
हजारौँलाई पारी तार्ने माझीहरु
कहिल्यै पारी पुग्न सकेनन्
हजारौँलाई माथी चढाउने भ-याङहरु
कहिल्यै आफू उक्लिन सकेनन् ।
खोला तर्दा सहारा दिने लौरोहरु
किन छुटे बीच बाटोमै ?
हेर्दाहेर्दै तिमी,
झुपडीबाट महल बन्यौ
पैदल हिँड्ने खुट्टाहरु
महङ्गा गाडीमा सयर हुन थाले
ढिँडो र गुन्द्रुकमा रमाउने जिब्राहरु
चौरासी व्यञ्जनका सौखिन हुन थाले
तास च्यातेर मुखमा कोचाउनेहरु
जुवाघरको मालिक बन्न थाले
लोकल रक्सिका घ्याम्पा घोप्ट्याउनेहरु
टुबोर्गका डिलर चलाउन थाले
सामाजिक न्यायको वकालत गर्नेहरु
दलाल पूँजिवादको फेरो समाउन थाले ।
कहिलेकाहीँ सोच्छु-
यो भ्रम हो कि वास्तविकता ?
यो सपना हो कि विपना ?
कति सजिलै फेरियौ तिमी !
कति सजिलै बदलियौ तिमी !
आज तिमीलाई
श्रमीकका पसिना गन्हाउन थाल्यो
पटपटी फुटेका कुर्कुच्चाहरु
घिन लाग्न थाल्यो
फाटेका चोली र दौराहरु देख्दा
लाज लाग्न थाल्यो
म जान्दिन !
कसरी बदलिए तिम्रा सपनाहरु ?
कसरी बदलिए तिम्रा विचारहरु ??
कसरी बदलिए तिम्रा प्रतिज्ञाहरु ???
यतिबेला,
हजारौँ सहिदका बलिदानहरुले
गिज्याइरहेको छ
घाइते र अपाङ्गका घाउहरु
चहराइरहेका छन्
अझै पनि बेपत्ता छोराको पर्खाईमा
दोबाटोतिर आँखा डुलाउँदैछिन् बयोबृद्द आमा ।
तिम्रो फेरिएको रुप देखेर
यतिबेला के सोच्दै होलान्
सुरेश वाग्ले र इच्छुकहरु ?
तर तिमी
उही ठाँट र रवाफमा
मुठी कसिरहेका छौ र भनिरहेका छौ –
“महान् सहिदहरु – लालसलाम !
गणतन्त्र नेपाल- जिन्दावाद !”
समीकरण
१५ जेष्ठ ०७८