
धादिङ चैत्र ३० । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले आजबाट पालिका भित्र रहेका अन्तर विद्यालय स्तरीय विभिन्न खेलकुद प्रतियोगिताहरु सुरु गरेको छ ।
बैशाख ४ गते सम्म चल्ले विभिन्न खेलकुद प्रतियोगिता मध्य पहिलो चरणको मदन भण्डारी फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । दुई दिन चल्ने यस प्रतियोगितामा ९ वटा विद्यालयहरुले भाग लिएका छन् ।
यस्तै बैशाख १ गतेबाट ४ गते सम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र मजदुर सहिद स्मृति खेलकुद प्रतियोगिता सँगै हुने गाउँपालिकाका शिक्षा अधिकारी बोधराज पाठकले धादिङपोष्टलाई जानकारी दिनु भयो ।
चन्द्रोदय मावि विशालटारको व्यवस्थापनमा भएको यस प्रतियोगिता अन्तरगत जारी फुटबल प्रतियोगितामा आज बागेश्वरी मावि रिचोकटार, चन्द्रोदय मावि विशालटार, शंखादेवि मावि मझिमटार र राष्ट्रिय मावि खोरभञ्याङ सेमिफाईनल प्रवेस गरेका छन् ।
सेमिफाईनलको पहिलो खेल मंगलबार (भोली) बिहान ८ बजे चन्द्रोदय मावि विशालटार र शंखादेवि मावि मझिमटार बीच हुने छ भने सेमिफाईनलको दोस्रो खेल भोली बिहान ९ बजे बागेश्वरी मावि रिचोकटार र राष्ट्रिय मावि खोरभञ्याङ बीच हुने चन्द्रोदय माविका खेल शिक्षक देवराज घलानले जानकारी दिनु भयो ।