राजनीतिमा ओलिको अर्को कुटिल चक्मा !

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ३१, २०७८

एमाले अध्यक्ष केपी ओली तेस्रोपल्ट प्रधानमन्त्री बनेका छन् । ओलीले संसदमा विश्वासको मत गुमाई सकेपछि राष्ट्रिपतिले बहुमतको सरकार निर्माणको लागि ३ दिनको समय दलहरुलाई दिनुभएको थियो ।

विभिन्न रस्साकस्सिका बीच कांग्रेस र माओवादी केन्द्रले त्यो बीचमा बहुमतको सरकार बनाउन गरेको प्रयास विफल भए संगै सबैभन्दा ठूलो दलका नेताको हैसियतमा एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् ।

राष्ट्रपति विद्यादेवि भण्डारीले बिहीबार बेलुका नै संविधानको धारा ७६ (३) बमोजिम ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
यसअघि ओलीले संसदमा विश्वासको मत लिदै गर्दा आफ्नै पार्टीका माधव पक्षीय सांसदहरुले असयोग गरेका थिए । पार्टी भित्रबाटै अन्तर्घातको शिकार बनेका ओली अन्ततः सबैलाई चक्मा दिदै माधव नेपाल सहितको सहमतिमा पुनः तेस्रो पटक प्रधानमन्त्री हुन सफल हुनुभयो ।

ओलीले अब संविधानको धारा ७६ (४) बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। यसको लागि केही अफ्ठ्याराहरु छन् तर माधव पक्ष र जसपा ठाकुर पक्षको साथ पाएका ओलिले यहि सहयोगलाई कायम राख्न सकेमा विश्वासको मतको लागि सहज हुने देखिन्छ ।

बिहीबार दिनभरजसो चलेको रक्साकस्सी बीच संयुक्त सरकार बन्ने वातावरण बनाउन विपक्षी दल असफल भएका भए । तर, प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीचको सघन वार्ता अन्ततः एमालेको लागि सुखद सुरुवात बन्न पुग्यो । एक दिन अघि सम्म ओलिको विकल्पको खोजीमा लागि परेका माधव नेपाल अन्तत तिक्ततालाई थाती राख्दै सहमतिको बाटोमा लम्किए । हुनत पार्टी भित्रको तिक्ततापुर्ण वातावरणले कत्तिको सकारात्मक पहल हुने हो त्यो आगामी दिनले बताउला तर तत्कालको लागि भने राजनितिक गरमागरम केही मत्थर भएको छ ।

ओलिको कुटिल चतुर्‍याइँबाट पार्टी भित्रका ४ नेताहरुको कारबाही फुकुवा लगत्तै घटनाक्रमले नयाँ मोड लिगेको थियो। त्यसको लगतै नेता नेपाल र ओलि बीको करिब चार घण्टा लामो एक निचोड निकल्दै एमालेको सम्भावित विभाजन रोकेर एकताको बाटो तय गर्‍यो । एकता मजबुत गराउन कार्यदल बनाउने सहमति भयो । जसको परिणाम प्रधानमन्त्रीमा ओलीले नै निरन्तरता पाएका छन् । एमालेको असन्तुष्ट पक्षको माग सम्बोधन गर्न र पार्टीलाई थप एकताबद्ध गराउन ओली र नेपालबीच कार्यदल बनाउने सहमति नै प्रम ओलिको लागि फलिफाप सिद्ध हुन पुग्यो ।

विपक्षी बहुमत जुटाउने प्रयास असफल

विपक्षी दल काङ्ग्रेस माओवादीले रास्ट्रपतिले दिएको समय सिमामा बहुमत जुटाउन हरसम्भव प्रयास गरे । प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो संगै एमालेकै असन्तुष्ट पक्ष माधव पक्षलाई समेत सहमतिमा ल्याउन हरसम्भव कोसिस गरे । तर हात लाग्न सकेन । उता जसपाकै उपेन्द्र बाबुराम पक्ष भने बिपक्षी गठबन्धनको सरकार निर्माणको पक्षमा खुलेरै प्रस्तुत भए तर परिणाम शुन्यमा चित्त बुझाउन बाध्य भए ।

सांसदहरूको होटल बसाई

यता ओलि माधव निर्णायक बार्ता चलिरहँदा जसपा ठाकुर र महतो समर्थक सांसदहरु दिनभर भक्तपुर स्थित एक होटलमा बस्न बाध्य भए । उपेन्द्र बाबुरामले सांसदहरुलाई प्रलोभनमा पारेर बिपक्षी गठबन्धनमा तन्ने डरले अध्यक्ष ठाकुरले यो रणनिती अपनाएका थिए । उनि कुनै पनि हालतमा देउवा प्रचण्ड सरकारको पक्षमा नउभिने तर्क गर्दै आईरहेका थिए । राजनितिमा चतुर्‍याई गर्नमा माहिर ओलीले अब सके सम्म जसपालाई सरकारमा आवद्ध गराएर अघि बढ्ने कोसिस गर्नेछन जसको लागि उनले जसपालाई सरकारमा सहभागी हुन आग्रह समेत गरिसकेका छन । आफना सम्पुर्ण माग पूरा नभएसम्म सरकारमा नजाने अडान राख्दै आएका ठाकुर र महतोले पक्ष महत्वपूर्ण मन्त्रालय वा उपप्रधानमन्त्री सम्मको हैसियत पाएमा सरकारमा जान सक्ने संकेत गरेको छ । यदि यसो भएमा र माधव पक्षको निरन्तर साथ पाएमा प्रधानमन्त्री ओलीलाई अबको १ महिनाभित्र विश्वासको मत लिन सहज हुनेछ । अहिले एमालेसँग १२१ सांसद छन् । जसपाको ठाकुर समूहका १७ सांसद भए सरकारलाई स्पष्ट बहुमत पुग्ने देखिन्छ ।

प्रधानमन्त्री ओलीको राजनितीक इतिबृत्ती

ओली २००८ साल फागुन ११ गते तेह्रथुम जन्मिएका हुन् । पछि २०२० सालमा उनको परिवार झापामा बसाई सरेका थिए । २०२३ सालमा माक्सवादी अध्ययन दलमा संगठित भएका ओली २०२५ सालबाट पूर्णकालीन राजनीतिक कार्यकर्ता भए । लगत्तै २०२६ माघमा उनले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरे । २०२७ जेठ ९ गते देखि भूमिगत जीवन सुरु गरेका ओली २०२७ फागुन १६ गते पहिलो पटक झापाबाट गिरफ्तारिमा परे । उनको राजनितिक गिरफ्तारीको ईतिहास हर्ने हो भने २०२७ देखि २०३० सम्ममा १० पटक गिरफ्तार हुँदै रिहा हँदै गरे । २०२८ सालमा झापा आन्दोलन संगठन कमिटी प्रमुखमा मनोनित भएका उनी आन्दोलनमा सहभागी भएकै कारण २०३० असोज २३ गते राज्य विरुद्ध विध्वंसात्मक कार्यमा संलग्न रहेको आरोपमा गिरफ्तार भए र १४ वर्ष सम्म जेल सजाय भोगे ।

त्यसो त ओलिले आफू जेलमै रहँदा २०३५ पुस ११ नेपाल कम्युनिस्ट पार्टी (माक्सवादी–लेनिनवादी) का संस्थापक नेताको हैसियत प्राप्त गरे । यसबाट उनको राजनीतिक जीवन अझ मजबुद र जिम्मेवार बन्न पुग्यो । २०४४ असार ११गते जेल जीवन पूरा गरि उनी रिहा भए । त्यसको केहि महिनापछि पुस २ गते बसेको नेकपा (मा–ले( को केन्द्रीय कमिटी बैठकबाट उनी केन्द्रीय सदस्यमा मनोनयन भए । २०४६ सालमा तत्कालिन नेकपा (माले) को लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी बहन गरे ।

२०४७ जेठ १ मा पार्टीको युवा संस्था प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको संस्थापक अध्यक्ष हुँदै २०४७ पुस २२ नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकीकरण भई स्थापित नेकपा (एमाले) का संस्थापक केन्द्रीय सदस्य चयन हुन सफल भएका थिए ।

मुलुकमा बहुदलीय व्यवस्था स्थापनापछि २०४८ मा पहिलो आमनिर्वाचनमा झापा ६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उनी २०५० सालमा केन्द्रीय प्रचार विभाग प्रमुखको जिम्मेवारी सहित पोलिटब्युरो सदस्य निर्वाचित भए भने २०५१ को मध्यावधी निर्वाचनमा झापा २ बाट प्रतिनिधिसभामा निर्वाचित भए । सोहि वर्ष मंसिर १४ गते पहिलो पटक कम्युनिस्ट पार्टीको नेतृत्वमा गठित सरकारमा गृहमन्त्री बनेका ओली २०५१ सालमै पार्टी संसदीय विभाग प्रमुख चयन भए ।

२०५४ माघमा पार्टीको छैटौं राष्ट्रिय महाधिवेशनमा उनले प्रस्तुत गरेको कार्यनीतिगत प्रस्ताव अत्यधिक मतद्वारा पारित भए संगै स्थायी समिति सदस्यमा निर्वाचित भए भने विदेश विभाग प्रमुखको जिम्मेवारी पनि प्राप्त गरे । २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा हुनि झापा ६ बाट निर्वाचित भए । २०५६–२०५९ सम्म संसदमा प्रमुख प्रतिपक्षी दलका उपनेता भए । उनले २०५९ माघमा पार्टीको सातौं राष्ट्रिय महाधिवेशनमा पार्टीको आन्तरिक लोकतान्त्रीकरण र बहुपदीय प्रणाली सुरु गर्ने प्रस्ताव प्रस्तुत गरे । प्रस्ताव अर्को महाधिवेशनसम्मका लागि स्थगन भयो । स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुखमा पुनः निर्वाचित भए ।

२०६३ सालमा संसद् पुनःस्थापनापछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा विदेशमन्त्री भएका उनी २०६४ सालमा पहिलो संविधानसभा निर्वाचनमा भने पराजित भएका थिए । २०६५–६६ मा पार्टीको केन्द्रीय पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी निर्वाह गरे । २०६५ फागुनमा भएको नेकपा एमालेको आठौं राष्ट्रिय महाधिवेशनमा उनि अध्यक्ष पदको प्रत्यासी भए तर तत्कालीन अध्यक्ष झलनाथ खनालद्वारा पराजित भए । अध्यक्ष पदमा पराजित भए पनि विदेश विभाग प्रमुखको जिम्मेवारीसहित स्थायी समितिमा निर्वाचित भएका थिए ।

प्रधानमन्त्री ओलि २०७० मंसीरमा झापा ७ बाट संविधानसभा सदस्यमा निर्वाचित भए । २०७० माघ २१ गते तत्कालीन पार्टी अध्यक्ष खनाललाई पराजित गर्दै संविधानसभा तथा व्यवस्थापिका–संसदमा दलका नेतामा निर्वाचित भए । २०७१ साउन १ गते नवौं राष्ट्रिय मधिवेशनबाट तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भए । केपि ओली संसदबाट नयाँ संविधान जारी भएपछि २०७२ असोजमा व्यवस्थापिका संसदबाट नेपालको ३८ औं प्रधानमन्त्रीको रुपमा प्रधानमन्त्री पदमा निर्वाचित भए । उनकै कार्यकालमा मुलुकले भारतद्वारा अघोषित नाकाबन्दी सामना गर्नुपर्‍यो । जसलाई ओलीले कडा रूपमा प्रतिवाद गरे । जसका कारण उनी नेपाली जनता सामु लोकप्रिय भए ।

२०७३ साउन ९ मा व्यवस्थापिका संसदमा संबोधन गरी प्रधानमन्त्री पदबाट राजीनामा दिएका उनले २०७३ साउन २० गते नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाललाई सत्ता हस्तान्तरण गरे । पछि फेरि २०७४ फागुन ३ गते माओवादी सहित बहुमतको समर्थनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ४१ औं प्रधानमन्त्रीका रूपमा शपथ लिएका थिए । यसरी राजनितिक जिवनमा अनेक समस्या र अवसरको बीचमा रहेर तिखारिदै आएका ओलीले वर्तमान लोकतान्त्रिक गणतन्त्रको प्रत्याभुती सम्म आइपुग्दा आफुलाई कुटिल रुपमा प्रस्तुत गर्दै आईरहेका छन् । र पुन २०७८ बैशाख ३० गते नेपालको नयाँ प्रधानमन्त्री नियुक्ति भएका छन ।

राजनितिक खेल बन्द गरौं, कोरोना कहरलाई शान्त पार्न तर्फ अग्रसर बनौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्युत गर्ने लामो प्रयास अन्ततः संसदीय लोकतान्त्रिक पद्धतिबाट असफल भएको छ । २०७८ बैशाख २७ मा विश्वास मत गुमाए संगै स्वत पदमुक्त भएका उनी संविधानको धारा ७६ (३) अनुसार सबैभन्दा ठूलो दलको संसदिय दलको नेताको रुपमा फेरि प्रधानमन्त्री चुनिएका छन् । मात्र कुरा फरक यति हो, यस अघि झण्डै दुई तिहाइको सरकार हाँकेका उनी अब भने अल्पमतको सरकारको प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हाल्दै छन् ।

देश अहिले विषम परिस्थितिबाट गुज्रिएको छ । कोरोना महामारीको भुमरीमा देश छटपटाई रहेको छ । दैनिक संक्रमित को संख्या १० हजार हाराहारी पुगेका छन् भने दैनिक मृतकको संख्यात्मक ग्राफ २ सय माथी पुगिसकेको छ । सरकारी होस वा निजी कुनैपनि अस्पतालमा छिर्ने ठाउँ छैन । सिकिस्त बिरामीहरु कोहि घरमा कोहि अस्पतालको पेटीमा छटपटाइरहेका छन्, अझ भनौं मृत्युलाई कुरिरहेका छन । उपचारको अवसर नपाएर अनि अक्सिजनको अभावमा मृत्यु हुने क्रम दैनिक उकालो लाग्दो छ ।

पहिलो लहरमा त्यती ठूलो असर पार्न नसकेको कोरोनाले दोश्रो लहरको सुरुवात संगै यस्तो भयावह रूप लिइरहेछ कि अब हाम्रो क्षमताले धान्ने र नियन्त्रण बाहिर जाँदैछ । नेपालको कोरोन कहर अब विश्वको मुख्य समाचार बनिसकेको छ । रोग संगै भोक र शोकको प्रताडनामा जनता होमीदैछन् । तर हाम्रा राजनीतिज्ञहरू सत्ता खेलमै लिप्त भई उदाङ्ग लाचारिपन देखाईरहेका छन् । दोश्रो लहरको सुरुवाती चरणमा दलहरूकै स्वार्थ लिप्त शक्ति प्रदर्शनमा मानव महासागर उर्लिंदा कोरोना कहर सर्वत्र फैलिएको प्रष्ट छ । नेताहरुको कुबेलाको त्यो लाचार हर्कतले अबको परिदृश्य के भन्ने आकलन गर्न नसक्ने अबस्था सिर्जना भएको छ । नेताहरू त मास्क लगाएर मुख ढाकेर शरम पचार्इ रहेका छन् तर जनतालाई त अब त्यही मुख ढाक्ने मास्क पाउन पनि हम्मे हम्मे पर्ने अवस्था देखिएको छ । आखिर जनताको सुरक्षाको ज्ञारेन्टिको प्रत्याभूति खोइ ?

२०७४ को आमा निर्वाचनमा वाम गठबन्धनले झन्डै दुईतिहाइको जित निकाल्दा अब देश स्थिरतामा जाने भयो समृद्ध र सुखी नेपालको उखानले सार्थकता पाउने भयो भन्नेमा सबै ढुक्क थिए । तर जनताबाट ५ बर्षको मेन्डेड पाएको सरकार बनेको ३९ महिनामै सांसदको किन बेछ र मोलमोलाईमा हामी पुग्यौं । अर्काको पार्टी फुटाएरै होस वा आफ्नै पार्टी छिन्न भिन्न परेर किन नहोस्, सत्ताको कुर्सी चढ्ने परिस्थिति हामी आफैले निम्त्यायौं । यो संक्रामक र आत्मघाती रोगको पहिलो शिकार झन्डै झण्डै एमाले नै बनिसकेको थियो । तर रामबाणको अचुक औषधिले रोग केही मत्थर हुन पुग्यो ।

ओलीलाई जसरी पनि सत्ताबाट हटाउने जबर्जस्त अभियानका खुरापाती खेलका कारण देश झन्डै दुई वर्ष राजनीतिक प्रदूषणको मारमा पर्‍यो । बहुमतको कम्युनिस्ट एकीकरणलाई खोल्सिमा मिल्काईयो । करिब दुईतिहाइको सह–अध्यक्ष बनेका पुष्पकमल दाहाल आफ्नै विश्वास पात्रहरु गुमाउदै खोक्रिएको दल माओवादी केन्द्रकै अध्यक्षमा खुम्चिए । एमाले वरिष्ठ नेता नेपाल र उनको गुट पार्टीभित्र शरणार्थीको भेषमा लुसुक्क छिर्न वाध्य भए । ओली बा को ट्याग लगाईएका प्रधानमन्त्री केपि ओली २ तिहाई बहुमतबाट अल्पमतमा खस्किए । रणनैतिक फोहोर खेलमा काङ्ग्रेस तर्सिए, जसपा चर्किए । मात्र ब्यक्तिगत लाभको आशामा सबैले अफ्नो वजन घटाए । अब पनि पाठ नसिक्ने हो भने सबै दललाई ठूलो भड्खालो तयारी अवस्थामा छ जुन स्वयंले निर्माण गरेका छन् । त्यसैले अब विगतको निर्मम समीक्षा गर अनि आफूलाई जनउत्तरदायी र जिम्मेवार बनाउ ।

लाग्छ दलहरु अझै अर्को दाउमा छन । संविधानको धारा ७६ (४) अनुसार अब प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत पाउनुपर्छ । अनेक प्रयास हुनेछन विश्वास मत तुहियाउन । अब विश्वासको मत तुहियाउनु भनेको संविधानतः प्रतिनिधिसभा विघटन हुनु र अर्लि इलेक्सन तर्फ देश जानु हो । तर यो अवस्था आएमा हाम्रो कुनै पनि सामर्थ्यले नथेक्ने पक्का छ । कोरोना कहरले थिलो थिलो पारेको हाम्रो आर्थिक क्षतिलाई चुनाबको नाममा फेरि अर्थतन्त्र लाई दोहनमा लाने कोसिस गर्नु राष्ट्र र नागरिकप्रतिको ठूलो धोका र बेइमानी हुनेछ । त्यसैले मुलुकलाई आर्थिक ब्यायभारबाट जोगाउन र सबै मिलेर संक्रमण कालिन अवस्थालाई परास्त गर्न यो सरकारमाथि विश्वास दिएर विघटनबाट रोक्नु हो । राजनितिक खेल खेल्ने समय त पछि पनि आउँछ तर ज्यान बाच्न पर्‍यो अनि संभाव्य वातावरण निर्माण गर्नुपर्‍यो ।

अब राजनितिक खेल पुगिसक्यो । बन्द गरौं सत्ता खेल अनि घमण्डको तुस । फेरि सरकार ढाल्ने वा अग्रिम चुनाव गराउने हर्कतमा नलागौं जुन कदापी फलदाई हुदैन । व्यक्तिलाई नाङ्गो बनाउने नाममा व्यवस्थालाई संकटमा पार्नु हामी आफै संकटमा पर्नु हो । सबै मिलौं, सबै जुटौं, कोरोनाविरुद्ध लडौं अनि जनताको पिडामा मलम पट्टि लगाउने कोसिस गरौं । जनताको एकमुठ्ठि स्वासको सुरक्षा गर्नु राज्यको दायित्व हो भने त्यसलाई साथ दिनु हरेक राजनीतिक पार्टी, कार्यकर्ता नागरिक समुदायको कर्तव्य हो । फेरि एक साथ मानव सएवामा सेवामा जुटौं, सामुहिक ऐक्यबद्धतामा गुमेको राजनीतिक शाख फर्काउने र ईतिहासलाई बचाउने प्रण गरौं । राजनितिक शान्ति र स्थायीत्वलाई सार्थक बनाउदै कोरोना कहरलाई शान्त पार्न तर्फ अग्रसर बनौं । कोरोना संग लड्दै जाँदा यसलाई परास्त सहित अर्थतन्त्र सुदृढ हुँदै जाला अनि नियमित चुनावको समय पनि आउला । त्यतिबेला गर्वका साथ जनतामा जान सकियोस अनि भन्न सकियोस समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना साकार पार्न हामी सबै एक छौं ।