अब संक्रमण रोक्न सकिँदैन, न्यूनीकरणमा ध्यान दिउँ -विज्ञ

Avatar photo
Dhadingpost
सोमवार, बैशाख १३, २०७८

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या तीव्र गतिले बढिरहेको छ। गएको २४ घण्टामा मात्र तीन हजार बढी संक्रमित भेटिए। सोही अवधिमा २८ जना संक्रमितले ज्यान गुमाएका छन्।

विभिन्न प्रयोगशालाहरुमा गरी ९ हजार २ सय ९२ जनाको पीसीआर परीक्षण भएको थियो। कूल परीक्षण संख्या र संक्रमण पुष्टि हुने संख्याको अनुपात हेर्दा हरेक एक सय जनामा ३३ जना संक्रमित भएको देखिन्छ।

संक्रमणको यो ग्राफले भयावह चित्र देखाउँछ। छिमेकी देश भारतमा देखिइरहेको दारुण अवस्थाले नेपालीलाई नराम्ररी झस्काएको छ। यो अवस्थालाई विश्लेषण गरिरहेका संक्रामक रोगका विज्ञ चिकित्सकहरुले सचेत गराइरहेका छन्। तर, सरकारको तयारी र आमजनको होसियारी दुवै कोरोनाको यो गतिमा बिराम लगाउने खालको देखिदैन।

सुनामीको ‘काष्टिङ’
विज्ञहरु संक्रमणको यो अनुपातलाई सामान्य रुपमा लिन नहुने बताउँछन्। शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोला समुदायमा तीव्ररुपमा संक्रमण फैलिरहेको प्रमाण यो तथ्यांक भएको बताउँछन्। उनी भन्छन्, ‘यो तथ्यांकले समुदायस्तरमा संक्रमण तीव्र गतिमा बढिरहेको संकेत यो तथ्यांकबाट मिलेको छ। नेपालमा कुन दरले कोरोना फैलिरहेको छ भन्ने कुराको उदाहरणका रुपमा पनि यसलाई लिन सकिन्छ।’

त्रिवि शिक्षण अस्पताल कोभिड व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दास नेपालमा संक्रमणको दर बढ्छ होइन, बढिसकेको प्रमाणका रुपमा यसलाई लिन्छन्। उनी भन्छन्, ‘यो सुनामीको सुरुको लहर अर्थात् काष्टिङ हो। काष्टिङमै हाम्रा अस्पतालहरु भरिएका छन्। अहिले काठमाडौंका अस्पतालहरुमा आईसीयू बेड पाउन मुश्किल छ। साँच्चै कोरोनाको ‘सुनामी’ आयो भने नेपालमा कस्तो अवस्था हुन्छ होला? त्यो हामीले कल्पना गरेको भन्दा भयावह दृष्य हुनेछ।’

डा सन्तकुमार दास

समुदायमा संक्रमण तीव्र गतिमा फैलिदै गएको र संक्रमितको संख्या दैनिक बढिरहेको डा बास्तोलाले बताए। उनले थपे, ‘यो अनुपातले हामी कहाँ छौं? कस्तो अवस्थामा छौँ? भन्ने कुरासमेत स्पष्ट पार्छ।’

यो कोरोनाको अंकगणित हो। कोरोना संक्रमणले दिइरहेको पीडाको ग्राफ यो अंकगणितभन्दा फराकिलो छ। बिरामीहरु बेड नपाएर भौतारिनु परेको घटनाहरु बग्रेल्ती सुन्नुपरेको छ। रोगसँगै तनावको भारीले थिचिएका बिरामी र उनीहरुका आफन्तलाई ‘बेड छैन’ भन्ने उत्तर दिनुपर्दा चिकित्सककै मन भारी हुने गरेको छ। डा बास्तोला र डा दासका अनुसार आईसीयू र भेन्टिलेटर भरिँदै गएका छन्। मृत्युदर पनि दैनिक बढ्दो छ।

९० प्रतिशतलाई अक्सिजन आवश्यक
कोरोना संक्रमणले बिरामी पार्ने असरमा पनि धेरै फरक पाइरहेका छन् डाक्टरहरुले। गत वर्षको कोरोना लहरभन्दा यो वर्ष गम्भीर बिरामीको संख्या बढ्दो छ। डा दास तथ्यांक अघि सार्छन्, ‘नेपालमा अघिल्लो पटकको कोरोना संक्रमण कुल पोजिटिभ केसमध्ये थोरै प्रतिशत संक्रमतिलाई मात्र भर्ना हुनुपर्ने तथा अक्सिजन आवश्यक पर्ने गरेको थियो।’

अहिले गम्भीर अवस्थाका संक्रमितहरु धैरै भएको उनी बताउँछन्। यसअघि भर्ना भएका बिरामीमध्ये ६० प्रतिशतलाई मात्र अक्सिजन आवश्यक पर्ने गरेकोमा अहिले त्यो बढेर ८० देखि ९० प्रतिशत पुगेको उनले बताए। ‘यसले गर्दा हामीलाई व्यवस्थापन गर्न चुनौती बढेको हो। हामी संक्रमितको उपचार व्यवस्थापन गर्न लागिरहेका छौं। हरेक दिन शय्याहरु व्यवस्थापन गर्दै गइरहेका छौं,’ उनले भने।

अन्य रोगका बिरामीसँग कोरोनाको चुनौती
कोरोना संक्रमण बढ्दै जाँदा सम्पूर्ण राज्यसंयन्त्रको ध्यान त्यतैतिर केन्द्रित हुन्छ। तर, ठूलो संख्यामा अन्य रोगका बिरामी पनि अस्पताल धाइरहेका हुन्छन्। त्यसैले अहिले अस्पतालका अधिकांश बेड ननकोभिड बिरामीहरुले भरिएको उनी बताउँछन्।

यसपल्ट लकडाउन नभएको वा नगर्ने सरकारको नीतिले ननकोभिड बिरामीहरु अस्पताल आउने क्रम रोकिएको छैन। ‘हामीले पनि कोरोना लाग्छ, उपचार गर्नै नआउनू भन्न मिल्दैन,’ डा दासको भनाइ छ, ‘यही अवस्थामा कोरोना संक्रमणको दर यति धेरै बढ्यो कि हामीले व्यवस्थापन गर्नै सकेनौं।’

शय्यामा सुतिरहेका ननकोभिड बिरामीलाई घर जानुस् भन्न नमिलेको कारण दुवै बिरामीको व्यवस्थापन गर्न योपटक मुश्किल परिरहेको उनी बताउँछन्। यसैपनि कोरोनाको व्यवस्थापनसँगै अन्य रोगका बिरामी व्यवस्थापन गर्नु ठूलो चुनौती हुन्छ।

सामान्य अवस्थामा सामान्य बिरामी भएपनि घरमै बस्ने जोखिम उठाइँदैन। घरमै बसेर सेवा लिन सम्भव बिरामीका लागि अस्पताल नगइदिएर सहयोग गर्नुपर्ने चिकित्सकहरु बताउँछन्।

डा बास्तोला भन्छन्, ‘अनावश्यक रुपमा अस्पताल भर्ना हुने क्रमलाई कम गर्नुपर्छ। अस्पताल नगई घरमै बसेर फोनबाट परामर्श लिएर उपचार संभव हुन्छ भने घरमै बस्नुपर्छ। यस्तो गर्दा शय्याको एकदमै आवश्यकता हुने बिरामीले उपचार पाउँछन्।’

डा अनुप बास्तोला

बेड र अक्सिजनको अग्रिम बन्दोबस्त
कोरोना संक्रमणको दर यही ढंगले बढ्ने हो भने केही दिनममै अस्पतालको बेड अभाव हुने स्थिति सिर्जना हुन सक्नेतर्फ चिकित्सकहरु सचेत गराउँछन्।

यसले गर्दा परेको बेला व्यवस्थापन गर्न मुश्किल परेको पूर्वअनुभव छन्। संक्रमण बढिरहेको संकेत स्पष्ट मिलिसकेकाले कोभिड उपचारका लागि वैकल्पिक व्यवस्थापनमा सरकार र सरोकारवाला सक्रिय भइहाल्नुपर्ने डा दासले देखेका छन्।

डा बास्तोलासँग यसका लागि एउटा उपाय छ, ‘अन्य अस्पताल तथा मेडिकल कलेजलाई पनि कोभिडको उपचारका लागि शय्या व्यवस्थापन गर्ने व्यवस्था गर्नुपर्छ। अहिलेको अवस्था हेर्दा संक्रमितको संख्या ह्वात्तै बढेर जान सक्छ।’

सरकारले अस्पतालहरुसँग समन्वय गरेर अस्पतालहरुमा अक्सिजनको क्षमता कति छ? जनशक्तिको अवस्था के छ? कतिसम्म संक्रमित धान्न सक्छन्? भन्ने विषयमा सोधखोज गर्नुपर्ने डा दासको सुझाव छ।

उनी थप्छन्, ‘कहाँ कुन जनशक्ति अभाव र आवश्यकता छ हेरेर बढि आवश्यक भएको ठाउँमा आवश्यक नभएको ठाउँको जनशक्ति परिचालन गर्नुपर्छ। त्यसको लागि सरकारले राष्ट्रिय स्तरमै जनशक्तिको लिस्टिङ गर्न जरुरी छ। देशभरका जनशक्तिलाई प्रयोग गर्न सक्यो भने कोरोना संक्रमणको कारण हुने ठूलो क्षतिलाई कम गर्न सकिन्छ।’

संक्रमण दर यही अवस्थामा बढ्यो भने अक्सिजन अभाव हुनसक्ने संकेत देखिएको डा दास बताउँछन्। ‘अक्सिजन लगायतका स्वास्थ्य सामग्रीहरुमा भारतमा भर पर्ने गरेका छौं। भारतले निर्यातमा प्रतिवन्ध लगाएको अवस्था छ,’ उनले भने।

मापदण्ड पालनामा रोलमोडल बन्नुपर्ने सरकार
सरकारलाई कोरोना संक्रमण बढेको जानकारी छ। आम नागरिकलाई पनि कोरोनाको जोखिम अवगत छ। तर, हेलचक्र्याइँ बढिरहेको बताउन अहिले भइरहेका गतिविधी हेर्दा हुन्छ। सरकारले २५ जना भन्दा बढी भेला हुन नपाउने आफ्नो निणर्य आफैं उल्लघंन गरिरहेको छ।

आइतबार मात्रै बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकसय जना भन्दा बढी नेता कार्यकर्ता बोलाएर बैठक गरे। यसैको सिको आमजनले गर्छन्। निणर्य गर्ने र त्यसलाई कार्यान्वयन गराउन लागि पर्नुपर्ने सरकारको यस्तो हर्कतको सार्वजनिक रुपमा नै आलोचना भइरहेको छ।

डा बास्तोला यसैमा जोड दिन्छन्, ‘सरकारले अहिले कोरोना नियन्त्रणका लागि विभिन्न निणर्यहरु गरेको छ। ती सबै निणर्यहरु जसरी हुन्छ, कार्यान्वयन गर्नुपर्छ। सरकारले गरेका निणर्यहरु कार्यान्वयन मात्र हुने हो भने धेरै हदसम्म कोरोना नियन्त्रण गर्न सकिन्छ।’

सरकारले केही आदेशहरु राजपत्रमा प्रकाशित गरेपनि त्यो पालना नभएको डा दास पनि ध्यानाकर्षण गराउँछन्। ‘सरकारी तहबाटै त्यो आदेश पालना भइरहेको छैन। त्यसैले सरकार आफै पहिलो रोलमोडल हुनुपर्‍यो,’ उनले भने, ‘जसले गर्दा जनताले सरकारको कार्यलाई अनुशरण गरोस्। यस्तै सरकारले गरेको आह्वानले मात्र पुगेन भने सरकारले कडा कदम चालेर भएपनि आदेशहरु पालना गराउनुपर्छ ।’

जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कुरामा आमसमुदाय नै लापरबाह देखिन्छ। ‘अझै पनि मानिसहरुले कोरोनालाई सामान्य रुपमा लिने गरेका छन्। तर, यो सोचेजति सामान्य छैन। जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्नैपर्छ। मास्क अनिवार्य रुपमा लगाउनैपर्छ। मास्क लगाउने विषयलाई सबैले प्रमुख प्राथमिकतामा राख्नुपर्छ। अत्यावश्यक काम बाहेक बाहिर निस्कनु भएन,’ डा बास्तोला भन्छन्।

संक्रमण रोक्न सकिदैन, न्यूनीकरण ध्यान
संक्रमण रोक्ने अवस्थाबाट हामी धेरै पर पुगिसकेको चिकित्सकहरु बताउँछन्। त्यसैले यतिबेला संक्रमण रोक्ने गफ होइन, न्यूनीकरण गर्ने यथार्थबाट सोच्न उनीहरु सुझाउँछन्। डा दास भन्छन्, ‘अब आएर सकिदैन। हामीले न्यूनीकरण गर्न मात्र सक्छौं।’

बिरामीको संख्या बढ्दै जाँदा बेडको अभाव हुन्छ नै। त्यसैले सकेसम्म बिरामी भएर आईसीयूसम्म जानबाट रोक्ने उपायको खोजी गर्नुपर्ने डा बास्तालाको सुझाव छ। उनले भने, ‘आईसीयू बेडसम्म पुग्ने वातावरण बन्न दिनु भएन। संक्रमणको दरलाई जसरी पनि रोक्नु नै पहिलो प्राथमिकता हो।’

द्रुत गतिमा संक्रमण फैलिएका र फैलन सक्ने क्षेत्रलाई सरकारले कडाइका साथ व्यवस्थापन गर्नुपर्ने चिकित्सकहरु बताउँछन्। त्यसैले आमजनले सरकारको मुख मात्रै ताकेर नबस्न उनीहरुको आग्रह छ। ‘कोरोना संक्रमण रोक्ने दायित्व हामी सबैको हो । संक्रमणको असरलाई न्यूनीकरण गर्न सबैभन्दा महत्वपूर्ण भूमिका हामी जनताकै हुन्छ,’ डा दासले भने।

देशमा स्वास्थ्य सेवा प्रणाली त्यति बलियो भइनसकेको अवस्थालाई मध्यनजर गरेर सचेत रहन उनी आग्रह गर्छन्। उदाहरण दिए, ‘भारतजस्तो देशको हेल्थ केयर सिस्टम ध्वस्त भएको अवस्था छ। यस्तो अवस्थामा हामी जनता आफै सचेत भएनौं भने हाम्रो देशले धान्न सक्दैन।’

कोरोनाबाट बच्न सकिने अर्को उपाय भनेको कोभिड १९ विरुद्धको खोप हो। डा बास्तोला जोड दिन्छन्, ‘सरकारले जति सक्छ, खोपलाई प्राथमिकता दिनुपर्छ। खोप ल्याउन सरकारले रणनीति बनाउनुपर्छ। खोपलाई सर्वसुलभ बनाउन ठुलो कोशिस गर्नुपर्छ। खोप सबैभन्दा ठुलो प्राथमिकतामा राख्नुपर्छ।’ नेपाल लाईभबाट