भुकम्प २०७२ लाई फर्केर हेर्दा…

Avatar photo
Dhadingpost
आइतवार, बैशाख १२, २०७८
भुकम्पले भत्किएको नलाङ सुन्दरीपानी स्थित एक किसानको घर

गोरखा केन्द्र बिन्दु परेर गएको ७.६ म्याग्निच्युडको महाविनासकारी भुकम्पको आज छैटौं स्मृति दिवस २०७२ बैशाख १२ गते काठमाडौ उपत्यका सहित नेपालका १४ जिल्लामा नराम्ररी क्षति सहित देशका अन्य थुप्रै जिल्लामा हलचल मच्चाएको त्यो दिन सम्झदा आज पनि मन त्रसित भैदिन्छ ।

जसबाट ९ हजार भन्दा बढिले मृत्यु वरण गर्नुपर्‍यो भने २२ हजार भन्दा बढी घाईते भए । उक्त भुकम्पमा परि १० लाख निजि आवास, ७ हजार ५५३ बिद्यालय, १ हजार भन्दा धेरै स्वास्थ्य संस्था, ४१५ सरकारी भवन, ९२० साँस्कृतिक सम्पदा, २ सय भन्दा बढी खानेपानी संरचना, ४ सय सुरक्षा निकायको सम्रचना संगै अन्य कैयौं संरचनाहरु माटोमा बिलिन हुन पुग्यो ।

त्यसो त त्यतो बेला नै युएनओको रिपोर्टले नेपालमा उक्त भुकम्प बाट ८० लाख भन्दा धेरै जनसंख्या प्रभावित भएको तथ्यांक निकालेको थियो । तथ्यांक हेर्दा नेपालले वि.स. १३१० मा ठूलो भुकम्प गएको थियो । यहि तथ्यलाई आधार मान्ने हो भने प्रत्यक ७० देखि ९० वर्षको अन्तरालमा ईतिहास देखि अहिले सम्म नेपालले १० भन्दा धेरै ठुला भुकम्पको सामना गरिसकेको छ । जसबाट हजारौले ज्यान गुमाएका छन भने लाखौ भौतिक संरचनाहरु ध्वस्त भएका छन् ।

भुकम्प एउटा प्राकृतिक प्रकोप हो, कतिबेला कहाँ र कुन रुपमा आउँछ पुर्व आकलन गर्न कठिन छ । भुकम्पलाई न रोक्न सकिन्छ न छेक्न नै मात्र हामीले अपनाउने भनेको यसबाट हुन सक्ने क्षति र सम्भाव्य जोखिमलाई कम गर्ने र आफुलाई बचाउने प्रयास मात्र हो ।

भुकम्प आफैले मार्ने पनि होईन, हामीले बनाएका भौतिक संरचना भत्कदा दुर्घटना निम्तने र ठुलो क्षति हुने हो । गलत भौतिक संरचना र गलत सुचना कै कारण २०७२ को भुकम्पमा ठूलो क्षति बेहोर्नु पर्यो । भुकम्प आउँदा टेवल मुनि, खाटमुनी लुक्ने, केही चिजमा आड लागेर बस्ने जस्ता अव्यवहारिक र न्युनतम ज्ञानको भ्रमले गर्दा बच्ने समय भएरै पनि ज्यान गुमाउन पुग्छन् । त्यसैले प्राकृतिक बिपत्तिको ठुलो रुप भुकम्प बारे मानविय धारणा र ब्यबहारिक ज्ञानलाई फराकिलो बनाउन तर्फ हामी अग्रसर हुनु जरुरी छ ।

धादिङ बसेरीमा भुकम्प पिडितलाई खाद्यान्न वितरण गर्दै वेल्जियमका समाजसेवी

भुकम्प सुरक्षा र यसको जोखिम न्युनिकरणको लागि समय समयमा केन्द्रीकृत अध्ययनहरुले विभिन्न रिपोर्टहरु बनाउने गर्छन, सम्भाब्य साङ्केतिक जोखिमको मुल्यांकन पनि गर्छन् तर सोही अनुसार भौतिक संरचना लगायतको निर्माणमा केन्द्रित भैदिएन भने समस्या जहाको त्यहि । हुन त परम्परागत संरचनाहरु कमजोर होईनन तर ईतिहास देखिको पुरानो र जिर्ण भैसकेको संरचनाको सुधारमा पहल गर्न नसक्नु हाम्रो कमजोरी नै हो ।

भुकम्प पछिका दिनमा देखिएका यावत समस्याहरुले मन छिया छिया बनाए तर संबेदनसिलताको विकल्प केहि देखिएन । आफन्त गुमाउनुको पिडाको चीत्कार अनि हस्पिटलमा घाईते संग भएका परिवार आफन्तहरुको चिच्चाहट सम्झन नचाहेरै पनि आँखामा झलझली आईदिन्छ ।

बाहिर निल्लेर हेर्दाको भौतिक संरचना माथिको त्यो अत्यास लाग्दो उराठपन अनि अस्थायी रुपमा केवल एउटा त्रिपालको सहाराम महिनौ गुजार्न वाध्य मानव परिस्थिति, यी सबैलाई फर्केर हेर्दा आखिर प्रकृति नै त रहेछ बिनासको आधार पनि भन्ने आभास हुन्छ ।

धादिङबेसीमा उद्दार तथा खाद्यान्न ओसारपसार गर्दै अमेरिकी ओसप्रे र धादिङका ३ नेता

व्यवसायीकताको नाममा हुने जग्गा प्लटिङ, फडानी अनि अध्यायन बिनाको पहाड कटानिले यस्ता जोखिमलाई अझ धेरै बढवा दिएको छ यता तर्फ बेलैमा सोचिएन भने फरि यो भन्दा ठूलो क्षतिको सामना गर्न नपर्ला भन्न सकिने अवस्था छैन ।

७२ को भुकम्प पछि थुप्रै घरहरु भत्किए, मठ मन्दिरहरु बिलिन भए, हाम्रो ऐतिहासिक सान धरोहरा सेकेण्ड भरमै माटोमा मिल्न पुग्यो, अन्य थुप्रै सामाजिक, साँस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका थुप्रै संरचनाहरु ध्वस्त भए । अब यी सबैको भुकम्प प्रतिरोधी तरिकाले निर्माण सम्पन्न गर्नु हाम्रो जिम्मेवारी बनेको छ । पुन निर्माण कार्य नभएका होईनन यसलाई अझै चुस्तता दिनु जरुरी छ ।

मानविय संवेदनशिलतालाई नै चुनौती दिने यस्ता प्रकारका बिपत्तिको सामना हामी मनवको पहुँच भन्दा धेरै टाढाको कुरा बन्ने नै भयो तर हाम्रो सानो सजगता पनि बाच्ने सम्भावनाको आधार बन्न सक्छ । नेपालमा साना ठुला सबै खालक भौतिक संरचनाहरु भुकम्प प्रतिरोधी बनाउने भनेर संरचनागत डिजाईनर सहितको मापदण्ड समाबेश गरि राष्ट्रिय भवन सम्हिता निकै अघि १९९४ मा निर्माण गरिए पनि पाठ्यक्रममा समाबेस गर्न सकेको छैन ।

यो एक ठूलो कमजोरि हो हाम्रो शैक्षिक निकायको । अर्को कुरा नेपाली पुनर्निर्माणमा आफ्नै संंहितालाई समावेश नगरी विदेशी प्राविधिकको मात्र सहयोग लिनु एक लज्जाको विषय नै बनेको छ । हाम्रो भौगोलिक बनावटको वास्तविकता हामी स्वयमलाई मात्र थाहा हुन्छ । त्यसिले प्राविधिक पक्ष बाह्य भए पनि संरचनागत प्रतिनिधित्व हामी आफ्नै हुनै पर्छ ।

०७२ को भुकम्पलाई आधार बनाएर अबको दिनमा यस्ता ब्यबहारिक पक्ष्यलाई शुल्झाउने काम प्राथमिकताम राख्नु अपरिहार्य छ । यहि भुकम्पको अर्को पाटो लामो समय भैसक्दा पनि भुकम्प पिडितले पुर्ण रुपमा राहत नपाएको अनि राज्यबाट उपेक्षा गरेका गुनासाहरु आउने गरेका छन् यो हामी सबैको लागि दुखद मन्नु पर्छ ।

प्रयास भएका छन तर त्यसलाई पुर्णता तर्फ हामी सबैको ध्यान केन्द्रीत हुनु जरुरी छ । सामाजिक सद्भाव र सहयोगी मन सहितको सामाजिक सहकार्यलाई जोड दिनु टड्कारो आवश्यकता देखिएको छ ।

भुईचालोले गिजोलेको हाम्रो धार्मिक सास्कृतिक सम्पदाहरुको जग र गाह्राहरु उठाई जिवित राख्न तदारुकता देखाउनु आवश्यक छ । हाम्रो भु-संरचना आफैमा जोखिम युक्त छ । विभिन्न प्राकृतिक विपत्तिहरु भुकम्प बाढी पहिरो, आगलागी, हिमतालहरुको जोखिम, यसबाट हुन सक्ने जोखिम जस्ता समस्या हाम्रो संरचनाले नै हामीलाई सुम्पिएको छ ।

यस्ता विपत्तिले बर्सेनि मानविय दैनिक जिवस्तर, सामाजिक आर्थिक अवस्था अनि संरचनागत अवस्थालाई निकै असर पुराईरहेको छ । यस्तो अवस्थामा हामीले सम्भाव्य जोखिमको सामनाको लागि पुर्व तयारीको सम्पुर्ण कोसिसलाई सार्थकता दिनु आवश्यक छ ।

भुकम्पले क्षेति पुर्याएको धादिङबेसी बीचबजार क्षेत्र

आर्थिक रुपमा हामी कमजोर छौं यसको मतलव यो होईनकी हामी केही गर्न सक्दैनौं । विभिन्न अन्तराष्ट्रिय निकायहरु प्राकृतिक विपत्ती अनि अन्य सवालमा कमजोर अर्थ अवस्थालाई सघाउन तयार छन् । हामीले त्यो अवसरलाई सदुपयोग गर्न सक्नु पर्छ, उनीहरु संगको म्युचल अन्डर्स्टान्डमा हामी चल्न सक्नु पर्छ, हामीले उनिहरुलाई विश्वास दिलाउन सक्नु पर्छ कि हामी जुनसुकै सहयोगलाई सार्थक परिणाममा रुपान्तरण गर्न सक्छौं ।

यति गर्न सकेको खण्डमा हामीले सोचेको अन्तराष्ट्रिय सहयोग प्राप्त गर्न सक्छौ जुन हाम्रो संरचनागत तयारीको साथी बन्न सक्छ । तर ७२ को भुकम्प पछिको अवस्था हेर्दा हामीले अन्तराष्ट्रिय निकायलाई विश्वास दिलाउन नसकेको आभास हुन्छ ।

पुनर्निर्माण प्राधिकरणको तथ्यांक मान्ने हो भने हाल सम्म करिब ९ लाख भुकम्प पिडितले पहिलो किस्ता र ७ लाख भन्दा बढिले दोश्रो किस्ताको राहत लिगिसकेका छन भने घर पुनर्निर्माण सम्पन्न गर्ने ६ लाख ५० हजारले तेश्रो किस्ता समेत बुझी सकेका छन ।

यो एक खुसिकै कुरा हो तर ६ वर्षको अवधिमा पुर्णता पाईन सक्नुले कत कता खल्लो पनको आभास भने हुन्छ । भौतिक संरचनाकै कुरा गर्ने हो भने क्षतिग्रस्त पुरातात्विक साँस्कृतिक सम्पदाहरु, विद्यालय, एकीकृत नमुना वस्तीहरु निर्माण सम्पन्न भएका छन् भने कतिपय निर्माणको क्रममानै रहेको छ ।

यसलाई अझै चुस्तता दिदै सक्दो छिटो सम्पन्नता सहित पहिलाकै अवस्थाम फर्काउन सके भुकम्पलाई भुल्ने केही आधार बन्ने थियो । धरहरा ठडिदै गर्दा होस वा रानिपोखरी, बौद्ध स्तुपा, बसन्तपुर, काष्ठमण्डपहरु टल्किदै गर्दा अनि एकीकृत नमुना बस्तिहरुको हस्तान्तरण देखिदै गर्दा मनमा एक खालको खुसी त पक्कै छाएको छ जनतामा तर पुर्ण रुपमा राहत भने मिलिसकेको छैन । जति छिटो बाकी कामको सम्पन्नता होला उति छोटो पिडितले राहत महसुस गर्ने छन अनि सम्पदाहरुले श्वास फेर्नेछन ।

भुकम्पले क्षेति पुर्याएको भैरवी डाँडामा रहेको टेलिफोन टावर

पछिल्लो भुकम्प पछिको अबस्थालाई मुल्यांकन गर्ने हो भने हामीकहाँ पर्याप्त पुर्व तयारी देखिएन । जब समस्या निम्तन्छ तब योजना बिहिन तरिकाले अघि बढ्दा समय समयमा हामिले ठुलो क्षति बेहिर्नु परिरहेको छ । भुकम्प लगायत अन्य ठुला प्राकृतिक बिपत्ती जस्तो संबेदनसिल बिषयमा सरकार अनि सम्बन्धित निकायले कुटिल रणनिती अपनाएर सहाकर्यलाई बिस्वासमा परिणत गर्न सक्नुपर्छ जसबाट आउन सक्ने प्राकृतिक बिपत्तिको सामनामा सहजता मिल्नेछ ।

हामी कहा चेतना र विपद ब्यबस्थापनको पनि अत्यन्त नाजुक अवस्था छ । भौतिक संरचना निर्माणमा लापरवाही, अध्यायन अनुसन्धान अनि मोनिटरिङ पक्ष फितलो, योजनाहरुको तयारी पर्याप्त नहुनु जस्ता कमजोर पक्षले अझ क्षतिलाई बढव दिईरहेको छ । अब हामीले पाठ सिक्नुपर्छ कि आधुनिक प्रविधी सहित विपद प्रतिरोधात्मक संरचनाबिना यस्ता बिपदबाट बच्न सकिँदैन । त्यसैले अबको योजना पुर्वाग्रह रहित, पारदर्शी, योजनाबद्ध तयारी अनि कार्यगत संयमताको मार्ग दर्शनमा चल्न सक्नुपर्छ ।

अबको हाम्रो नीति भुकम्प प्रतोरोधी संरचना निर्माण, इन्जिनियरिङ पार्टमा सक्षमता मुल्यांकन पछि मात्र लाईसेन्सको ब्यअवस्था, भौगोलिक अवस्थिती अनुरुपको योजना तर्जुमा, चेतनामुलक कार्यक्रमलाई ब्यापकता, खोज र अनुसंधान पक्षलाई ब्यापकता, विकासको लागि पब्लिक प्राईभेट पर्टनरसीप योजनाको तर्जुमा जस्ता ब्यापकताको खोजी हुनुपर्छ ।

हाम्रा छिमेकीहरु अनि विश्वभरका मुलुक संग सहज कुटनितिक सम्बन्ध बिस्तार सहित उनिहरुको सहयोग सहित विकासको मोडलमा चल्न सक्नु हामी जस्तो विकासको पथमा लम्किरहेको मुलुकको लागि व्यापक फाईदाको पक्ष बन्ने निश्चित छ । बिगतका दिनमा यो यावत कुरामा कमजोरी देखिएपनी पछिल्लो घटनाबाट पाठ सिकेर अघि बढ्न सकेमा मात्र आगामी दिनमा यस्तै विपत्तिबाट हुने सम्भाव्य दुर्घटना कम गर्न सकिन्छ ।