धादिङ, नुवाकोट र रसुवाको संगम स्थल ४२०० मिटरको उचाईमा सिङला महोत्सव बैशाख ११ गते देखि हुने

Avatar photo
नारायण सिलवाल
मङ्लबार, चैत्र ३१, २०७७

धादिङ चैत्र ३१ । धादिङ, नुवाकोट र रसुवाको संगम स्थल सिङलामा पर्यटन महोत्सव हुने भएको छ ।

सिङ्ला पर्यटन क्षेत्र विकास समाज धादिङले यहि बैशाख ११ गते देखि १६ गते सम्म ४ हजार २०० मिटरको उचाईमा रहेको तीन जिल्लाको संगम स्थल पर्यटन प्रवद्र्धनका लागि सिङलामा महोत्सव आयोजना गरेको हो ।

समुद्री सतहदेखि ४ हजार २ सय मिटरको उचाइमा रहेको यो सिङ्लाबाट २७० देखि ३६० डिग्रीमा माउनटेण्ड भ्युहरु अवलोकन गर्न सकिने महोत्सव आयोजक संस्था सिङ्ला पर्यटन क्षेत्र विकास समाज धादिङका अध्यक्ष मंगबहादुर तामाङले बताए ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण यस ऐतिहासिक स्थल सिङ्ला पुग्न नुवाकोटबाट भाल्चे, रसुवाबाट घत्लाङ र धादिङबाट रुबीभ्यालीको बोराङ, आवई, सेर्तुङको बाटो प्रयोग गर्न सकिने महोत्सव आयोजक समितिका संयोजक निदेश तामाङ बताउँछन् । यी बाटोहरु प्रयोग गर्दै गर्दा धादिङबाट पैदल, घोडा, म्याराथुन रुटहरु प्रयोग गर्न सकिन्छ ।

महोत्सवको मुख्य आकर्षणमा म्हेन्दोमाया प्रतियोगिता, तामाङ, घले र गुरुङ जातिको पुराना कला संस्कृतिको प्रदर्शन, हरेक दिन म्हेन्दोमाया, साईखोले, मानेनाँच, पारुनाँच तथा लामानाँच, झाँक्री नाँच, गुरुङ जातीको रोधी, घाटु र मारुनीनाँच, म्याराथुन रेस, रुबी लगायतका विभिन्न खनिज जन्य बुहुमुल्य पदार्थ, विभिन्न प्रकारका जडिबुटीहरु रहेको आयोजकले जनाएको छ ।

महोत्सवलाई व्यवस्थित बनाउन ५०० भन्दा बढी स्वयम् सेवक परिचालन गर्ने, सामुहिक मेस संचालन गर्ने, दर्शक तथा पर्यटकहरुलाई सहज रुपमा बास बस्न अस्थायी आवास गृह निमार्ण गरिने छ, भने उद्घानको दिन हेलिकप्टरबाट महोत्सव स्थलमा पुष्पवृष्टि गरिने कार्यक्रम रहेको संयोजक तामाङले बताए ।