
रोम जलिरहँदा बाँसुरी बजाएर बस्ने ‘निरो’ भन्दा नेपालको सरकार र सत्ता सञ्चालन गरिरहेका नेपाली शासक कुन हिसाबले भिन्न छन् ? देश जलेको बेला देशलाई दुखेको बेला जनता पीडाको भुमरीमा प्रताडित भइरहेको बेला देश र जनताका खातिर राजनीति गरेको जेलनेल भोगेको भन्ने नेताहरु के गर्दै छन् ?
जनतालाई गलत आश्वासनको भुलभुलैयामा पारेर मात्र आफ्नो व्यक्तिगत र अन्तर्निहित स्वार्थ सिद्ध गर्न लागेका छर्लङग बनिसकेको छ । विधि पद्धति र प्रकृया मिचेर काम गर्दा मात्र आफ्नो साख जोगिएको र आफु समकक्षी तथा प्रतिपक्षीको अगाडी अब्बल देखिएको महसुस गर्ने देश, सरकार तथा पार्टी सञ्चालक भएपछि, देशको उन्नति र प्रगतिको कल्पना कसरी गर्न सकिन्छ ?
वर्ष भन्दा बढी भयो कोरोना कहर, राज्य कहाँ छ ? थाहा छैन । राज्यसत्ताको झगडामा लामवद्ध पंक्ती यत्रतत्र तँछाड मछाड गरेर दौडिरहेका देखिन्छ । जनताका प्रतिको जवाफदेहिता शुन्यप्राय छ । जनताको दुःख जनता सडकमा आएपछि मात्र देखिनुपर्ने हो र ? दिन प्रतिदिन जनता दीनहीन र कमजोर बन्दै गएका छन् । नदेखिने गरि देश जलिरहेको छ । साँच्चै नै देश र जनताका लागि राजनीति गरिरहेका कोहि नेता छन् भने आज जनताको आँसु पुछ्ने कोशिश गर । होइन भने नेताको पगरी गुथेर नबस ।अर्को र नयाँ पुस्ताका लागि राजनीतिक मार्ग प्रशस्त गर्न विलम्व नगर । जनताले साथ दिने जनताले दिएको कार्यभार पुरा गरुञ्जेल मात्र हो ।
त्यसैले अब यो सरकार कमजोर बन्दै गयो तानाशाही चरित्र देखाउँदै गयो भने हामीले अंगिकार गरेको शासन व्यवस्था कमजोर बन्छ व्यवस्था कमजोर बन्दा देश कमजोर बन्छ । देश बचाउने हो र व्यवस्था जोगाउने हो भने यो व्यवस्थाका पक्षधर आम नागरिक तथा आम पार्टीका कार्यकर्ताले आ-आफ्नो पार्टी भित्र आन्तरिक विद्रोह गर्दै अगाडी बढ्नु ढिला गर्न हुन्न ।
सरकारको अथाह कमजोरी हुँदाहुँदै पनि त्यसलाई सञ्चालन र परिचालन गर्ने पार्टीहरुले पनि सिद्धान्तको परिपालना र समस्याको सम्वोधन गर्न सकेको देखिदैन । कार्यकर्ताको संरक्षण अनुगमन र मुल्याङ्कनको परिपाटी खिइँदै गएको छ । पर्टीको आन्तरिक जीवनमा दण्ड र पुरस्कार हराएको छ ।नेतृत्व तहमा अनुशासन नैतिकता र स्वभिमान देखिँदैन ।लगनशील र उर्जाशील इमान्दार र योग्य एउटा व्यक्तिले समाजमा सामाजिक भएर राजनीतिक जीवन बाँच्न हम्मे हम्मे भएकोछ ।
इमान्दार राजनीतिक कार्यकर्ता बनेर पार्टी भित्र कृयाशील रहिरहन मात्र पनि धौ धौ छ, भने अरुलाई सम्झाएर क्रियाशील गराउन त झन् दूरको कुरो भएको छ । जो कोही नयाँ सदस्यलाई आफ्नो पार्टीमा आकर्षित गराउनका लागि सिद्धान्तका बारेमा सुसुचित गराउने, हिजो आज र भोलिका बारेमा सम्झाउने, आचरण व्यवहार र योजनाका बारेमा जानकारी गराउनुको सट्टा सेवा सुविधा लगायतका व्यक्तिगत स्वार्थ सिद्ध गर्ने कुराको प्रलोभन देखाउन विधि र पद्धति मिच्ने कार्यमा अघिल्लो पंक्तीका नेतहरुमा अचेल घर गरेको पाईन्छ ।
विभिन्न विचार विभिन्न रहन सहन विभिन्न स्वाभाव संस्कार संस्कृति, भुगोल उमेर वर्ग मिलाएर बनाएको एउटा जीवन्त पार्टीको सफलताका लागि विधि पद्धति विधान नियमावली र यसको कार्यान्वयन कति महत्वपूर्ण हुनुपर्ने हुन्छ, होला ? विगत केही वर्षदेखि नेपाली राजनीति विधि पद्धति अनुसार चल्न सकेको देखिँदैन, नेतृत्वमा सैद्धान्तिक राजनीतिक तथा व्यवहारिक रुपमा एकता र आत्मियता छैन ।
पार्टीहरु संगठीत बन्न सकेनन् । विधि पद्धति र संस्थागत हिसावले चल्न सकेनन् । मातहतका निकाय र भातृ भगिनी शुभेच्छुक संगठनहरुको संस्थागत उद्देश्य र विधानअनुसार कार्य संचालन गर्न सकेनन् । पार्टीहरुले आ आफ्नो स्थापनाको संगिन घडिमा रगतले लेखिएको सिद्धान्त र देश जनता सुहाउँदो विचार, सैद्धान्तिक मुल्य मान्यता परिवर्तित देशको राजनीतिक अवस्थासँगै पुनरावलोकन गर्न सकेनन् ।
नेपाली राजनीति गतिहीन भयो, दिशाहीन भयो भनेर तमाम बुद्धिजिवि, शुभचिन्तक, इमान्दार समुदायबाट भनिदै आएको छ । यस्तो जटिल र जर्जर अवस्थामा पार्टीका आफ्ना संवन्धित अंग तथा निकाय समेत मौन र कर्तव्य विमुढ मात्र होइन, मात्र एकापसमा आन्तरिक प्रतिद्वन्दिता साँधेर बसेका छन् ।
भोलिको नेतृत्वमा आफ्नो पल्ला भारी बनाउने संकीर्ण मनसायले ग्रस्त छन्, स्वनामधन्य नेताहरु । देश र सरकारमा जनविरोधि र खराब नेतृत्व रहँदा प्राणको बाजी लगाएर आन्दोलनमा होमिनुपर्छ भनेर कार्यकर्तालाई उक्साउने नेतालाई त अवश्य थाहा हुनुपर्ने हो । पार्टी भित्र पनि नेतृत्व अकर्मण्य भएमा, स्वेच्छाचारी भएमा, विधि पद्धतिको पालना नभएमा अथवा पार्टी कार्यकर्ता देश र जनताका हित विपरितका काम कृयाकलाप सम्लग्न भएमा पार्टी भित्रकै अर्का कार्यकर्ताद्वारा विरोध हुन्छ र त्यसले आन्तरिक विद्रोहलाई आमन्त्रण गर्छ भन्ने कुरा नेतृत्वले बेलैमा बुझ्नु पर्दछ ।
राज्यका मुख्य अङ्ग (कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र राष्ट्रपति कार्यालय) सँगै देश कमजोर अनि जनता कमजोर बनाएर आफु बलियो बन्न खोज्ने शासक तानाशाह हो । जसले देशमा महामारी वा भवितव्य वा कुनैपनि दैविक, प्राकृतिक प्रकोप आईपरेमा नाङ्गो भएर विदेशी सँग हात फैलाउने मगन्ते राष्ट्रवादको प्रयोग गर्दछ । जनताको आवाज र देशका प्रबुध्द वर्ग समेतको आवाज दबाउन राज्यशक्तिको प्रयोग गर्ने कार्यले तानाशाह ‘निरो’कै प्रतिरुपको शासक देखिन्छ, जसले विद्रोहलाई निर्विकल्प र अवश्यम्भावी गराएको छ ।
(लेखक अर्याल नेपाली कांग्रेस, केन्द्रिय, COVID 19 अनुगमन समिति सदस्य, नेपाल विद्यार्थी संघ, पूर्व सहमहामन्त्री/कोषाध्यक्ष हुनुहुन्छ)
