धादिङका स्थानीय तहले महत्व दिएनन् राष्ट्रपति रनिङ शिल्डलाई

Avatar photo
दिपेश कडेल
मङ्लबार, चैत्र २४, २०७७

धादिङ चैत्र २४ । राष्ट्रिय खेलकुद परिषद मार्फत संचालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई धादिङका स्थानीय तहले महत्व नलिँदा धेरै विद्यालयका खेलाडीहरु प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएका छन् ।

खेलकुदको विकासलाई विद्यालय स्तरबाट अगाडी बढाउन सरकारले केन्द्रमा राखेप जिल्लामा जिल्ला खेलकुद विकास समितिको आयोजनामा गर्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थानीय तहले छनौंट खेलहरु नगर्दा खेलाडी विद्यार्थीहरु छनौंट प्रतियोगिताबाटै बन्चित हुन पुग्ने अवस्थामा पुगेका हुन् ।

धादिङ जिल्ला खेलकुद विकास समितिले सबै स्थानीय तहलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि छनौट खेलको आयोजना गरि खेलाडी छनौट गर्न पत्रचार गरे पनि स्थानीय तहले यो प्रतियोगितालाई महत्व दिएका छैनन् ।

जिल्ला खेलकुद विकास समितिले बैशाख ९, १० र ११ गते बेनीघाट रोराङको चन्द्रोदय मावि विशालटारमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्ने मिति सार्वजनिक गर्दा हाल सम्म थाक्रे गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिका गरी जम्मा २ वटा गाउँपालिकाले मात्रै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गराएका छन् । यसमा पनि दर्जन भन्दा बढी विधामा समावेस हुने यस प्रतियोगितामा त्रिपुरासुन्दरी गाउँपालिले भलिबल विधा मात्रै गराएको छ ।

जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिं तामाङका अनुसार बेनीघाट रोराङ र धुनीबेसी नगरपालिकाले प्रतियोगिता गर्न मिति सार्वजनिक गरि सकेका छन् भने अन्य स्थानीय तहरुले अझै प्रतियोगिता संचालनको लागि तयारी गर्न सकेका छैनन् ।

धादिङमा १३२ वटा सरकारी र २३ वटा गैर सरकारी गरी कुल १५५ वटा माध्यामिक विद्यालयहरु छन् । यी सबै विद्यालयहरुका विद्यार्थीले छनौट प्रतियोगितामा भाग लिन पाउने अधिकार राख्छन् तर स्थानीय तहले महत्व नदिँदा खेलाडी विद्यार्थीहरु छनौट प्रतियोगिताबाटै बाहिरिने अवस्थामा छन् ।(फाईल तस्वीरः ज्वालामुखी गाउँपालिकाले गत वर्ष गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको हो ।)