धादिङ, बैशाख २९ । गैरआवासीय नेपाली संघले मध्यपुर्वबाट ६०० थान अक्सिजन सिलिन्डर नेपाल पठाउने भएको छ । अक्सिजन अभावका कारण कोरोनाबाट संक्रमितहरुको मृत्युदर बढ्न थालेपछि उक्त पहल थालिएको हो ।
नेपाली दुतावास ओमनको सहकार्यमा ४० लिटर क्षमताका ६०० वटा अक्सिजन सिलिन्डर नेपाल पठाउने प्रकृया अघि बढिसकेको जनाइएको छ । “कोभिडको विषय परिस्थितीमा सिंगो मध्यपुर्वका नेपालीको अभियान, ६ सय अक्सिजन सिलिन्डर मार्फत दैनिक १२ सय नेपालीलाई जीवनदान” भन्ने नाराका साथ एनआरएन मध्यपुर्वद्धारा अभियानको थालनी गरिएको हो ।
आइतबारसम्मका नेपाल पठाउने तयारी भईरहेको अक्सिजन सिलिन्डर लैजानका लागि ओमनस्थित नेपाली दुतावासले परराष्ट्र मन्त्रालय मार्फत नेपाल एयरलायन्ससँग समन्वय गरिरहेको छ ।
६०० थान सिलिन्डर पठाउन करीब ७५ लाख रुपैया लाग्ने भएपछि मध्यपुर्वमा रहेका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समितिहरुले रकम संकलन गर्ने काम गरिरहेको छ । संकलित गरिएको रकमबाट सिलिन्डर खरीदमा अपुग भएमा बाँकी रकम गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समितिले ब्योहोर्ने निर्णय समेत भएको छ ।