर्वोच्च अदालतले सोमबार गरेको फैसला बारे धादिङमा कतै विजयी उत्सव र कतै विरोध प्रदर्शन भएको छ ।

सर्वोच्च अदालतले न्याय मर्न नदिएको र प्रतिगमनलाई परास्त गरि दिएको भन्दै धादिङका ४ दल (नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र एमाले (नेपाल पक्ष) का कार्यकर्ताहरुले गजुरी र गल्छीमा विजयी उत्सव मनाएका छन् ।

यस्तै थाक्रे गाउँ पालिका अध्यक्ष राम कुमार आचार्यको नेतृत्वमा केपी शर्मा ओली नीकट एमाले कार्यकर्ताहरुले अदालतले संविधानको मर्म विपरित फैसला गरेको, लोकतन्त्रलाई नै खतरा पर्ने गरि निर्दलिय व्यवस्थालाई प्रषय दिएको भन्दै फैसला विरुद्ध प्रदर्शन गरेका थिए ।

के आएको थियो आदेश

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन संविधान विपरीत रहेको भन्दै सर्वोच्चले संसद पुनस्र्थापना हुने फैसला सुनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई सम्मिलत संवैधानिक इजलासले साउन ३ गतेभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको छ ।

सर्वोच्चले संसद विघटन नेपालको संविधानको धारा ७६ ९५० र उपधारा ७ मा रहेको प्रावधान, संविधानले आत्मसात गरेको लोकतान्त्रिक आदर्श मूल्य मान्यता, संविधानवाद, तथा संवैधानिक नैतिकता अनुकुल नदेखिएको ठहर गरेको छ ।

यसअघिको संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले गरेको आदेशको मर्म विपरीत फेरि संसद विघटन गरिएको भन्दै फैसलामा भनिएको छ, ‘यस प्रकारको विघटन कार्यलाई न्यायिक मान्यता प्रदान गर्दा देशको संवैधानिक प्रणालीमा नै नकारात्मक रुपमा गम्भीर असर पर्न जाने देखियो ।’

सर्वोच्चले संविधानको धारा ७६ ९५० अनुसारको प्रधानमन्त्रीमा १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई नियुक्त गर्न पनि आदेश दिएको छ । धारा ७६ ९५० अनुसार प्रधानमन्त्री नियुक्तिका लागि सांसदको संख्या नै मुख्य आधार रहेको भन्दै सर्वोच्चले देउवाले १४९ सांसदको हस्ताक्षर बुझाएकाले मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ ।