
सम्बन्धहरु कहिले कहिले मिठा महकमय भएर आउँछन् र कहिले कहिले तिता । तीता सम्बन्धहरु पनि ओखतीजस्तै भैदिए त्यसले जीवनको अन्त्यसम्म उर्जा र उज्यालो दिन्छ । सम्बन्धका आरोह अवरोह, उकाली ओराली नै जीवनका उर्जाहरुहरु हुन् ।
सम्वन्ध त्यस्तो सूत्र हो जसले मानवका यात्रालाई उचाइमा पु–्याउन टेवा दिन्छ वा रसातलमा भास्न चिप्लेटी खेलाउँछ । सत् सम्बन्धहरुले जीवनलाई उकालो यात्रामा लैजान्छ । असत् सम्बन्धले जीवनलाई भासको दलदलमा लैजान्छ । कृष्णप्रसाद दाहालसँगको मेरो सम्बन्ध पनि यिनै परिधिभित्र छन् जसले मलाई उकाल्न सहयोग गरेका छन् । असजिलो गौडो उकालेर माथि चढाएउने सारथीको रुपमा स्नेहशील प्यार दिएका छन् ।
कृष्णप्रसाद दाहाललाई मैले चिनेको २०४५ सालतिरदेखि हो । म सुनौला बजार नेवारपानीमा जन्मेको हुँ । जहाँका ढुङ्गामाटोले पनि अक्षर चिनेजस्ता थिए त्यतिबेला । हाम्रो घर नेवारपानी भएपनि भात खाने खेत धादिङ्बेसीमै थियो । असार र मंसिरमा लगभग १-१ महिना खेतमा बनाएको धन्सारमा बसिन्थ्यो । अरुङ्खोलाबाट ल्याएको कुलोमा पानी लिन ओहोर दोहोर गरिन्थ्यो । आलि लगाउने, रोपाइँ गर्ने काममा हिंड्न थालेदेखि नै सहभागी भइएको थियो ।
हाम्रो खेतभन्दा खोला पारिबाट एकजना गोरा, मोटा र हँसिला मानिस कोदालो बोकेर कहिले कहिले कुलामा ओहोर दोहोरगरेका देखिन्थे । को होला यति सुकिलो मान्छे ? यति सफा मान्छे पनि काम गरेर खान्छन् होला र ? उनी त कुनै अड्डाका हाकिमजस्ता पो देखिन्छन् । मेरो मनमा उनीप्रतिको एक धारणा थियो त्यतिबेला ।
हाम्रो खेतमा काम गर्न आउने खेतालाहरुलाई रोपाइँमा आइदिन आग्रहको पोको बोकेर तिनै सज्जन एकदिन वारि तरेर उभिए । बुबासँग एकछिन् भलाकुसारी गरेको सुनें । कुरैकुरामा उहाँलाई बुबाले भनेको सुने ‘ यो मेरो जेठो छोरा हो दाहाल सर तपाईँले यसलाई २ महिना जति गणित हेरिदिनु पर्छ । ’उहाँको उत्तर थियो ‘ भैहाल्छ नि आफ्नो बन्धुलाई किन नहेर्नु ?’
कुरो ४५ सालतिरको हो । म भैरवी माध्यमिक विद्यालयमा पढ्थें र उनी नीलकण्ठ माध्यमिक विद्यालयमा पढाउँथे । आफू गणित भनेपछि तीनहात पर भाग्ने, उनी रहेछन् गणितलाई साहित्य जस्तो मोहनीमय बनाएर व्याख्यान दिनसक्ने धुरन्धर ।
कक्षा १० मा बाहेक म सायद कहिल्यै म गणितमा अब्बल अङ्क ल्याएर पास भइन । मेरो गणितप्रतिको धारणा बदल्ने र मलाई त्यतिबेला फलामको ढोका मानिने एस एल सीमा गणित विषयमा त्यो पनि आँशिक परीक्षामा प्रथम श्रेणीमा उतीर्ण गराउने उनै कृष्णप्रसाद दाहाल हुन् ।
त्यतिबेला मोटा मोटा छडी बर्षउँदै हातमा सुम्ला उठाएर विद्यार्थीलाई त्राशका साथ पढाउने जमानामा त्यसरी मोहनीमय आकर्षण दिएर बालबालिकालाई बुझाउन सक्ने त्यसमा पनि गणित विषयका अर्को शिक्षक त मैले देखेकै थिइन कृष्णप्रसाद दाहाल बाहेक ।
त्यसैले त मेरा प्रमााणपत्रका कुनामा बल्ने एक सम्पूज्य ज्योति उनी पनि हुन् ।
बिस्तारै आफू पनि शिक्षण क्षेत्रमा उनकै पथगामी बनेर लागियो । सङगत उसैगरि बाक्लिँदै गयो । गोष्ठीहरुमा, बैठक र छलफलहरुमा उनी रमाइला कुरा गर्थे । शिक्षालाई जनपहुँचमा लैजाने गतिशील बिचारहरु राख्थे – मलाई उनका धारणाहरु रमाइला लाग्थे । यस्तो लाग्दथ्यो कि उनी गणितका विशेषज्ञमात्र नभएर असल र दूरद्रष्टा शिक्षाका योजनाकार पनि हुन् ।
प्रत्येक मान्छे जागिरको दौडमा भौंतारिन्छन् । जागिर नपाउञ्याल नौतिर नमस्ते गर्छन् । जागिर भैसकेपछि मान्छेलाई सजिलो ठाउँ, पैसा आउने मालदार अड्डा र घरपायक मिलाउन हतारो र चटारो चल्छ । मानवको यस्तै प्रवृत्तिले गर्दानेताको भाउ बढ्न जान्छ । जति पछि लाग्न सक्यो उति राम्रो ठाउँ ।
जति भेटी अर्पण गर्न सक्यो उति गतिलो र मालदार अड्डा । जताजतै राम्रा मान्छे भन्दा हाम्रा मान्छे भर्न हतारो हुन्छ मान्छेलाई । यसै बाहनामा नेता, हाकिम,आसेपासे सबैको घोडेदौड चल्छ विद्यालय,कार्यालय,संस्थान कब्जाका लागि । देश भाँडिनु, बिग्रनु र दलदलमा फसाउन पछ्याउने र पछि लगाउने दुबै जिम्मेबार छन् ।

कृष्णप्रसाद दाहाल यी दुबै प्रवृत्तिबाट टाढा थिए । न उनले कसैको चाकरी गरे न कसैको बाँसुरी नै बजाए । उनी त दलभन्दा माथि र झुण्डहरुभन्दा पर रहे । आजकाल दल भन्दा पनि दलका झुण्डहरुको ज्यादा डर छ मान्छेहरुलाई । छँदा खाँदाको घरपायक जागि छोडेर उनी जिल्लाका असजिला भूगोल चहारे ।
जिल्लाभरमा कुन विद्यालयमा द्वन्द्व छ , प्रशासनमा झैझमेला छ ? कुन विद्यालयमा आन्तरिक कटुताले रणभूमि बनेको छ त्यसैमा पठाइन्थे कृष्णप्रसाद दाहाल र सङलिन्थ्यो त्यहाँको धमिलो वातावरण ,मैजारो हुन्थ्यो त्यहाँको झैझमेला र झगडा । साम्य हुन्थ्यो त्यहाँको खिचातानी ।
खै के थियो उनको चेतनामा ? के जादु थियो उनकोे प्रशासनमा कुन्नि ? उनले कसैलाई वर र पर गरेनन् । आफू काँग्रेस निकट प्रजातन्त्रवादी भएपनि उनले कहिल्यै एमाले, माओवादी वा रा.प्र.पा. कसैबाट भनाउ खाएन् वा दाहाल सरले यस्तो खराबी गरेर विद्यालय बर्बाद भयो भन्ने कोही भएनन् । बरु जहाँ जहाँ बर्बाद भएको थियो त्यहाँ त्यहाँ बर्वादीको ओखती लिएर पुगे ।
यसै सिलसिलामा उनी सिद्धेश्वर मा वि नलाङका प्रधानाध्यापकका रुपमा पुगे र त्यहाँ भैरहेको दलीय उग्रतालाई साम्य पारे। बद्री विशाल मा वि बुढाथुम पुगेर त्यहाँको तनाव सङ्लो बनाए र मछिन्द्र मा वि खानीखोलाको प्रधानाध्यापक भएर विद्यालयको गुणस्तर उकास्न भरमग्दुर प्रयास गरे । उनी जहाँ रहे उच्च सम्मानका साथ रहे । शिर ठाडो बनाएर बसे र स्वनामधन्य भएरै बाँचे । न दलीय छिनाझप्टीलाई सकारे, न दलभित्रका झुण्डहरुको पक्षपोषणका लागि शकुनी र शैतानी खिचातानीमा नै लागे ।
उनको शिक्षा क्षेत्रमा भएको दशकौं लामो त्याग समर्पण र निष्ठाको अविचलित योगदानकै कारण ‘दाहाल सर’ उपाधि पर्याय नै बन्यो । सरकारले पनि उनको अनुपम सेवाको कदर गर्दै राष्ट्रिय पुरस्कारले सम्मान गरेको थियो रस्तरवृध्दि गर्दै जिल्लाकै माध्यमिक प्रथम श्रेणीका प्रथम शिक्षक बनाएको थियो ।
आफूले उनको चेलाको रुपमा जम्माजम्मी ४५ दिनजति मात्र उनको घरमा अध्ययन गर्ने मौका पाएपनि कक्षाकोठा बाहिर विशेषतः सामाजिक सांस्कृतिक क्षेत्रमा (त्यो पनि उनको अवकाशप्राप्त जीवनपछि) भेटघाट अलि बाक्लिएको हो । उनी पनि पढेलेखेका र गुदी भएका (उनकै भाषामा) मानिससँग ज्यादा लोभिने र बहस गर्न खोज्ने भएकाले पनि हाम्रो केही केमेष्ट्री मिथ्यो । उनलाई प्रमुख अतिथी र प्रमुख वक्ता बनाएका केही कार्यक्रमहरुमा मलाई होइन नवीनबन्धुलाई बनाउनु भनेर आफू साधारण सहभागी भएको मैले देखेको र अनुभव गरेको छु ।
त्यागी, निःश्वार्थ,दल र झुण्डहरुबाट अलि पर, तलुवा चाटेर, फेटा समाएर पद लिन नचाहने, पुस्तक र दर्शनहरुलाई साथी बनाउने फरासिला, मिजासिला, हँसिला,कसिला कृष्णप्रसाद दाहाल मेरो सम्झनामा अघिल्लो भञ्ज्याङका गुरु र पछिल्लो भञ्ज्याङ्का साथी हुन् ।
उनको निधनले मैले उनीबाट सिक्नुपर्ने धेरै कुरा बाँकि रहे र त्यो बाँकि पूरा गरिदिने मान्छेहरु सायद छैनन् कि भन्ने ठानिरहेको छु ।
nabindahal1000@gmail.com
अक्षर आवास धादिङबेसी धादिङ
२०७८ जेष्ठ १२ धादिङबेसी