हरेक घरको शोभा, लक्ष्मी र मुहार फेर्ने रानी बनेकी छौ तिमी !
माया ममता संगै अलौकिक चरित्रकि खाी बनेकी छौ तिमी !!
कति हेलाँ, शोषण अनि पीडा लुकाएर बसेकी छौ अझै !
सुख–दुख हाँसेरै पार गर्ने एक महान कहानि बनेकी छौ तिमी !!
जुनको ज्योति सरि उर्जाहरु फिजाउनु छ, सारा दुनियामा !
जुन सुकै अवस्थामा सबैको नजरमा दानी बनेकी छौ तिमी !!
संसार भर चेतनाको मुल फुटाउनु छ, सारा नारी एक भएर !
हरेक मन अनि आत्मियताको जननी बनेकी छौ तिमी !!

मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवस । महिलाका हक, अधिकार र मुद्दाहरुलाई शीर्ष स्थानमा आवाज बुलन्द गर्ने दिन ईतिहास हेर्दै जाँदा सन् १९१० मा महिलाहरूको दोस्रो अन्तर्राष्ट्रिय कोपनहेगन सम्मेलनमा जर्मनी माक्र्सवादी नेतृ क्लारा जेटिकनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा मनाउन गरेको प्रस्ताव पास भएपछि सन् १९११ देखि विश्वभरि ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका रूपमा मनाउन थालियो ।
हुनत अमेरिकाको सोसलिस्ट पार्टीले सन् १९०९ को फेब्रुअरी २८ मा र युरोपका केही देशहरुले मार्च १९ का दिन महिला दिवस मनाएका थिए पछि सन १०१३ मार्च ८ देखि उनै अभियान्ता क्लारा जेट्किनले महिला कामदार माथिको श्रम शोषण विरुद्ध आवाज उठाएको दिनको सम्झनामा विश्वव्यापी रुपमा नै मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाउन थालियो । महिला शसक्तिकरण र लैङ्गिक असमानता हटाउने मुख्य उद्देश्य भएता पनि यो दिन संसारभरका महिलाहरुको आर्थिक, सामाजिक तथा राजनितिक उपलब्धिको विश्लेषण गर्ने गरिन्छ ।
विश्व समाजमा वर्षौ पहिले देखि मार्च ८ मनाउने गरिएको भए पनि नेपालमा भने मनाउन थालिएको धेरै भएको छैन । हरेक वर्ष जस्तै यो वर्ष पनि “चुनौतिलाई स्विकार गर” भन्ने नाराका साथ विश्वभर यो दिवस मनाईदैछ भने नेपालमा पनि आफ्नै “महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार” भन्ने नारा सहित नारी दिवस मनाइदै छ ।
समाज, समुदाय अनि देशको अपरिहार्य मुख्य शक्ति, मन वचन र कर्मको महानतम उदाहरण नारी । आमाको न्यानो काख, दिदी बहिनिको स्नेह, अनि मायालुको माया यस्तै यस्तै प्रगाङताले नै एउटा पुरुष चलाएमान् बनिरहेको छ अनि जीवन पुर्ण बनिरहेको छ । अझै पनि विश्वव्यापी रुपमा नै लैङ्गिक समानताको अभियान नारामै सिमित भैरहेको छ । विकशित भनिएका मुलुकमा समेत नारी उत्पिडन र असमानताका घटनाहरु देखिरहेका छन् ।
यस बीच नेपालले नारी हकहित र अधिकारको केही प्रत्याभुती दिलाएको छ जुन पुर्ण भने छैन । धेरै कुरा कागजी रुपमा सिमित भए पनि महिलालाई अधिकार दिने कुरामा नेपालले अरु देशभन्दा अग्रगामी छलाङ मारेको मान्न सकिन्छ । राष्ट्रपतिदेखि लिएर सभामुख, प्रधानन्यायाधीश र देशका अन्य महत्वपूर्ण क्षेत्रमा महिलाहरु पुगेका छन् । यो हाम्रो विशेष उपलब्धि हो ।
तथापी यो नै सम्पुर्ण भने होईन अझै पनि अधिकांश नेपाली महिलाहरूका लागि भने महिला समानता र अधिकारका कुराहरु कागजमा मात्र सीमित रहेका छन् । कमजोर कानुनी व्यवस्था अनि पैतृक लैङ्गिक सम्रचनात्मक सामाजिक व्यवस्थाका कारण दैनिक जसो महिला हिंसाका घटनाहरु सार्वजनिक भैरहेका छन् । केही घटनाले कानुनी न्याय पाए पनि कतिपय घटनाहरु समाजमानै दबिने गरेका छन ।
महिला अधिकारकर्मी तथा सरोकारवालाहरुले जति नै महिला अधिकारको पैरवी गरे, सफलता हासिल गर्यौ भने पनि वास्तविकता धेरै फरक छ । एउटै आकाशमुनि बस्नेहरु प्रत्येकको वास्तविकता यहाँ फरक-फरक छ आखिर किन ? समाजमा व्यप्त आतिवादी सोच र धार्मिक संकीर्णताका कारण आजको अत्याधुनिका युगमा समेत एउटा महिलालाई मलमुत्र खुवाईन्छ, निरिहता पुर्वक कुटपिट गारिन्छ, अनि वाध्य हुन्छिन लक्ष्मी रुपि एउटी महिला समाजमा अपमानित हुन्छिन्। भनिन्छ जहाँ नारी पुजिन्छ, त्यहा देवताको बाँस हुन्छ तर तिनै भगवान रुपी नारीको अस्मिता लुटिएकै छ, आसुले मुहार रुझेकै छ ।
आजको दिनमा हामी एकातिर तारे होटेलमा मार्च ८ धुमधामले मनाइरहेका हुन्छौ एर्कोतिर सडकमा बसेर मकै पोल्नेदेखि चिया बच्ने महिलाहरुलाई मार्च ८ आएको–गएको पत्तो हुँदैन । तर उनीहरूको नाम बचेर अर्को कुनै पक्षले महलसम्मको यात्रा तय गरिसकेको हुन्छ । आखिर समानता भित्र असमानताको यो खाडल किन ? ती मकै पोल्ने, चिया बेच्ने, डोकोमा साग बेच्दै हिड्ने महिलाहरुलाई कहिल्यै नारी दिवस आउँदैन । कयौं आमा, दिदिबहिनिहरु यस्तै यस्तै काम गर्दा गर्दै आमाहरुले आर्यघाटको यात्रा तय गर्न वाध्य भैसके तर यस्तो वास्तविकता बारे न महिला अधिकारकर्मीहरुलाई केही थाहा हुन्छ न सरोकारवालाहरुलाई नै यस प्रति चासो हुन्छ । एकदिन आवाज दियो एक वर्ष भुमिगत आखिर अर्थ के रह्यो नारी दिवसको ?
महानताकी खानी नारी शक्ति । जहाँ नारीको सम्मान हुन्छ त्यहाँ हरेक कोसिस सार्थक बन्न सक्छ । हामीकहाँ अपेक्षा अनुरुप नारी हक, अधिकार र नारी आवाजको प्रत्याभूत हुन सकेको छैन । केही परिवर्तन पक्कै भएको छ तर पर्याप्त छैन । आजको नारी हरेक पक्षको नेतृत्व गर्न सक्ने हैसियतमा पुगिसकेका छन्, हरेक संभावनालाई मुर्तरुप दिने शक्ति नारीमै देख्न सकिरहेका छौ । परिवार, समाज, समुदाय र राष्ट्र परिवर्तनको एक ज्योति नारी शक्तिको आवाज बुलन्द गर्न पछि नपरौ । समानताको बिगुल हामीले नै फुक्नु छ जहाँ हरेक अफ्ट्याराहरुलाई संभावनामा परिणत गर्न सकियोस ।
आज पनि हाम्रो समाजमा महिलाहरु महिला हिंसा, बोक्सीको आरोप, बालविवाह, दाइजो, छाउपडी र बलात्कार जस्ता अपराधको शिकार भइरहेका छन् । आफ्नै घरभित्र डर र त्रासको जिन्दगी बाच्न वाध्य छ्न् । दिनानु दिनका बलात्कार हत्या जस्ता घटनाले गर्दा छोरीहरुलाई एक्लै हिँड्न सक्ने अवस्था छैन । अबोध नानिहरुको दर्दनाक चीत्कार सुन्दा लाग्छ अझै पनि हामी बर्बर युगमा छौँ । हो हामी सक्षम छौ यी यावत समस्या रोक्न तर व्यवस्था यस्तो बनिदियो जहाँ पिडितले न्याय होईन पिडकले उन्मुक्ति पाउने अवस्था छ ।
कानुन कागजमा छ तर व्यवहारिकता उल्टो बनिदिन्छ । यहाँ सम्मकी महिला जन्य क्रुर अपराधमा समेत राजनितिको फिहोरी खेल हाबी बनिदिन्छ । अनि भन्न वाध्य हुनुपर्छ कानूनको अँखा बन्द बन्द छ । तर अब त्यो अवस्था नआओस्। म चाहन्छु महिलालाई खेलौनाको रुपमा नहेरियोस अनि बंसजको आधार मात्र नमानियोस्, यौनको प्यास बुझाउने साधनको रुपमा नहेरियोस अनि उनिहरुको स्वतन्त्रतालाई बन्देज लगाएर आफूलाई महान ठान्न कष्ट नगरियोस् ।
सुरुवात गरौं सोच परिवर्तनको, प्रयास गरौं महिला सचेतना र जागरुकताको लागी। जबसम्म महिला प्रति हेर्ने हाम्रो अनि हाम्रो समाजको दृष्टिकोणमा परिवर्तन हुँदैन, तवसम्म महिलाहरु पीडित भैनैरहन्छन । समान हक र अधिकारका भागिदार महिला पनि उत्तिकै हुन् जति पुरुष छन् भन्ने कुरालाई सामाजिक, सांस्कृतिक, लैङ्गिक, राजनीतिक तथा अन्य विभिन्न क्षेत्रहरुबाट पुष्ट्याइँ गरौं ताकी गर्वका साथ भन्न सकियोस महिला अधिकार र समानताको लागि हामी संसारको लागि उदाहरणिय छौं ।
दिवस अनि नारा भनाईमा सिमित होईन व्यवहारमा लागू हुनु जरुरी छ । अधिकारको नाममा कुनै एनजिओ आईएनजिओको सिकार हुने होईन । दुर दराजलाई आत्मामा राखौं, कर्णाली, सुदूरका महिलाको वास्तविकता बुझ्ने कोसिस गरौं अनि हुनेछ पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका महिलाहरुको अधिकारमा समान पहुँच ।
हामी सबैले संकल्प गरौं जिवनमा स्नेह अनि ममताको वर्षा गराउने सर्व शक्ति रुपि नारीको सम्मान अनि हक अधिकारको प्रत्याभुतिको लागि । नारीको लागि नारीले मात्र आवाज बुलन्द गर्नुपर्छ भन्ने होईन आफ्नो दिदिबहिनिको समानताको लागि अनि सुरक्षित महसुसको हक अधिकारको लागि पुरुष भुमिका अझै महत्वपूर्ण बन्न सक्छ ।
समान अधिकारको मतलब नारी पुरुष बीचको टक्कर होईन हाम्रो सामाजिक संरचनाले तोकिदिएको बिरोधाभाष पुर्ण सामाजिक सिमा र गतिबिधी संगै असमानताको दुरिको पर्दा हटाउने कोसिस हो । यसका लागि नव पुस्ताका महिला वा पुरुष दुबैको भुमिका उत्तिकै महत्वपूर्ण छ ।
त्यसैले नारी र पुरुषले आफुलाई समान रुपमा सम्मानका साथ आत्मसाथ गरौं, समानतालाई सहयोग र सहकार्यमा रुपान्तरण गरौ, लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य रोजगारी लगाएत सार्वजनिक सेवा सुबिधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित गर्न पहल गरौं । उत्कृष्ट संविधान भनिरहदा त्यसले व्यवस्स्था गरे अनुरुप राजनितिक तथा हरेक सार्वजनिक निकाएमा महिलाहरुको समानुपातिक सहभागिता प्राप्तीको लागि कार्यन्वयन तहलाई नै जागरुक गराउन पहल गरौं ।
समग्रमा संविधानले आत्मसात गरेको संकल्प साकार पार्न महिला र पुरुष बीचको बिद्यमान आर्थिक, सामाजिक, सास्कृतिक तथा लैङ्गिक विभेद हटाउन व्यक्ती, परिवार, समाज, समुदाय, विभिन्न संघसंस्था अनि राज्यका सबै निकायहरु अग्रसर बनौं ।
