
१२ हात लम्बाइ र ९ हात चौडाइले बनेको २ तले माटोको घर, आँगनको सानो खुट्किलो चड्ने बित्तिकै आउने पिढी अनि पिढिको एकापट्टी कुनामा चोटा जाने भर्याङ । त्यस्सैको अलि यत्तापट्टी भित्र जाने ढोका, ढोकाबाट एक्कापट्टि कुनामा देखिने चुल्हो, सिलौटो, कोइलो चोलो, अनि सामान राख्न बनाएको सानो दराज लस्करै ।
ढोकाबाट छिरे लगत्तै दाहिने पट्टि, भित्ता सङै जोडिएको फ्ल्याक अनि फ्ल्याकमा राखिएको ग्यास चुलो । देब्रे पट्टि कुनामा रक्सी पार्न राखिएका कटका४, ५ काला ड्रम । ड्रम लगत्तै दुई थुन्चेमा छोपेर राखिएको बाख्राका पाठा, घोर्ले र चुचे । चुचे जेठो ४ दिनले तर पनि सानो । घोर्ले ४ दिने कान्छो तर ठूलो । त्यसको कुनापट्टी चाउचाउको कार्टुन अनि कार्टुनमा ११वटा चल्ला र चल्लाको आमा ।
यिनिहरु लगत्तै एउटा थाम, थाममा महि पार्ने ठेकी । ठेकिको सिधा माथी दलिनमा दुई मदानी, मदानिको छेउमा दुई सेल रोटि पकाउने ताइ । अगेनामा राता राता कोइला त्यस्कै छेउपट्टी डाले घासको सुकेका मसिना दाउरा र फलामका ढुंग्रो र चिम्टा । कोइले चुल्हामा मजाले तर लागेर बसेको दूध अनि दुधको कराइ छेउतिर दुई दहि जमाउने सिल्भरका भाडा । तिनिहरुको छेउमा एउटा टलक्कै टल्किने पितलको गाग्री, गाग्रीको मुखमा पितलकै लोटा जस्मा भरी, चिसो पानी ।
बाहिर आएर एक्कापट्टी कुनाको भर्याङ चढेर चोटा जाँदा भुइका गुन्द्रीमा आमाले बनाउनु भएको गोला गोला कोदाको पिठो र जडीबुटी मिश्रित रोटी (मर्चा औषधि) जुन रक्सी पार्ने कटमा प्रयोग गरिन्छ । मर्चलाइ उसिने लगत्तै ओढ्ने ओछ्याउने, र हाम्रा पुराना कपडाका चाङ, कपडाका चाङ लगत्तै भित्तापट्टी पसलबाट किनेर ल्यराएको रासायनिक मलका बोरा, मलका बोरा राखिएको एउटा खाट, खाट लगत्तै समाप्त हुन्छ हाम्रो मटान।
मटानबाट भित्र चोटामा हाम्रो भगवान बस्नुहुन्छ, विस्वास बस्नुहुन्छ । आमाको मेहनत बस्छ, खुसी बस्छ, हाम्रो सपना साकार गर्ने केही थान आसाहरु बस्नुहुन्छ । अनि बा को कमार्इ बस्छ । बिराला र उस्का तीन सन्तान बस्छ, मुसाका कति औ हो पिंढी बस्छन् । धानमा पुत्ला सेता सेता किरा बस्छ्न्, मकैको कुनियोमा लाखौ संख्यामा खुन (मकै खाने कालो किरा) बस्छन् ।
पिढिको आधातिर एउटा खाट छ, त्यसको छेउमा गोरे (हाम्रो ठुली भैसिको छोरा) गोरेको छेउमा बाख्राको खोर । आँगनमा कुखुराको खोर, कुखुराको खोर छेउमा अम्बाको रुख, सागुरो आँगनमा घर सङै जोडिएको राहातको दुई कोठे घर, एउटामा बाजे (अजा) अनि बाजेको मेहनत (लाइलुङ) का डोरि, बासका चोया, छानामा बोडि लसुन प्याजका झुप्पा झुन्डिएका । खाट अनि मिलाएर राखिएको केही थान बुढ्याउली अनुभव । अर्को कोठामा दुई खाट सामान राख्ने काठे दराज बत्तिको प्लक आदि । बाजेको कोठा छेउ हाम्रो धारा, धाराको छेउमा खुर्सानी फुलका बोट, कागतिको बोट, किम्बुका दुइचार बोट ।
बाख्राको खोरबाट उत्तापट्टी घाँस राख्ने ठाउँ, त्यसको कुनामा ६,७ बाख्रा, अनि दुई भैंसी,एउटा राँगो । रान्गोको छेउमा दाउराको चाङ अनि शौचालय । शौचालयको छेउमा, परालको टौवा (माछ) । टौवा लगतै भकारो (मल) भकारो लगत्तै तरकारी वारि, लिची, आँप, आरु कोईरालोको बुट्यान ।
हाम्रा खुसी हाँस्ने दात नभएको बाजे, हाम्लाइ खुवाउने, जन्माउने, हुर्काउने आमा । आँगनमा बाच्ने बाख्रा अनि कुखुराका बाच्चा, फुलका रस चुस्न आइपुग्ने पुतली र मौरी, सुमधुर आवाजमा गुनगुनाउने थरिथरिका पन्क्षी, अनि खनायोको रुखमा रात पर्नासाथ कुर्लिने लाटोकोसेरो। बस घर नै मेरो स्वर्ग ।