सिद्धेलक गाउँपालिकामा, यो कोरोना संकटमा पनि शिक्षकलाई विद्यालय जानै पर्ने उर्दी

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २३, २०७८

धादिङ बैशाख २३ । धादिङको सिद्धलेक गाउँपालिकाले बढ्दो कोरोना भाईरस संक्रमणबाट बच्न विद्यालयमा विद्यार्थीलाई उपस्थिति गराई पठन पाठन गराउन बन्द गरे पनि शिक्षकहरुलाई भने विद्यालय गई अनिवार्य हाँजिर गर्नुपर्ने वाध्यता छ ।

पढाउनु पर्दैन, १-२ घण्टा गफगाफ गर्न गर्छौ अनि हाजिर लगाएर फर्किन्छौ हाजिर गर्न शिक्षकलाई अनिवार्य विद्यालय जानु पर्ने वाध्यता रहेको एक शिक्षकले बताए ।

अनलाईन मिटिङ गर्न सकिन्छ, पठन–पाठन पनि अनलाईनबाटै सुरु गरे हुने हो । कोरोनाको जोखिम दिन दिनै बढ्दो छ, तर गाउँपालिकाको शिक्षा समितिले अनिर्वाय विद्यालय गएर हाजिर गर्न भनेको छ ति शिक्षकले बताए ।

यस विषयमा हामीले सिद्धलेकका शिक्षा शाखा प्रमुख प्रविन बाबू भट्टराईलाई किन यो कोरोनाको महामारीमा शिक्षकलाई विद्यालय जान उर्दी गर्नु भएको भनेर जिज्ञासा राख्दा शिक्षकहरु विद्यालय जानै पर्ने बताए ।

शिक्षा शाखा प्रमुख भट्टराई भन्छन्, विद्यालयमा पठनपाठन नभए पनि शिक्षकको धेरै काम छ, हामीले १-२ घण्टा गफ गर हाँजिर गर अनि फर्क भनेका हैनौं । बैकल्पिक शिक्षण विधिका विषयमा छलफल गर्नोस् भनेका छौं, यस विधिका लागि नेपाल टेलिकमको सीयुजी सेवा भन्ने छ यस्लाई एप्लाई गर्नोस् भनेका छौं ।

यो सेवा लिन शिक्षकहरु विद्यार्थीको घर-घर समेत सिम वितरण गर्न जानु पर्न सक्छ । काम भएरै शिक्षकलाई अनिवार्य विद्यालय जान भनेका हौं उनले भने ।

कसरी लिने टेलिकमको निःशुल्क सीयुजी सेवा
नेपाल टेलिकमले देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीका लागि महामारीको अवस्थामा शिक्षाबाट वञ्चित हुनु नपरोस् भनी नेपाल सरकारले लागू गरेको आकस्मिक शैक्षिक योजना २०७७ अन्तर्गत पठनपाठनका लागि सहुलियत दरमा ‘पाठशाला सीयुजी सेवा’ उपलब्ध गराएको छ ।

यस सेवाअन्तर्गत कुनै एक सार्वजनिक विद्यालयसँग सम्बद्ध भई कम्पनीको संस्थागत प्रयोगकर्ता समूहमा आबद्ध हुन सेवाग्राहीलाई मासिक जम्मा रु ९९ मात्र (सरकारी कर र स्वामित्व करबाहेक) लाग्दछ ।

‘पाठशाला सीयुजी सिम’ योजनामा आबद्ध हुन टेलिकमको जीएसएम वा सिडिएमए प्रिपेड मोबाइल नम्बर आवश्यक पर्दछ ।

पहिलेदेखि नै प्रयोगमा रहेको प्रिपेड सिमकार्डलाई उक्त योजनामा आबद्ध गर्न सकिने र प्रिपेड सिमकार्ड नहुनेका लागि निःशुल्करुपमा नयाँ प्रिपेड सिमकार्ड लिन सक्नेछन् ।

विद्यालयले ‘पाठशाला सीयुजी सिम’मा आबद्ध हुने सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकको मोबाइल नम्बर र नामसहितको विवरण तोकिएको ढाँचामा तयार गर्नुपर्दछ । सो विवरण स्थानीय तहको सिफारिसका साथ नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गरी शुल्क भुक्तानी गर्नुपर्दछ । त्यसपश्चात् सो ग्रुपमा आबद्ध सबै मोबाइल नम्बरमा एसएमएस मार्फत पाठशाला सीयुजी सेवाको जानकारी उपलब्ध हुनेछ ।