
काठमाडौं जेष्ठ १३ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको जनाएको छ ।
पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र यास चक्रवातको असरका कारण बिहीबारदेखि शनिबारसम्म उच्च वर्षा र बाढी पहिरोको जोखिम बढेको प्राधिकरणले जनाएको हो ।
प्राधिकरणका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती र लुम्बिनी प्रदेशको तराई भेगमा भारी वर्षा र उच्च वेगको हावाहुरी चल्ने सम्भावना छ भने गण्डकी, वाग्मती र प्रदेश १ को हिमाली एवं उच्च पहाडी भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने सम्भावना छ ।
अरब सागरमा विकसित ‘ताउ–ते’ चक्रवात आएको करिब नौ दिनको फरकमा बंगाल खाडीमा अर्को चक्रवात ‘यास’ आयो । मौसमविद्ले प्रि–मनसुन अवधि मेमा आएका यी दुवै चक्रवात प्रभावका कारण औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेका छन् ।
नौ दिनको अन्तरालमै यस प्रकारको मौसमी प्रणाली विरलै विकसित हुने वरिष्ठ मौसमविद् मणिरत्न शाक्य बताउँछन् । ‘मेरो अध्ययनमा यति छोटो अवधिमा चक्रवात आएर मौसमलाई प्रभाव पार्ने कमै हुन्छ,’ उनले भने, ‘नेपालमा पनि यसको प्रभाव परिरहेकाले मनसुनी वर्षा विगतभन्दा बढी हुने अनुमान गर्न सकिन्छ ।’